• The Public Today
  • कोरोना ‘हटस्पट’ बनेका प्रदेश २ र ५ मा थपिँदै चुनाैती, कोरोनाविरुद्ध लड्न यस्तो छ तयारी


    तेजेन्द्र केसी र किरण कर्ण
    जेठ १ गते :
    कोरोना संक्रमणको जोखिमका दृष्टिले संवेदनशील देखिएका प्रदेश २ र प्रदेश ५ मा प्रदेश सरकारले क्वारेन्टाइन र आइसोलेसन क्षमता विस्तारलाई जोड दिन थालेका छन् ।

    कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा कोरोना विशेष अस्पताल र आइसोलेसन स्थापनालाई सरकारले प्राथमिकतामा राखेको भनिए पनि कतिपय जिल्लामा त्यस्ता अस्पताल अझै तयार हुन सकेका छैनन् ।

    प्रदेश २ का आठवटै जिल्ला भारतसँग सीमा जोडिएको र खुला सीमाका कारण भारतबाट लुकीछिपी प्रवेश गर्ने क्रम नरोकिएकाले संक्रमण नियन्त्रणमा कठिनाइ भइरहेको छ । प्रदेश २ मा संक्रमित देखिएकामध्ये अधिकांश भारतबाट लुकीछिपी प्रवेश गरेकाहरु नै रहेका छन् ।

    प्रदेश नम्बर २ मा क्वारेन्टाइन पर्याप्त रहे पनि आइसोलेसन तथा कोभिड १९ विशेष अस्पतालको क्षमता विस्तारमा ध्यान दिन जरुरी देखिएको छ ।

    प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार २०३ बेड क्षमताको १७९ वटा क्वारेन्टाइनमा १ हजार ६१२ जनालाई राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा सूचना अधिकारी विजयकुमार झाले जानकारी दिए ।

    उनले भने, ‘कोरोना संक्रमित भएको आशंका लागेमा क्वारेन्टाइनमा राख्न सक्ने पर्याप्त पूर्वाधार तयारी अवस्थामा रहेको छ ।’

    प्रदेशमा कोरोना संक्रमणको लक्षण देखापरेका ८४ जनालाई आइसोलेसनमा राखिएको छ भने ३४७ बेड क्षमताको आइसोलेसन तयारी अवस्था रहेको उनले बताए ।

    भारतबाट लुकिछिपी आएका प्रदेश नम्बर २ को सर्लाही जिल्लामा एक जना युवामा कोरोना पोजेटिभ पाइएको थियो । ती संक्रमितको उपचारका लागि विरगंजस्थित अस्पतालमा पठाउँदा विरगंज महानगरपालिकाका मेयर विजय सराबगीले आपत्ति जनाएका थिए ।
    प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा भर्ना भएका सर्लाहीका एक युवाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि उनलाई उपचारका लागि विरगंजस्थित नारायणी अस्पताल पठाइएको थियो ।
    मेयर सरावगीले विरोध गरेपछि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पछाडि नर्सिङ्ग क्याम्पसलाई कोभिड १९ अस्पताल स्वरुपमा विस्तार गरी आईसोलेसन निर्माण गरिएको छ । त्यहाँ ४२ बेडको आइसोलेसन रहेको सूचना अधिकारी विजयकुमार झाले जानकारी दिए । हाल त्यहाँ ४ जना कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई आईसोलेसनमा राखिएको छ ।

    जनकपुरधाममै कोरोना संक्रमितहरुका लागि आईसोलेसन संचालन आएपछि अहिले धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाका संक्रमितलाई सोही अस्पतालमा पठाउने गरिएको छ ।

    सिराहा र सप्तरीका बिरामीका लागि राजविराजस्थित सगरमाथा अस्पताल राजविराज छुट्याइए पनि ३० बेडको अस्पताल अझै सुचारु हुन सकेको छैन ।

    त्यस्तै सर्लाही, बारा र जलेश्वरमा आईसोलेसन वार्ड निर्माणाधीन अवस्थामा छ । महोत्तरीको जलेश्वरमा ५० बेडमध्ये ३० बेड तयारी अवस्थामा रहेको सूचना अधिकारी झाले जानकारी दिए । उनले अझै २० बेडको आइसोलेसन निर्माण चरणमा रहेको र छिट्टै नै निर्माण हुने बताए ।

    त्यसैगरी वीरगंजको नारायणी अस्पतालमा ५० बेडको आइसोलेसन रहे पनि त्यहाँ ८५ व्यक्तिमा कोरोना पोजेटिभ भेटिएपछि बेडकै अभाव भएको छ । उनले भने, ‘बेडको अभावसँगै विरगंजमा रहेको सिद्धार्थ स्कुलमा आइसोलेसन निर्माण गरी १३ जनालाई त्यहाँ राखेर उपचार गरिनेछ ।’

    प्रदेश २ को पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, र सप्तरीमा कोरोना संक्रमित फेला परेका छन् । अहिलेसम्म प्रदेश २ मा ९७ जना कोरोना संक्रमित देखा परेका छन् । संक्रमितको संख्यामा वृद्धि हुनसक्ने अनुमानसँगै यसको उपचारका लागि आइसोलेसनलाई अझै व्यवस्थित विस्तार गर्न लागिपरेको सूचना अधिकारी झा बताउँछन् ।

    अहिलेसम्म संक्रमित भएकाहरुलाई सामान्य उपचारबाटै निको पारिएको उनले जनाए । अहिलेसम्म आईसीयू र भेन्टिलेटरको आवश्यकता कसैलाई पनि नपरेको जानकारी दिँदै उनले भने, ‘कोरोना संक्रमित भएका व्यक्तिहरुलाई अति नै उच्च जोखिममा रहेको बेलामा मात्रै आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।’

    उनले प्रदेश नम्बर २ को वीरगंजस्थित नारायणी अस्पतालमा ७ वटा आईसीयू, नेशनल मेडिकलमा ४, प्रादेशिक अस्पताल जनकपुरमा २ वटा, जानकी मेडिकल अस्पतालमा ५, राजविराजस्थित सगरमाथा गजेन्द्रनारायण सिंह अस्पतालमा ४ गरी यस प्रदेशमा २२ वटा आईसीयूको व्यवस्था रहेको बताए ।

    क्रिटिकल केस आएमा मात्रै आईसीयू र भेन्टिलेटरको आवश्यकता पर्न सक्ने उनको भनाइ छ ।

    कोरोना संक्रमण तिव्र रुपमा देखिन थालेपछि क्वारेन्टाइन विस्तार र लकडाउनलाई थप कडाइ गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

    आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना महामारी नियन्त्रणका लागि संघ सरकारसँग थप बजेट माग गर्ने जनाए ।

    प्रदेश ५ मा चुनौती थपिदै, काममा सुस्तता 
    भारतबाट आउनेहरु संख्या वृद्धिसँगै प्रदेश ५ का तराईका जिल्लाहरुमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।

    बिहीबार बिहानसम्ममा प्रदेशमा ९४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । प्रदेशमा ५३२ स्थानका क्वारेन्टाइनमा ८ हजार २१९ जना बसेको तथ्याङ्क छ ।

    ४ हजार १२० जनाको स्वाब संकलन गरिएकोमा ९४ जनाको स्वाबको रिपोर्ट पोजेटिभ आएको छ भने ६४९ जनाको रिपोर्ट आउने क्रममा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    प्रदेशका १२ जिल्लामध्ये ५ जिल्ला हालसम्म ६ वर्षीय बालिकादेखि प्रहरी र नर्समा समेत कोरोना संक्रमण पाइएको छ । बर्दिया, बाँके, कपिलवस्तु, रुपन्देही र नवलपरासी गरी ५ जिल्लामा ९४ जनामा संक्रमण पुष्टि भएको छ । खुला सीमाको फाइदा उठाउँदै भारतबाट लुकिछपी दैनिक रुपमा आउनेहरुको संख्या उल्लेख्य रहेकाले पनि जोखिम अझ बढेको देखिन्छ ।

    परीक्षणको दायरा बढाउने हो र अहिले क्वारेन्टाइनमा रहेका सबैको परीक्षण रिपोर्ट आइपुग्दासम्म प्रदेश ५ मा कोरोना संक्रमितको संख्या भयावह हुने त होइन भन्ने त्रास छ ।

    यसरी भइरहेको छ काम 
    संघीय संरचना अन्तर्गत तीनवटै तहका सरकार कोरोना नियन्त्रणका लागि लागिरहेका छन् ।

    भारतका विभिन्न सहरबाट सीमा क्षेत्रमा आएका नेपालीलाई स्थानीय तहसँगको समन्वयमा स्वदेश भित्र्याएर क्वारेन्टाइनमा राख्ने क्रम जारी छ । प्रदेशको स्वास्थ्य निर्देशनालय बुटवलका प्रवक्ता रोशन चौधरीले क्वारेन्टाइनको क्षमता बढाउने, आइसोलेसन बेड र कोरोना विशेष अस्पतालको क्षमता बढाउने काम भईरहेको रातोपाटीलाई बताए ।

    उनले प्रत्येका जिल्ला अस्पताललाई आइसोलेसनका लागि तयार रहन पत्राचार गरेको बताए । क्वारेन्टाइनका लागि स्थानीय तहले विद्यालय र अन्य भवनहरु प्रयोग गर्ने भएकाले त्यति ठूलो समस्या नहुने चौधरीको भनाइ छ ।

    प्रदेशमा हाल ४ वटा कोरोना विशेष अस्पतालमा निर्माण गरिएको छ, जसमा १८४ बेड संख्या छ । प्रदेशमा रहेका अन्य ४८ वटा अस्पतालका लागि ३३६ वटा बेडको आइसोलेसन  छुट्याइएको छ ।

    आवश्यकताअनुसार बाँके जिल्लाको आर्मी अस्पताल प्रयोग गर्ने र बुटवलको कोरोना अस्पतालको क्षमता विस्तारको काम भइरहेको छ ।

    बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालका सबै आइसोलेसन बेड संक्रमितले भरिएका छन् । हाल कभर्ड हलका रुपमा प्रयोग भइरहेको धागो कारखानाकै अर्को भवनमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल उपमहानगरपालिकाको सहकार्यमा दुई सय बेडका लागि आवश्यक पूर्वाधार र स्वास्थ्य जनशक्ति थप गरेरमात्रै कोरोना संक्रमित विरामी भर्ना लिइने अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

    लुम्बिनी प्रादेशिक अस्पतालको व्यवस्थापनमा रहेको उक्त अस्पतालमा ८ वटा आइसीयू र ८ वटा भेन्टिलेटरसमेत जडान गरिएको छ ।

    प्रदेश ५ सरकारले धागो कारखानासहित, भैरहवाको भीम अस्पताल, दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल र नेपालगन्जको सुशिल कोइराला क्यान्सर अस्पताललाई कोरोना विशेष आइसोलेसन अस्पताल बनाएको हो ।

    नेपालगन्जको अस्पतालमा २५ बेड आइसोलेसन बनाइएकामा त्यहाँ पनि बेड खाली नरहेको र भीम अस्पतालमा ३० बेडमध्ये १० बेड खाली रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले बताए ।
    भिम अस्पताल भैरहवाको तीनवटा भेन्टिलेटरसहित ५ बेड आईसीयु रहेको उक्त अस्पतालमा ३० जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

    दाङको कोरोना अस्पतालमा ८८ वटा आइसोलेन बेड बनाइएकामा एकजना पनि बिरामी भर्ना गरिएको छैन । दाङमा अहिलेसम्म कोरोना संक्रमित बिरामी फेला परेका छैनन् । बाँकेको नेपालगञ्जमा थप संक्रमित फेला परेमा दाङ ल्याउने योजना रहेको प्रदेश सरकारका प्रवक्ता मन्त्री बैजनाथ चौधरीले रातोपाटीलाई बताए ।

    किटको समस्या 
    प्रदेश ५ का तीन ठाउँमा प्रयोगशाला छन् । नेपालगञ्ज, दाङ र भैरहवाको गहुँ बाली विकास केन्द्रमा रहेका प्रयोगशालामा पिसिआर र आरडिटी विधिबाट टेस्ट गरिएको छ । टेस्ट शुरु गरेको केही दिनमै दुवै टेस्टको किट अभाव भएको थियो । एक हप्तापछि मात्र संघीय सरकारले किट उपलब्ध गराएको थियो ।

    अहिले कुनै पनि टेस्टको लागि प्रदेशमा किट स्टक  नभएको निर्देशनालयका प्रवक्ता चौधरीले बताए । उनका अनुसार भारतबाट आएर क्वारेन्टाइनमा बसेकातहरुको पिसिआर टेस्टको लागि चाहिने अहिले भिटिएम सकिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय
    ट्याग : #कोरोनाको कहर
    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस