• The Public Today
  • १० छोरीकी आमा ‘निपुत्रियाही’ ! (भिडियो)


    • राजकरण महतो

    महोत्तरीको बर्दिबास–१२, बिजलपुरास्थित घरको आँगनमा हामी पुग्दा दुईमहिने काखे छोरी अञ्जललाई दूध चुसाउँदै थिइन्, प्रमिला पासवान।

    प्रमिला यिनै आमा हुन्, जसले १० जना सन्तान जन्माइसकिन्। हाल ४५ वर्षीय प्रमिला यस्ती आमा हुन्, जो छोरी नै छोरी जन्माएबापत सहनुपर्ने हर अन्धविश्वास र यातनाकी प्रतिमूर्ति। उनका १० छोरीमध्ये हाल सातजना छोरी साथमा छन्। तीन अल्पायुमै खसे।

    मधेसी, त्यसमाथि महिला र त्यसमाथि दलित। यी तीन शब्दसँगै आउँछन्— विपन्नता, वञ्चितीकरण र बहिष्करण। यी सँगैसँगै आउँछ, एउटा कठिन जिन्दगीको लामो अनि नमीठो सुस्केरा।

    उनका दुई छोरी केवली र हेवली पनि आमा बनिसकेका छन्। केवली काखे सन्तान च्यापेर चुलोमा खाना पकाउँदै थिइन्। उनकी बहिनी हेवली आफ्नो सन्तानलाई बिहानको घाममा आँगनमा खेलाउँदै थिइन्।

    घरको पिँडीमा नातिनीजस्तै छोरी लिएर बसेकी प्रमिलालाई मैले सोधेँ, ‘दिदी तपाईंका कति छोराछोरी ? ’

    उनी बोल्न खोजेजस्तो गरिन् तर बोलिनन्। बरु आँखाबाट पो बोलिन्, एउटा यस्तो तरल भाषा जुन सार्वभौम छ। उनका आँखाबाट पानी रसायो। मुखबाट हुकहुक स्वर निस्कियो। वरिपरि बसेका छोरीहरू पनि रुन थाले। मलाई नमीठो अत्यासले मौनतामा पुर्‍यायो।

    केही बेरपछि मैले भनेँ, ‘नरुनुस् दिदी, नरुनुस्…।’

    जीउमा ओढेको बर्काेले प्रमिलाले आँसु पुछिन्। अनि भनिन्, ‘मैले जीवनमा १० वटा सन्तान जन्माएँ। सबै छोरी नै जन्मिए। सातवटा छन्, तीन मरिसके। मेरो कोखबाट छोरो जन्मिएको छैन। मलाई सबैले निपुत्रियाही भनेर भन्छन्, सराप छ।’

    यति भनेर उनी फेरि रुन थालिन्।

    प्रमिला छोरीहरूकी ममतामयी आमा हुन्। तर, छोरीहरूकै अघि उनी आफ्नो भाग्य देखेर दुःखी हुन्छिन्। दुःखी त उनलाई गाउँ–समाजले बनाएको हो, जो हर क्षण उनलाई भनिरहन्छन्, ‘निपुत्रियाही’।

    सामान्य वादविवाद हुँदा पनि छिमेकीले प्रमिलालाई निपुत्रियाही भनेर सराप्न पछि पर्दैनन्। मधेसमा छोरा नजन्माएकी आमालाई निपुत्रियाही भनेर होच्चाउने गरिन्छ।

    छोरा जन्माएर छिमेकीको मुख बन्द गर्न उनले प्रयास भने नगरेकी होइनन्। छोराको आशमा प्रमिलाले एकपछि अर्को गर्भ बोकिन्। दस सन्तान जन्माइन्। तर, उनको कोखबाट छोरी नै छोरी जन्मिए। यसमा उनको के दोष ? तर, सबैले आमालाई नै दोष दिए।

    केही बेरपछि उनी अलि खुल्न थालिन्। भनिन्, ‘छोरी सृष्टिकर्ता हुन्, छोरी आमा हुन्, छोरी हजुरआमा हुन्। छोरी शक्तिशाली माता दुर्गा, विद्याकी धनी सरस्वती अनि धनकी देवी लक्ष्मी पनि छिन्। समाजले दैनिक जीवनमा छोरीलाई देवीका रूपमा पूजा गर्छन्। तर, छोरी मात्रै जन्माउने मजस्ता आमालाई बाँचै गाह्रो छ मधेसमा।’

    प्रमिला आफ्नो व्यथा नै व्यथाले भरिएको कथाको पोयो फुकाउँदै जान्छिन्। भन्छिन्, ‘पेटमा अन्न नपर्दा पनि भोकै रात काटिहाल्छु। कठ्यांगिँ्रदो जाडोमा आगो तापेर बाँचिहाल्छु। जब बच्चाहरूबीच झगडा, वादविवाद हुँदा छिमेकीले तँ छोरी नै छोरी जन्माउने छस्, निपुत्रियाही भन्छन् अनि मन क्रोधित हुन्छ। यो दुनियाँमा बाँच्न मन लाग्दैन, मरेकै ठीक हुन्छ जस्तो लाग्छ मलाई।’

    लट्ठीले कुट्दा शरीरमा मात्रै चोट लाग्छ। तर, शब्दले होच्याउँदा मुटु फुट्छ। मन छियाछिया हुन्छ उनको। काखमा छोरी बोकेकी प्रमिलालाई जब कोही निपुत्रियाही भन्छन्, तब उनी भक्कानिन्छिन्। उनलाई खान मन लाग्दैन। कयौं रात नसुतेर बिहानीको पर्खाइमा बसेकी छन् उनी।

    छोरो नजन्माउने आमाहरू बाँच्नुको कुनै अर्थ छैन भन्दै उनी ज्यान त्याग्न अघि बढ्छिन्। तर, छोरीहरूको मुख हेरेर उनी मृत्युको मुख नजिकबाट पछि हट्छिन्।

    २१ वर्षअघि जेठी छोरी केवली जन्मेपछि उनी खुसी नै थिइन्। दोस्रो सन्तानका रूपमा उनी हेवलीको आमा बनिन्। जन्मिने तेस्रो सन्तान छोरो हुने प्रमिलाको परिवारले बाटो कुरिरहेका थिए। फेरि उनको काखमा छोरी निआशाको आगमन भयो, उनी छागाँबाट खसिन्। तर, यिनै तेस्री छोरी निआशाको भर्खरै महोत्तरीको मठिहानीमा विवाह भएको छ।

    अब प्रमिलाका चार छोरी साथमा छन्, ससाना छन्। कोही पनि स्कुल पढ्न जाँदैनन्।

    प्रमिलाको विवाह भएको तीनचार वर्षमै उनी तीन छोरीकी आमा बनिसकेकी थिइन्। छोरो जन्माउन उनीमाथि समाजबाट दबाब बढ्दै गयो। निपुत्रियाही भनेर उनीमाथि होच्याउन सुरु भयो, अनि उनले छोराकोे प्रतीक्षामा एकपछि अर्को गर्दै दस छोरी जन्माइन्।

    ०००

    प्रमिलाको माइती गाउँ हो, धनुषाको प्रोताहा। प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधामभन्दा १५ किलोमिटर पूर्वमा प्रोताहा गाउँ पर्छ। रामफल पासवान र पतसिया देवीको कोखबाट प्रमिलाको जन्म भएको हो। उनको नागरिकतामा २०२० फागुन ११ गते उल्लेख छ, जन्ममिति। नागरिकतामा उल्लिखित उमेरअनुसार उनी ५६ वर्ष पुग्छिन्। तर, खासमा उनी आफू ४५ वर्ष भएँ भन्छिन्। मधेसमा हचुवाका भरमा जन्ममिति राखिएका उदाहरण बग्रेल्ती छन्।

    पुस्तौं गरिबीले थलिएको परिवारमा प्रमिलाकी आमाले पनि १६ जना छोराछोरी जन्माइन्। ‘११ जना दाजुभाइ र दिदीबहिनीको जन्मिँदै मृत्यु भयो, अहिले हामी तीन दाजु र दुई दिदीबहिनी छौं। बुवाआमाको २० वर्षपहिले नै मृत्यु भइसक्यो’, प्रमिलाले भनिन्। गरिबीले प्रमिलासहितका सन्तानलाई उनका बुवाआमाले पढाउन सकेनन्। बनिबुतो, ज्याला मजदुरी गरेर प्रमिलालाई उनका बुवाआमाले हुर्काए।

    २५ वर्षअघि महोत्तरीको बर्दिबास नगरपालिका–१२, बिजलपुरका महेन्द्र पासवानसँग उनको विवाह भयो। टेको लगाएको घरमा महेन्द्रले प्रमिलालाई भित्र्याएका थिए। छोरी केवली र हेवली जन्मिएपछि महेन्द्रलाई दाजुहरूले अलग्गै राखिदिए। एउटा तसला र आधी सेर चामल बाँडेर दिएका थिए। पेट पाल्न र घर चलाउन यो दम्पती कहिले मालिकको खेत खन्न गयो भने कहिले धान गोड्न। दिनभरि परि श्रम गर्दा मुस्किलले चार किलो धान वा ५०–६० रुपैयाँ ज्याला प्राप्त हुन्थ्यो।

    ज्यालाको रकम चामल, दाल, नुनतेल जुटाउनै ठिक्क हुन्थ्यो। अहिले दिनको पाँच सय आउँछ। महिनामा चार–पाँच दिन मात्र काम पाइन्छ। महँगी बढेको छ। अहिले छाक जुटाउन नै पुग्दैन। बडो दुःख गरेर प्रमिलाले छोरी पाल्दै छिन्। उनी भन्छिन्, ‘कमाइले खान पुग्दैन, लत्ताकपडा जोड्न पुग्दैन। कुनै छोरीलाई स्कुल पठाउन सकेको छैन। मेरो जति समस्या कसैलाई छैन।’

    मधेसमा प्रमिलाहरूले सहनुपर्ने आर्थिक–सामाजिक तनाव कति गहिरो छ भने उनको भूमिकामा रहेर यहीँ बसेर दुई दिन अभिनय गर्न पनि गाह्रो छ, कलाकारलाई। उनी कसरी बसिरहेकी होलिन्, हाम्रो समाजवादी कम्युनिस्ट राज्य यतातिर ध्यान दिन कहिल्यै भ्याउँदैन।

    ‘छोरो जन्माउने मेरो हातमा छैन, भगवान्ले दिने हो’, प्रमिला भन्छिन्, ‘अब गर्भ बोक्दिनँ। जे भयो, भयो। म जति दुःख भगवान्ले कसैलाई नदियोस् !’

    ‘निपुत्र’ भनेर होच्याउँदा विष खाएर मरूँजस्तो हुन्छ

    ०००

    गाउँमा न घडेरी छ, न त चौरीमा खेत। दिनमा मजदुरी गरे मात्र साँझको छाक टर्छ। यस्तोमा प्रमिलाका श्रीमान् महेन्द्रलाई छोरीको विवाह गर्नुपर्दा लागेको खर्चपर्चले भित्रैदेखि बिथोलेको छ।

    महाजनसँग ऋण लिएर छोरीको विवाह गर्नु परेको पीडा उनले सुनाए। मधेसमा बिनादाइजो विवाह हुँदैन। दाइजो दिने रकम छैन। कहाँबाट दाइजो दिने ? उनले भर्खरै छोरी निआशाको विवाह गर्दा ६० हजार रुपैयाँ साहूबाट ऋण लिएका छन्, सयकडा तीन रुपैयाँ ब्याज तिर्ने सर्तमा।

    तीन छोरीको विवाह गरिदिइसकेका उनी अझै चार छोरीलाई कसरी पाल्ने, कसरी केले बिहे गरिदिने भनेर तनावमा छन्। छोरीहरू आफ्नो बिहेमा ‘बाबुकै बिहे’ देख्छन्। भन्छन् नि, गाह्रो कामलाई बाबुको बिहे !

    महेन्द्र भन्छन्, ‘ऋण लियो, कमाएर महाजनलाई ब्याजको स्याज तिर्‍यो। फेरि अर्की छोरी विवाह गर्न जवान भइहाल्छिन्। फेरि ऋणको भारीले थिचिदिन्छ। कुनै बेला मुड बिग्रिन्छ, २५–५० रुपैयाँको विष ल्याएर मरौं लाग्छ, यो पृथ्वीमा नरहौं जस्तो लाग्छ।’

    छोरीको विवाहमा भैंसीको पाडी दिएर बल्ल विवाह भएको उनी सुनाउँछ।

    ‘बेटा आउँछ, आउँछ, आउँछ। बाटो हेर्दाहेर्दै बेटी मात्रै जन्मिन्छ, के गर्नु ? ’, महेन्द्र भन्छन्, ‘भगवान्ले नै त्यस्तो हाम्रो भाग्य लेख्यो के गरूँ ? बेटा भयो भने यसो बुढेसकालको सहारा हुन्छ। औषधि उपचार गर्छ। सबैले निपुत्र भन्दैन’, उनले भने।

    छोरा पाऊँ भनेर महेन्द्रले भाकल गर्न छोडेका छैनन्। ‘हे भगवान् मेरो बेटा भयो भने जे सक्छु, त्यही पूजा गर्छु भनेर भाकल गरेको छु’, उनले भने। छोरो नहुँदा समाजबाट खेप्नु परेको हेलाले नै आफू सबैभन्दा कमजोर हुने उनले सुनाए। ‘सामान्य वादविवाद हुँदा छिमेकीले निपुत्र भनेर भन्छ। अहिलेसम्म सहेर बाँचेको छु। जुन दिन सहन सक्दिनँ, त्यो दिन हामी एकै पटक मर्छौं। बाँच्न आश मर्दै गएको छ’, उनको कुरा सुनेर मलाई भाउन्न भयो। अब सन्तान नजन्माउने उनले बताए।

    अन्त्यमा उनले भने, ‘दुईचार लाख रुपैयाँ सहयोग पाएँ भने कुनै व्यापार गर्छु, घर बनाउँछु, छोरीहरू पढाउँछु।’ -अन्नपुर्ण पोस्ट


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, विचार, समाज
    ट्याग : #जनचासो
    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस