• The Public Today
  • लकडाउनको ५३औं दिन, सडकमा हिँड्न थप कडाइ


    जेठ २ गते : कोभिड–१९ संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको आज ५३ दिन पुगेको छ ।

    लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले गएको आइतबारदेखि सवारीसाधन सञ्चालनका लागि केही सहज बनाएको थियो । तर, आजदेखि भने पुनः कडाइ गरेको छ । यसअघि लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढेको थियो । संक्रमितको संख्या बढेसँगै उपत्यकामा लकडाउन कडा बनाइएको सरकारको भनाइ छ । आज सडकमा सवारीसाधन पनि हिजोको तुलनामा निकै कम चलेका छन् । लकडाउन कडा पारेसँग जनजीवन पुनः प्रभावित बन्न थालेको छ ।

    गत चैत ११ बाट जारी लकडाउनको ५३औं दिनमा आइपुग्दा अत्यावश्यक सेवाका पसलहरूसँगै केही अन्य पसलहरू भने खुलेका छन् । औषधि, तरकारी तथा फलफूल र खाद्यान्नका पसलहरू खोल्ने सरकारले गरेसँगै उपत्यकामा भिड बढेको थियो ।

    अहिले भने उपत्यकामा अत्यावश्यक र खाद्यान्न बोकेका सवारीसँगै निजी पासवाहक सवारीसाधन मात्र सञ्चालनमा आएका छन् । सवारी पास नभएका साधनलाई भने प्रहरीले नियन्त्रणमा लिएर कारबाही थालेको छ ।

    मुख्य व्यापारिक मल तथा व्यापारिक क्षेत्रहरू चैत ११ यता पूर्ण ठप्प छन् । यस्तै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु बिक्री वितरण गर्ने व्यावसायिक मलहरू र होटल तथा रेस्टुरेन्टहरू खुलेका छैनन् ।

    उपत्यकाका भित्री सडकमा अत्यावश्यक उपभोग्य खाद्य पसलहरू खुलेका छन् । सर्वसाधारण घरनजिकको पसलसम्म पुगेर किनमेल गरेको देखिन्छ । यस्तै कतिपय भित्री सडकहरूमा स्थानीयले बाटो बन्द गरेका छन् । अनावश्यक सवारीसाधनको आवागमन भित्री सडकबाट हुन थालेपछि स्थानीयले बाटो बन्द गरिदिएका हुन् । यस्तै अपरिचित व्यक्तिलाई प्रवेश निषेध लेखिएका ब्यानरहरू ठाउँ-ठाउँमा राखिएका छन् । बाह्रखरी


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस