• The Public Today
  • उपमेयरले कुर्सी उचालेर मेयरमाथि प्रहार गर्न थालेपछि…


    सुरेश यादव
    जनकपुर, जेठ २ गते : कोरोना संक्रमण फैलिने क्रम बढेपछि मुलुक संकटग्रस्त छ । जनतामा त्रास व्याप्त छ । संकटको यस घडीमा नागरिकको सबैभन्दा नजिकको सहारा भनिएका स्थानीय जनप्रतिनिधि भने अझै भागबण्डाकै लुछाचुडीमा मस्त छन् । धनुषाको सबैला नगर कार्यपालिकाको बैठकमा देखिएको दृश्य यसको ज्वलन्त उदाहरण हो ।

    नगरपालिकाले गत चैत १४ गतेदेखि सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा पछिल्लो साता एकाएक नयाँ भर्नाको संख्यामा वृद्धि भएको छ । गतसाता मात्र एक जना बसिरहेको क्वारेन्टाइनमा बिहीबारसम्म ३३ जना पुगेका छन् । उनीहरुलाई बस्न खाट, ओछ्यान, खाजा, खानादेखि स्वास्थ्यकर्मी व्यवस्थापन गर्न आवश्यक बजेटको जोहो गर्ने उद्देश्यले कार्यपालिकाको बैठक बोलाइएको थियो । बैठकमा क्वारेन्टाइन व्यवस्थापनको साटो कसले कति भ्रष्टाचार गरे भन्ने विषयमा बहस सुरु हुनपुग्यो ।

    “बाहिर इमान्दारिताको भाषण गर्ने र भित्र लुट्ने काम मात्रै गर्ने ?” नगरकी उपप्रमुख निलुदेवी कापरले नगर प्रमुख विजयशंकर प्रसाद साहप्रति आक्रोसित हुँदै भनिन्, “नगरको कोषमा रहेको रकम जनताको हितमा खर्च गर्ने कि आफ्नो काममा सिध्याउने ?”

    नगरप्रमुख साहले नगरपालिकामा सुविधासम्पन्न निजी घर हुँदाहुँदै नगरपालिकाको कोषबाट जनकपुरमा घर भाडा लिएको र दैनिक जनकपुर–सबैला ओहोरदोहोरको नाममा मासिक लाखौँ रुपैयाँको इन्धन खर्चिरहेको आरोप उपप्रमुख कापरको थियो ।

    उनले क्वारेन्टाइनको आडमा पनि व्यापक भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै छानबिनको लागि सरोकारवालालाई अपिल गरिन् ।  उपप्रमुख कापरले एकपछि अर्को आरोप पोख्न थालेपछि नगरप्रमुख साह पनि आक्रोसित हुँदै झण्डै उपप्रमुखमाथि हात छाडेनन् ।

    प्रतिकारको क्रममा उपप्रमुख कापरले कुर्सी उचालेर मेयरको टाउकोमाथि प्रहार गर्न खोज्दा एकजना कार्यपालिका सदस्यले समातिहाले । प्रमुख र उपप्रमुखबीच तल्लो स्तरकै शब्दमा वादप्रतिवाद चल्यो ।

    उपप्रमुख कापर त्यहाँबाट हिँडेपछि प्रमुख साह र ७ नम्बरका वडा अध्यक्ष रामदेव सहनीबीच ‘तँ तँ’ र ‘म म’ सुरु भयो । उनीहरु आपसमा गालीगलौजमा उत्रिरहँदा प्रमुख प्रशासकीय अधिकृत यज्ञराज भट्ट र अर्का कर्मचारी विरेन्द्र कर्ण तथा संजीव राउतले माइन्यूट तयार पार्दै थिए ।
    माइन्यूट तयार हुँदासम्म उपप्रमुख कापर र अधिकांश वडा अध्यक्षहरु घरतर्फ प्रस्थान गरिसकेका थिए ।

    निर्णय पुस्तिकामा लेखियो तीन निर्णय – “१३ वटै वडाबाट ३ लाखको दरले ३९ लाख र नगर कोषबाट ३० लाख गरी ६९ लाख रुपैयाँको कोरोना कोष स्थापना गर्ने, क्वारेन्टाइनमा खट्ने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने र कोरोनाविरुद्धको संघर्षमा कसैको मृत्यु भए पीडित परिवारलाई १५ लाख रुपैयाँ उपलब्ध गराउने ।”

    कसको आरोप के ?

    १ नम्बर वडाका अध्यक्ष कपिल राउत गडेरीले भने, “मैले लकडाउनमा आफ्नो वडामा ३३ सय मास्क र छ सय साबुन बाँडेको छु त्यो पैसा कहिले निकासा हुन्छ ?” जवाफमा नगर प्रमुख साहले कसको आदेशमा मास्क र साबुन बाँडेको भन्दै वडा अध्यक्षले दाबी गरेको रकम कुनै हालतमा निकासा नहुने अडान लिए ।

    अर्का एक कार्यपालिका सदस्य राजु गुप्ताले आफुले १३ लाखको मास्क र ८ लाखको साबुन बाँडेको दाबी गर्दै वडा अध्यक्षले भनेबमोजिम रकम निकासा भए आफ्नो पैसा पनि पाउनुपर्ने जिकिर गरे । उनले भने, “जनताको पैसा हो, जनताकै लागि खर्च हुनुपर्छ ।”

    त्यसपछि अर्का वडा अध्यक्षहरुले पनि मास्क र साबुन बाँडेको वृतान्त प्रस्तुत गर्न थाले । सोही क्रममा उपप्रमुख कापर महँगा गाडीको दुरुपयोग र अनावश्यक घरभाडाको कुरा उचाल्दै नगर प्रमुख साहमाथि खनिएकी थिइन् ।  उनले इमान्दारिता भए सबैले नगरपालिकाको गाडी फिर्ता गर्नुपर्ने शर्त राखेपछि वडा नम्बर ७ का अध्यक्ष रामदेव सहनी र ४ का कुशेश्वर ठाकुरले प्रयोग गर्दै आएको मोटरसाइकलका साँचोहरु नगर प्रमुख साहमाथि फालिएको थियो ।

    सहनीले लामखुट्टे मार्ने औषधि छर्किने मेसिन खरिदमा पनि नगर प्रमुख साहले आर्थिक हिनामिना गरेको आरोप लगाए ।

    उनले भने, “कबाडबाट उठाइएको मेसिन ल्याएर नक्कली बिलको आधारमा आर्थिक हिनामिना भएको छ । यसको छानबिन हुनुपर्‍यो ।” १३ वटै वडाका लागि छुट्टाछुट्टै मेसिन खरिद गर्न कार्यपालिकाले निर्णय गरे पनि नगर प्रमुख साहकै आदेशमा एकमात्र खरिद भएको र त्यो पनि प्रयोग भएकै दिन बिग्रेर थन्किएको सहनीको भनाइ थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस