• The Public Today
  • प्रदेश २ मा सङ्क्रमित बढ्दै गएपछि सिरहामा निषेधाज्ञा जारी


    जेठ १ गते : प्रदेश नं २ मा कोरोना सङ्क्रमतिको सङ्ख्या दिनहुँ बढ्दै गएपछि सिरहामा निषेधाज्ञा जारी गरिएको छ । पूर्वको सप्तरी, पश्चिमतर्फको धनुषा, उत्तरतर्फको उदयपुर र दक्षिण भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अहिलेसम्म कोरोना सङ्क्रमण नपाइएको सिरहा जिल्लालाई सुरक्षित राख्न आजदेखि निषेधाज्ञा जारी गरिएको हो ।

    कोरोना सङ्क्रमितको सङ्ख्या प्रदेश नं २ मा बढ्दै गएका कारण जोखिम बढ्ेकाले अर्काे सूचना नआएसम्मका लागि निषेधज्ञा जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिनुभयो । सङ्क्रमण थप फैलिन नदिन यस्तो कदम चालिएको उहाँले बताउनुभयो । केही दिनदेखि खुकुलो पारिएको लकडाउन आज बिहानदेखि कडा पारिएको छ ।

    अर्काे जिल्लाबाट आउनेबिना पासका सवारी साधन तथा पैदलयात्रीलाई फिर्ता पठाउन र लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रण लिई सङ्क्रमण रोग नियन्त्रण ऐनअन्तर्गत कारवाही गर्न प्रहरीलाई निर्देशनसमेत दिएको छ ।

    अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्सबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा बन्देज लगाउने निर्णय गरेको छ । यस्तै छिमेकी देश भारतबाट आवतजावत पूर्णरुपमा बन्द गरिएकाले लुकीछिपी नेपाल प्रवेश गरेको पाइएमा त्यस्ता व्यक्तिलाई लुकाउने र लुक्ने दुवैलाई सङ्क्रमण रोग नियन्त्रण ऐनबमोजिम कारवाही गरिने प्रजिअ गुरागाईँद्वारा जारी सूचनामा उल्लेख छ ।

    सिरहा जिल्लासँग जोडिएको चारैतिरको नाका बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको समेत प्रजिअ गुरागाईँले बताउनुभयो । उहाँले सिरहा जिल्लासँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाले ती जिल्लाबाट हुने आवतजावत रोक्न नाकामा व्यापक सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।  रेडियो नेपाल


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस