• The Public Today
  • सांसद यादव अपहरणमा नपरेको लिखित प्रमाण नै छ : प्रहरी


    उजिर कार्की
    जेठ ४ गते : प्रहरी परिसर काठमाडौंले सांसद सुरेन्द्र यादव अपहरणमा नपरेको निचोड निकालेको छ। सो घटना अपहरण नभएको प्रमाणसहित शुक्रबार सरकारी वकिलको कार्यालयमा फाइल बुझाइएको प्रहरीले जनाएको छ।

    सांसद यादवले आफूलाई पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठले अपहरण गरेको आरोप लगाउँदै उजुरी दिएका थिए।

    सांसद सुरेन्द्र यादवले आफूलाई पूर्वआईजीपी सर्वेन्द्र खनाल र सांसदद्वय महेश बस्नेत तथा किसन श्रेष्ठले अपहरण गरेको आरोप लगाएका थिए

    सुरुमा काठमाडौं प्रहरी परिसरले जाहेरी नलिएपनि सरकारी वकिल कार्यालयको पत्रपछि उजुरी दर्ता गर्दै अनुसन्धान थालेको थियो। अनुसन्धान सुरु गरेको एक सातामा प्रहरीले फाइल बुझाएको हो।

    प्रहरीको अनुसन्धान टोलीले सांसद यादवको घरमा पुगेर घटनास्थलको विवरण लिनुका साथै परिवारसँग सोधपुछ गरेर मुचुल्का तयार गरेको थियो। यस्तै अरु विभिन्न ठाउँका मुचुल्का र सीसीटीभीका फुटेज पनि प्रहरीले बुझाएको छ।

    काठमाडौं प्रहरी परिसर श्रोतका अनुसार सर्लाहीको गौतम होटल, काभ्रेको मिलन ज्योति गार्डेन रिसोर्ट र काठमाडौंको म्यारियट होटलको सीसीटीभी फुटेज पनि बुझाइएको छ।

    १० गते बिहान गौतम होटलमा खाना खाएका आईजी र सांसदको टोलीले राति काठमाडौं आउने क्रममा काभ्रेको मिलन ज्योति गार्डेन रिसोर्टमा खाना खाएका थिए।

    यस्तै यादवलाई अपहरण गरी राखिएको भनिएको म्यारियट होटलको पनि सीसीटीभी प्रहरीले प्रमाणका रुपमा राखेको छ। यीबाहेक पनि अपहरण होइन भन्ने प्रमाण फेला परेको प्रहरीको दाबी छ।

    ‘उजुरीमा भनेजस्तो फोन कब्जा गरेको र जबरजस्ती ल्याएको देखिँदैन, उहाँका परिवारका सदस्यहरु पनि सँगै आएका छन्। आउँदा बाटोमा केही नेताहरुसँग कुरा गरेको देखिन्छ,’ अनुसन्धान अधिकृतले भने।

    ‘अपहरण के का लागि गरियो भन्ने पनि हामीले हेर्नुपर्छ। मन्त्री बनाइदिन्छु भनेर उसैको फाइदाका लागि कसैले अपहरण गर्दैन,’ उनले भने ‘हामीले लिखित प्रमाण नै फेला पारेका छौं, जसले अपहरण होइन भन्ने पुष्टि गर्छ।’

    प्रहरीले उनीहरु पुगेका तीन वटै होटलका कर्मचारीलाई समेत त्यहाँ रहँदाको अवस्थाबारे सोधपुछ गरेको थियो। त्यहाँ पनि अपहरण भएको भन्ने कसैबाट नआएको परिसरले जनायो।

    काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले आफूहरुले अपहरण नभएको प्रमाणसहित अनुसन्धानको फाइल बुझाएको र थप के हुने भन्ने सरकारी वकिल कार्यालयको हातमा रहेको बताए।

    अब सरकारी वकिलको कार्यालयले मुद्दा दरपीट गरिदिन सक्छ। तर त्यसअघि उसले समेत मुद्दाको अनुसन्धान गर्नसक्छ। यदि पीडितले आरोप लगाएजस्तो अपहरण देखिने अवस्था भए वा प्रहरी अनुसन्धान चित्त बुझ्दो नभएमा पुनः प्रश्न गर्दै थप अनुसन्धान गर्न प्रहरीलाई नै फाइल फिर्ता पठाउन पनि सक्छ।

    सरकारी वकिल कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरिरहेको बताए। ‘हामी अध्ययन गरिरहेका छौं। पुनः अनुसन्धान गर्ने, तामेलीमा राख्ने वा मुद्दा अगाडि बढाउने भन्ने अध्ययनपछि मात्रै निर्णय हुन्छ,’ उनले भने।

    प्रहरीको अनुसन्धानमा चित्त बुझे सरकारी वकिलको कार्यालयले मुद्दा दरपिट गर्दै जिल्ला अदालत काठमाडौंलाई जानकारी गराउने छ। श्रोतका अनुसार आइतबार सरकारी वकिलको कार्यालयले महान्यायधिवक्ताको कार्यालयसँग पनि यस विषयमा छलफल गरेको छ।

    आज भोलि नै सरकारी वकिलको कार्यालयले अदालतमा दरपिटको लागि पठाउने वा पुनः अनुसन्धानका लागि प्रहरीलाई नै फाइल फिर्ता पठाउने छ।

    मुद्दा दरपीट भए अपहरणमा परेको दाबी गर्ने सांसद यादव सर्वोच्च अदालत जान सक्ने छन्। यस्तो अवस्थामा प्रहरीको अनुसन्धान चित्तबुझ्दो नभएको भन्दै उनले सर्वोच्चमा मुद्दा दायर गर्नुपर्नेछ।

    यादवले मुद्दा दर्ता गरे यसअघिको अनुसन्धानमा प्रश्न गर्दै सर्वोच्चले पुनः अनुसन्धान गर्न प्रहरीलाई आदेश दिन सक्नेछ। सर्वोच्च आफैंले यसअघिको अनुसन्धान फाइल मगाएर समेत निर्णय गर्न सक्नेछ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस