• The Public Today
  • प्रादेशिक अस्पताल जनकपुरमै उपचार नपाएपछि…


    सुरेश यादव
    जनकपुर, जेठ ६ गते : धनुषास्थित गणेशमान चारनाथ नगरपालिकाकी १२ वर्षीया एक बालिका यौनाङ्गमा घाउ भएर गएको वैशाख ३१ गते उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पुगिन् । विपन्न दलित परिवारकी ती बालिकाको घाउ बिग्रेर कीरा लागिसकेपछि जनप्रतिनिधिको सहयोगमा उपचारका लागि पठाइएको थियो । तर, अस्पतालले उपचारै नगरी घर पठाइदियो ।

    बालिकाको यौनाङ्गमा केही महिनाअघि देखि घाउ थियो । सुरुमा तिनका अविभावकले पनि थाहा पाएनन् । बालिकालाई निकै पीडा हुन थालेपछि बल्ल आमालाई बताइन् । आमालाई जानकारी भए पनि तत्काल उनको उपचार हुन नसक्नुको दुईवटा कारण छन् । पहिलो त आमालाई पनि डाक्टरमा गएर उपचार गराइहाल्नुपर्ने आवश्यकता महसुस भएन अर्को उपचारका लागि पैसा अभाव । जब बालिकाले सहनै नसक्ने अवस्था आयो अनि आमा मन्टुट देवीले समाजलाई गुहार्न थालिन् ।

    गुप्ताङ्गमा घाउ छ, सबैलाई भन्न पनि नमिल्ने । उपचारका लागि समाजमा पैंचो (सापटी) माग्न जाँदा किन पैसा चाहियो भनेर सबैले सोधिहाल्थे । दैनिक मजदुरी गरेर परिवार पाल्ने मन्टुटले बन्दाबन्दी (लकडाउन) भएदेखि दुई छाक हातमुख जोड्नै धौ–धौ परिरहेको बताउँछिन् । त्यसैमा छोरीको उपचार गराउनुपर्ने अर्को भार थपियो ।

    “समाजमा पैसा माग्न जान्छु । खान त पुग्दैन यसले कहाँबाट पैसा फर्काउँछ भनेर हेप्छन्,” मन्टुटले भनिन्, “जसोतसो जनकपुरको सरकारी अस्पतालसम्म पुगे पनि डाक्टरले उपचारै नगरी फिर्ता पठाइदियो । अब कहाँ जाउँ ?”

    तराई मानवअधिकार रक्षक सञ्जाल प्रदेश २ का संयोजक विनोद महरा गाउँमा बसोबासको हिसाबले मन्टुटका छिमेकी हुन् । महराले बालिकाको अवस्थावारे जानकारी पाउनासाथ गाउँमै घर रहेको गणेशमान चारनाथ नगरपालिका प्रमुख रामबाबु यादवसमक्ष सहयोगका लागि आग्रह गरे । यादवले तत्कालै जनकपुरसम्म जान एउटा एम्बुलेन्सको जोहो गरिदिए, औषधोपचारका लागि दुई हजार नगद पनि । नगर प्रमुख यादवको सहयोग पाएर राहत महसुस गरेकी मन्टुटको त्यतिखेर मन टुट्यो जब अस्पतालमा पुगेर पनि छोरीको उपचार पाइनन् ।

    “कोरोना हल्लाले सबैतिर कर्फ्यु लागेका बेला एम्बुलेन्स चढेर अस्पताल पुग्ने कसको पो रहर होला र !,” मन्टुटले भनिन्, “परेका बेला भगवानजस्तै उपकार गर्ने मानिस भनेर चिनेको थिएँ डाक्टरलाई । तर, होइन रहेछ ।” अस्पतालको स्तर र अन्य कुरादेखि कुनै मतलब नराख्ने मन्टुटले यति भनिन्, “मेरो ठाउँमा कुनै नेताको परिवार भएको भए सायद मैलेजस्तो दुःख भोग्नुपर्दैनथ्यो कि !”

    पहिले त मूल गेटमै रोकिएको एम्बुलेन्स इमर्जेन्सी भनेपछि अस्पतालमा प्रवेश त पायो तर इमर्जेन्सी सेवाका लागि उनले टिकट पाइनन् । जति अनुनय गरे पनि जाबो टिकटसम्म कटाउन नसक्ने भएपछि उनले गाउँकै छिमेकी मानवअधिकारकर्मी महरालाई फोन गरिन् । महराले पनि आफ्नै गाउँमा घर भएका सञ्जय सिंह (प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष) लाई फोन गरेर सहयोग गरिदिन आग्रह गरे । सोही अस्पतालका अध्यक्ष रहेका सिंहले निर्देशन दिएपछि मन्टुटले ५० रुपैयाँ तिरेर इमर्जेन्सीको टिकट पाइन् । जाँचका लागि करिब आधा घण्टा डाक्टरको प्रतीक्षा गरिन् । डाक्टरले घाउबारे थाहा पाउनेबित्तिकै कोरोनाको समयमा यस्तो उपचार हुन नसक्ने भन्दै फिर्ता जान सल्लाह दिएर निस्किहाले ।

    डाक्टर र अस्पतालका अन्य कर्मचारीलाई जति नै बिन्ती गरे पनि कुनै सुनुवाइ नभएपछि मन्टुटले फेरि महरालाई फोन गरिन् । महराले अस्पताल विकास समिति अध्यक्ष सिंह र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. नागेन्द्रप्रसाद यादवलाई दर्जनौंपटक फोन गरे पनि कुरा हुन नसकेपछि केही गर्न नसकेको बताउँछन् । अध्यक्ष सिंहले अस्पतालको अवस्था जर्जर रहेको र कर्मचारी नटेरेको प्रतिक्रिया दिए । मेसु डा. यादवले भने बिरामीबारे अनभिज्ञता प्रकट गरे ।

    “अस्पतालमा दिनहुँ सयौं बिरामी आउँछन् । कसले उपचार नपाएर फर्किनुपरेको भन्ने मलाई जानकारी भएन,” मेसु यादव भन्छन्, “अहिले तपाईंले गरेजस्तै बिरामी अस्पतालमै रहेका बेला कसैले मलाई फोनमा समस्याबारे जानकारी दिएको भए पहल गर्थें । अब के गर्न सक्छु ?” अध्यक्ष सिंहले आफूले नै भनेर बिरामी पुर्जा काटिएको बताउँदै डाक्टरले जाँच पनि गरेको तर के कति कारणले फिर्ता पठाएको भन्ने जानकारी पाउन नसकेको बताउँछन् ।

    सरकारी अस्पतालले उपचार र भर्ना गर्न नमानेपछि ती बालिकालाई अहिले धनुषाधाममा बस्ने उनका मामाको पहलमा त्यहीँको एउटा निजी क्लिनिकमा उपचार गरिरहेको मन्टुटले बताइन् । १५ दिनसम्म क्लिनिकमै राखेर उपचार गर्नुपर्ने क्लिनिकका सञ्चालकले भनेको सुनाउँदै उनले थपिन्, “क्लिनिकले पाँच हजार रुपैयाँ लिइसक्यो । थप पाँच हजारको जोहो गर्न भनेको छ । यतिले पनि उपचार सम्भव हुन्छ कि हुँदैन थाहा छैन तर थप पाँच हजारको जोहो कहाँबाट हुन्छ ? चिन्ताको विषय हो ।” बाह्रखरी


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस