गोपाल प्रसाद बराल
महोत्तरी, कार्तिक ४ गते : महोत्तरीको बर्दिवास नगरपालिका–३ रजवासका किसान दङ्ग परेका छन् । जताततै ढुङ्ग्यान देखिने आफ्नै बस्ती माथिको नाङ्गे डाँडामा भुँइकटहर रोपिएर डाँडा नै हरीयो देखिएपछि त्यहाँका किसानमा खुशी छाएको हो ।
डाँडामा भुँइकटहर रोपिएपछि गरे केही असम्भव नहने बुझिएको त्यहींकै उद्यमी किसान हीरामाँया रानाको भनाइ छ । सामुदायिक बिकास तथा पैरवी मञ्च नेपाल बर्दिवासको सहयोगमा उन्नत जातका भुँइकटहर रोपेपछि यसअघिको नाङ्गेडाँडा अहिले रजवास बस्तीकै नमुना ठाउँ बनेको हो ।

रजवासको नाङ्गेडाँडामा हेलभिटासको सहयोगमा सामुदायिक बिकास तथा पैरवी मञ्च नेपाल बर्दिवासले उपलब्ध गराएको सातहजार ५०० वटा टिसुकल्चर गरिएका भुँइकटहरका बिरुवा किसानले रोपेका हुन् । भुँइकटहरले किसानको आयआर्जनमा सहयोग पुग्नसँगै बर्षायाममा डाँडाको माटो बग्नसमेत रोक्ने त्यहाँका किसान सूर्यबहादुर कार्कीको बिश्वास छ ।
पैरवीमञ्चको सहयोगमा करिब २०० घर भएको रजवासमा सबै घरपरिवारका मुली कुनै न कुनै किसान समूहमा आबद्ध भएका छन् । किसानको सङ्गठित प्रयत्नबाट विगतमा गहत नउम्रने यो बस्तीमा अहिले सबैतिर कुलोको पानी लाग्ने भएको छ । चुरे घाँटीको यो बस्तीमा अहिले सबैजसो किसानले बर्षमा तीनबाली सहजै भित्र्याउने गरेका पैरवी मञ्चका अध्यक्ष नागदेब यादब बताउँछन् । बस्तीमा अहिले चारवटा पोखरी निर्माण गरिएका छन् ।
नदीमा पानी सुकेका बेला पोखरीकै पानी पम्पिङ्ग गरेर कान्लाकान्लामा पु¥याइएपछि हरियो तरकारी किन्न झोला बोकेर बजार जानु नपरेको बस्तीकै अर्का किसान रामबहादुर थापा बताउँछन् । पछिल्लो एकदशकयता किसानको सङ्गठित प्रयत्न र पैरवीमञ्चको प्राविधिक सहयोगले कृषि उत्पादनमा यो बस्ती जिल्लाकै नमुना बनेको छ ।
सबै बाली प्राङ्गारिक बिधिबाट लगाइने हुँदा यहाँको उत्पादन उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको बर्दिवास–३ का वडाअध्यक्ष राजन ढुङ्गानाको भनाइ छ । पछिल्लोपटक नाङ्गेडाँडामा लगाइएको भुँइकटहरले एकबर्षमै उत्पादन दिन थाल्ने छ ।
सामुहिक रुपमा लगाइएको यो खेतीबाट एक बर्षपछि बर्षेनी करिब चार लाख आम्दानी गरिने किसानले बताएका छन्