• The Public Today
  • नागरिकको जीवनप्रति खेलबाड नगर्न सरकारलाई कांग्रेसको चेतावनी


    काठमाडौं, जेठ ५ गते । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाँकेमा कोरोना भाइरस संक्रमित युवकको मृत्यु भएपछि सरकारलाई सात प्रश्न गरेको छ ।

    प्रवक्तासमेत रहेका कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गरेर २५ वर्षीय युवाको मृत्युसँग जोडिएका विभिन्न सात प्रश्न गरेका हुन् ।

    बाँकेको क्वारेन्टाइनमा ती युवकको कोरोनाका कारण भएको मृत्युले गम्भीर प्रश्न उब्जाएको उल्लेख गर्दै उनले भनेका छन्, “विश्वव्यापी रूपमा लाखौंको मृत्यु भइरहेका बेला ती युवकको मृत्युलाई केवल एकथान मृत्युुका रूपमा बुझियो र त्यसका पछिल्तिर रहेका गम्भीर प्रश्नहरूलाई नजरअन्दाज गरियो भने कोरोनासँगको संघर्षका हाम्रा आगामी दिनहरू झनै विकट हुनेछन् ।”

    क्वारेन्टाइनमा भएको मृत्युको जिम्मेवार व्यक्ति कि सरकार भन्दै प्रवक्ता शर्माले जवाफमा नभएर जवाफदेहितामा भूमिका बढाउन सरकारलाई सुझावसमेत दिएका छन् । कांग्रेसले बाँकेको क्वारेन्टाइनमा भएको युवकको मृत्युको घटनालाई गम्भीरतापूर्वक लिँदै उक्त घटनालाई शिक्षाका रूपमा लिएर कार्य गर्न सरकारलाई आग्रह पनि गरेको छ ।

    कांग्रेसले नागरिकको अमूल्य जीवनप्रति खेलबाड नगर्नसमेत सरकारलाई चेतावनी दिएको छ ।

    यी हुन् कांग्रसले सरकारसामु तेस्र्याएका सात प्रश्न
    (१) ती युवकले अघिल्लो दिनदेखिनै पटकपटक वान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुँदाहुँदै क्वारेन्टाइनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिननै अस्पताल पुर्‍याउनुपर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?

    (२) क्वारेन्टाइनको कार्य्विधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राती एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?

    (३) एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोविज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरूलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन ? देशभरनै यो समस्या किन निरन्तर देखिएको छ ?

    (४) आइतबार बिहान ७.०० बज्नु अघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टाइन बनाइएको बिद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियो ? अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित ब्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?

    (५) लास उठाउन परिक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने, संभव भएसम्म चांडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएन ? विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशाला बीच समन्वय गरेर एउटा मात्रै नमूनालाई प्राथमिकता साथ परिक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पिसिआर उपकरणमा परिक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुंदाहुंदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परिक्षण त्यही ढंगले समयमै गर्ने÷गराउने ब्यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन ?

    (६) नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दा सम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थिति देखि परिक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभाव देखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही रहेकोे बिचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दै छ ?

    (७) श्रीमती तथा अवोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरूलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केहि चेत आएको छ कि बांकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने ?


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस