• The Public Today
  • सशस्त्र प्रहरीको पोस्ट प्रत्येक डेढ किलोमिटरमा, चौबीसै घण्टा ड्युटी


    जेठ ५ गते : भारतबाट हुन सक्ने अवैध घूसपैठ रोक्न सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमामा १२१३ अस्थायी पोस्ट निर्माण गरेको छ । कोरोना भाइरसको माहामारीका कारण दुवै देशको सीमा सिल भएको अवस्थामा घूसपैठ हुनसक्ने भन्दै लकडाउनकै अवधिमा सो संख्यामा अस्थायी पोस्ट निर्माण गरिएको हो ।

    नेपाल–भारत पूर्वपश्चिम दूरी १८८० किलोमिटर छ । सीमासँगै जोडिएका विभिन्न स्थानमा (बोर्डर आउट पोस्ट) बीओपी पनि छन् । तर कोरोनापछिको परिस्थितिमा घूसपैठ रोक्न थप पोस्ट आवश्यक भएकाले त्यसैअनुसार अगाडी बढेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीण श्रेष्ठ बताउँछन् ।

    उनका अनुसार अस्थायी रूपमा गठन भएका पोस्टमा ड्युटी भने चौबीसै घण्टा हुने गरेको छ । डीआईजी श्रेष्ठका अनुसार अस्थायी पोस्ट स्थापना भएपछि सीमा क्षेत्रमा हरेक डेढ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको उपस्थिति भएको छ । यसअघि ५ देखि १५ किलोमिरटको दूरीमा सशस्त्र प्रहरी रहँदै आएको थियो ।

    भारतबाट हुनसक्ने घूसपैठले नेपालमा कोरोनाको जोखिम बढ्न सक्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन् । प्रवक्ता श्रेष्ठले भने, “असहज परिस्थितमा हुने सीमा अपराध नियन्त्रण, घूसपैठ, सीमा सुरक्षा नै हाम्रो प्रमुख दायित्व हो । नेपाल–भारत खुला सीमा आफैंमा ठूलो चुनौती हो । त्यसैले अहिले सीमामा हाम्रो उपस्थिति बढाएका छौं ।”

    सशस्त्र प्रहरीमा ३७ हजार बढी दरबन्दी छ । जसमध्ये अहिले ३१ हजार बढी जनशक्ति प्रत्यक्ष रूपमा फिल्डमै खटिएको श्रेष्ठ बताउँछन् । पछिल्लो समय विभिन्न स्थानमा सशस्त्र प्रहरीको टोलीमाथि भइरहेको आक्रमणलाई पनि गम्भीरतापूर्वक लिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनले भने, “प्रायः भारतीय पक्षबाट आक्रमणको प्रयास भएको देखिन्छ । यसको जानकारी हामीले भारतीय अधिकारीलाई पनि गराइरहेका छौं । कतिपय विवाद आपसी सहमतिमा पनि समाधान भएका छन् ।”

    सीमा क्षेत्रमा दुवैतर्फ आफन्त, व्यापार, खेतीपाति हुने गरेको र त्यसकारण पनि लुकेरै भए पनि नेपालतर्फ आउने खोज्ने र रोक्न खोज्दा आक्रमणमा उत्रिएको प्रवृत्ति देखिएको प्रवक्ता श्रेष्ठको बुझाइ छ । उनका अनुसार सीमा क्षेत्रको निगरानीमा प्रविधिको समेत प्रयोग गरिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस