• The Public Today
  • प्रधानमन्त्रीको निर्देशन- क्वारेन्टाइनको अवस्था सुधार गर्नुस्


    काठमाडौं, जेठ ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर बनाइएका क्वारेन्टाइनको अवस्था सुधार गर्न निर्देशन दिएका छन्।

    बुधबार छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)बाट महामारी नियन्त्रणका लागि हालसम्म भइरहेको एकीकृत प्रयासबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले क्वारेन्टाइनको अवस्था सुधार गर्न निर्देशन दिएका हुन्।

    प्रधानमन्त्री ओलीले कोरोनाका कारण तत्काल स्वदेश फर्कने नागरिकको संख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिए। उनले कोरोना परीक्षणको दायरासमेत बढाउन निर्देशन दिएका छन्।

    प्रधानमन्त्री ओलीले लकडाउन हटेलगत्तै बाहिरबाट आउने संख्या ठूलो हुनसक्ने र त्यसको व्यवस्थापनका लागि आवश्यक साधन स्रोतको व्यवस्था गर्न निर्देशन दिएको केन्द्रका संयोजक महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए।

    उनका अनुसार प्रधानमन्त्री ओलीले बन्दाबन्दी भए पनि केही व्यक्ति विभिन्न गाउँमा पुगेका कारण सङ्क्रमण फैलिएको सूचना प्राप्त भएकाले त्यस्ता सङ्क्रमित व्यक्तिको पहिचान गर्न पनि भनेका थिए।

    कोरोनाको रोकथामका लागि हालसम्म कुनै औषधि यकिन नभएको अवस्थामा सामाजिक दूरी कायम गर्ने, खानपान र नियमित शारीरिक अभ्यासबारे सर्वसाधारणलाई जानकारी गराउन प्रचारप्रसारमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको छ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस