सप्तरीका क्वारेन्टाइन पूर्णतया खाली

File Photo

सप्तरी, बैशाख ६ गते । सप्तरीको राजविराजमा सञ्चालित ३ वटासहित जिल्लाका १३ वटा क्वारेन्टाइन पूर्णतया खाली भएका छन् ।

मुलुकभरि लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएको र क्वारेन्टाइनमा १४ दिनको निगरानी अवधि पूरा गरी घर फर्किएकाले क्वारेन्टाइनहरू खाली भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

राजविराज नगरपालिका–२ स्थित साइकृष्ण कलेज एण्ड हस्पिटलमा बाँकी रहेका ३ जना, वडा नम्बर–४ स्थित इस्लाम मियाँको घरमा रहेका ८ जना र वडा नम्बर–९ मलेठस्थित मस्जिदबाट २३ जनालाई घर पठाइएपछि राजविराजको क्वारेन्टाइनहरू खाली भएका हुन् ।

यसैगरी कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा स्वास्थ्य चौकी, वडा नम्बर १२ स्थित शंकर मावि, बोदे बर्साइन नगरपालिका–५ स्थित जीवनदीप अस्पताल, हनुमाननगर कंकालिनी–११ स्थित सामुदायिक भवन खाली भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । यादवका अनुसार महादेवा गाउँपालिका–१ स्थित नरबहादुर थापा मावि, तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बृद्धाश्रम, रुपनी गाउँपालिका–५ स्थित जनता आधारभूत मावि बसबिट्टी, बिष्णुपुर गाउँपालिका–७ स्थित जनता मावि बिष्णुपुर कट्टी र सप्तकोशी नगरपालिका वडा नम्बर २ र १० का सञ्चालित क्वारेन्टाइन खाली छन् ।

कोभिड–१९ रोकथाम गर्ने उद्देश्यका साथ बनाइएको क्वारेन्टाइनमा १४ दिनको अवधि पूरा गरेसँगै क्वारेन्टाइन खाली भएका हुन् । क्वारेन्टाइनमा १४ दिनको अवधि पूरा गरेकाको आरडीटी परीक्षण गरी घर फर्काइएकोले क्वारेन्टाइन खाली हुँदै गएको हो ।

भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिबाट कोरोना भाइरस पैmलिने खतरालाई दृष्टिगत गर्दै राजविराजसहित सप्तरीको १८ वटै स्थानीय तहले ३२ वटा क्वारेन्टाइन सञ्चालन गरेका छन् । जसमध्ये १३ वटा क्वारेन्टाइन पूर्णतया खाली भएको र अन्य १९ ठाउँमा समेत बस्नेको संख्या कम हुँदै गएको छ ।

हालसम्म १७ महिला र ५२१ पुरुष क्वारेन्टाइनमा राखिएकोमा १५ महिला र ३४५ पुरुष निगरानी अवधि सकेर घर फर्किसकेका छन् । क्वारेन्टाइनमा बस्नेको निगरानी अवधि सकिएपछि सबैको आरडीटी परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि घर फर्काइएको हो । सप्तरीमा आरडीटी परीक्षण शुरू हुनु अगावै क्वारेन्टाइनबाट घर फर्किसकेकाको घरमै गएर स्वास्थ्यकर्मीले आरडीटी परीक्षण गरिरहेका छन् ।

शुक्रवार राजविराज बाहेक महादेवा गाउँपालिका–३ स्थित मावि बथनाहाबाट ११, बलान बिहुल गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी मल्हनियाबाट ४, हनुमाननगर कंकालिनी नगरपालिका–२ स्थित सकरदही माविबाट ३, डाकनेश्वरी नगरपालिका–५ स्थित कचमावि पातोबाट २, अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित जनता मावि घोंघीदाहाबाट १ पुरुष र तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित लक्ष्मी बल्लभ नरसिंह माविको क्वारेन्टाइनबाट १ महिला घर फर्किएका छन् । २ दिनको अवधिमा ७६ जना आफ्नो घर फर्किएपछि सप्तरीको क्वारेन्टाइनमा २ महिला र १७६ पुरुष बाँकी रहेका छन् ।