सञ्चारकर्मीलाई बन्देज लगाउन मेयर सरावगीको प्रदेश सरकारसँग माग

File Photo

जेठ ४ गते : वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग संचारकर्मीलाई बन्देज लगाउन माग गरेका छन् ।

कोरोना महामारीको अनुगमन गर्न पर्सा आईपुगेका मुख्यमन्त्री राउतलाई मेयर सरावगीले कोरोना महामारीमा सञ्चारकर्मीले ‘हाम्रो नकारात्मक कुरा मात्रै लेखेको’ भन्दै प्रदेश २ मा प्रतिबन्ध लगाउने गरी कानुन निर्माण गर्न आग्रह गरेका हुन् । यद्यपि, त्यो प्रतिवन्ध कस्तो रहने भन्ने चाहिँ उनले खुलाएनन् ।

वीरगञ्जको नगरसभागृहमा मुख्यमन्त्रीको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गंगा पन्त, नेपाल पत्रकार महासंघ प्रदेश २ का सभापति दीपेन्द्र चौहान लगायत सहभागी छलफलमा मेयर सरावगीले जनतालाई राहत बाँड्दा पनि पत्रकारले भ्रष्टाचार भनि टिप्पणी गरेकाले सेन्सरसिप आवश्यक रहेको बताएका थिए ।

तत्कालीन संघीय समाजवादी पार्टीबाट चुनाव जितेर मेयर भएका सरावगीले वीरगञ्जका सञ्चारकर्मीले आफ्नाबारे जथाभावी समाचार लेखेको आरोप पहिलेदेखि लगाउँदै आएका छन् ।

हालै महानगरले राहत वितरणका लागि कुहिएको चामल खरिद गरी भ्रष्टाचार गरेको समाचार सञ्चारमाध्यममा आएको थियो ।

उता नेपाल पत्रकार महासंघ प्रदेश– २ अध्यक्ष दिपेन्द्र चौहानले प्रेसलाई सेन्सरसिप लगाउने कुरा मेयर सरावगीको विकृत मानसिकताको उपज भनेका छन् ।

भ्रष्टाचारको समाचार लेख्यो भन्दैमा प्रेसलाई सेन्सर गर्ने मेयर सरावगीको दिवास्वप्न रहेको भन्दै चौहानले प्रेसले भ्रष्टचारविरुद्ध अझ धेरै लेख्नुपर्ने प्रतिक्रिया दिए ।

महामारीका बेला जोखिम उठाउँदै, कतिपय ठाउँमा दुव्र्यवहार खेप्दै जनतालाई सुसूचित गराउने काममा संलग्न पत्रकारमाथि सेन्सरसिपको कुरा गरेर मेयर सरावगीले आफ्नो कमजोरी लुकाउन खोजेको र लोकतन्त्रको खिल्ली उडाएको उनको भनाइ छ । टुडेपाटी