स्वास्थ्य सुविधा अभावमा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ : यूनिसेफ

जेठ १ गते : संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले कोभिड–१९ को महामारीका कारण पर्याप्त स्वास्थ्य सुविधा नपाएर बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ ।

दक्षिण एसियामा अबको ६ महिनामा पाँच वर्षमुनिका ४ लाख भन्दा धेरै बालबालिकाको ज्यान जाने जोखिम भएको भन्दै युनिसेफले सावधानी अपनाउन आग्रह गरेको छ ।

युनिसेफले निकालेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै भारतमा तीन लाख बालबालिका, पाकिस्तानमा ९५ हजार, बंगलादेशमा २८ हजार, अफगानिस्तानमा १३ हजार र नेपालमा चार हजार बालबालिकाको ज्यान जान सक्ने चेतावनी दिएको हो ।

अध्ययनले विश्वका १ सय १८ देशमा गरि ५ वर्षमुनिका १२ लाख बालबालिकाको ज्यान जान सक्ने देखाएको युनिसेफले जनाएको छ । स्वास्थ्य प्रणाली कमजोर भएको देशमा कोभिड १९ को सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि मात्रै ध्यान दिँदा बालबालिकामा असर पर्ने भएकाले बेलैमा ध्यान दिन सुझाव दिइएको छ । एजेन्सी