वीरगञ्ज : कोरोना संक्रमितको उपचारमा खटिएकी नर्समा कोरोना पुष्टि

वीरगञ्ज, जेठ १ गते । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको खुलेको छ ।

बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये ३६ वर्षीया महिला नर्स हुन् । अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिए ।

संक्रमित नर्स वैशाखकोे दोस्रो हप्तादेखि वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरसको संक्रमितको उपचारमा खटिदै आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएका अन्य दुई जना भने पुरुष छन् । अहिलेसम्म नारायणी अस्पतालमा ७१ जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ ।