• The Public Today
  • भारतमा जेठ १८ सम्म लकडाउन लम्ब्याउने तयारी


    काठमाडौं, जेठ ३ गते । भारतमा फेरि लकडाउन लम्ब्याइने भएको छ। मुख्यमन्त्रीहरुको सुझावपछि जेठ १८ गते अर्थात मे ३१ सम्म लकडाउन लम्ब्याउने तयारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिन अघि विभिन्न राज्यका मुख्यमन्त्रीसँग भिडियो कन्फेरेन्स गरेका थिए। कोरोनाबाट धेरै प्रभावित राज्यका मुख्यमन्त्रीहरुले लकडाउन लम्ब्याउनुपर्ने सुझाव दिएका थिए। महाराष्ट्रले भने शुक्रबार नै जेठ १८ सम्म लकडाउन थपिएको घोषणा गरेको थियो।

    भारतमा चौथो चरणको लकडाउन गर्न थालिएको हो। यस अघि गरिएको तेस्रो चरणको लकडाउन भोलि सकिँदै छ। भारतमा लकडाउन सुरु भएको ५१ दिन पुगेको छ।

    चौथो चरणको लकडाउन भने केही खुकुलो हुने जनाएको छ। केही सर्तसहित सार्वजनिक यातायात सञ्चालन हुने जनाइएको छ। त्यस्तै, दुई जनाभन्दा बढी बोक्न नपाउने गरि अटोरिक्सा पनि सञ्चालन गर्न दिइने अनुमान गरिएको छ। यससँगै आन्तरिक हवाइ सेवा पनि सञ्चालन हुनेसक्ने जनाइएको छ।

    भारतमा शनिबारसम्म कोरोना संक्रमितको संख्या ८५ हजार नौ सय ४० पुगेको छ। यो चीनको भन्दा पनि बढी हो। चीनमा ८२ हजार नौ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ।

    भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार सात सय ५३ पुगेको छ। अहिलेसम्म ३० हजार पाँच सय ५८ जना निको भएका छन्। अहिले ५२ हजार नौ सय २९ जनाको उपचार चलिरहेको छ।

    अझै पनि कोरोना संक्रमित हुने क्रम कम भएको छैन। दैनिक औषत तीन हजारका दरले कोरोना संक्रमित थपिइरहेका छन्।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस