दाहसंस्कारमा पिएको रक्सीले ४२ को मृत्यु, ११ जना जीवनमरणको दोसाँधमा

File Photo

पुब्ला, मेक्सिको, जेठ २ गते  : मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा दाहसंस्कार कार्यक्रममा विषाक्त मदिरा पिउँदा कम्तीमा ४२ जनाको मृत्यु भएको छ।

त्यहाँका अधिकारीका अनुसार राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरू ११ जना जीवनमरणको दोसाँधमा छन्।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय सरकारले जनाएको छ। मदिरा पिएपछि ती मानिसलाई वान्ता हुने र टाउको दुख्ने समस्या भएको थियो।

स्थानीय अधिकारीका अनुसार कोरोना भाइरस महामारीका कारण बजारमा बियर र अरु प्रशोधित मदिरा पाइन छाडेको छ। त्यही कारण मानिसले मिसावटयुक्त मदिरा पिएको बताइएको छ। गत महिना पनि अखाद्य मदिरा खाँदा पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो। रासस/एएफपी