• The Public Today
  • मुलुककै सबैभन्दा ठूलो सब-स्टेसनको काम धमाधम, असारभित्र सञ्‍चालनको लक्ष्य


    जेठ ८ गते  : कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लाकडाउन) बीच पनि धनुषामा निर्माणाधीन ४००/२०० केभी  ढल्केबर सब-स्टेसन आयोजनाको काम धमाधम भइरहेको छ ।

    कोरोना कहरका बीचमा पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण रुपमा पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

    मुलुकभित्र पूर्व-पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि  निर्माण गएिको ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधियुक्त स्वचालित ढल्केबर सब-स्टेसन मुलुकभित्रको सबैभन्दा ठूलो र  ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सब-स्टेसन हो ।

    सब-स्टेसनमा रहने उपकरण जडान एवं परीक्षण र बाँकी रहेका सिभिल संरचनाको निर्माणमा नेपाल, भारत र चीनका प्राविधिक तथा गैरप्राविाधिक गरी झन्डै ८० जनशक्ति खटिएका छन् ।

    यही असारभित्रमा सब-स्टेसनको निर्माण सम्पन्‍न गरी सञ्‍चालन (चार्ज) गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । “गत पुस/माघमा तराईमा चलेको शीतलहरका कारण उपकरण जडान प्रभावित भयो, त्यसपछि कोरोनाका कारण चिनियाँ इन्जिनियरहरु आउन नसक्दा र नेपालमा लागू गरिएको लकडाउनले निर्माण प्रभावित भयो, अहिले सबै सुरक्षात्मक उपाय अपनाएर काम धमाधम भइरहेको छ,” उनले भने ।

    चीनबाट विमानमार्फत भारतको कलकत्ता ल्याइएका सब-स्टेसनका उपकरणहरु दुवै मुलुकमा लागु गरिएको लकडाउनका कारण ल्याउन सकिएको थिएन । सबै निकायसँग समन्वय गरी एक साताअघि उपकरणहरु कोलकाताबाट आयोजनास्थलमा ल्याएपछि अहिले उपकरणहरुको जडान र परीक्षण धमाधम भइरहेको प्राधिकरणले जनाएको छ ।

    कोलकाता विमास्थलमा ल्याइएका उपकरणहरु अलपत्र परेपछि लकडाउनमा पनि आवश्यक सुरक्षात्मक उपाय अपनाएर नेपाल ल्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले भारतीय समकक्षीसँग आग्रह गरेका थिए । त्यसपछि नौ ट्रकमार्फत उपकरणहरु आयोजनास्थलमा ल्याइएको थियो ।

    चीनमा उत्पादित उपकरणहरु भएकाले सञ्‍चालन परीक्षणका लागि चिनियाँ इन्जिनियरहरु लकडाउन सुरु हुनुभन्दा पहिले नै आइसकेका छन् ।  उपकरणको सञ्‍चालनमा एकजना भारतीय इन्जिनियर आउनुपर्ने तर लकडाउनका कारण आउन नसक्ने भएपछि रिमोटमार्फत नै काम गर्न सक्ने व्यवस्था मिलाउन पहल भइरहेको घिसिङले बताए ।

    सब-स्टेसनमा ३१५ एमभीएका तीनवटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहने छन् । जसले करिब नौ सय मेगावाट विद्युतलाई प्रसारण गर्न सक्छन् । ‘‘सम्भव भएसम्म तीनवटै र नभएमा कम्तिमा पनि दुईवटा पावर ट्रान्सफर्मर असारभित्रमा चार्ज गर्छौं,’’कार्यकारी निर्देशक घिसिङले भने ।

    सब-स्टेसन चार्ज भएपछि नेपाल-भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुनेछ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने पूर्वाधार तयार हुनेछ ।

    २२० केभी गोंगर (दोलखा)-खिम्ती-ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर सब-स्टेसनमा आएको माथिल्लो तामाकोसीको विद्युतलाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ ।  वर्षायाममा बढी भएको खण्डमा  ढल्केबर-मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सीधै निर्यात गर्न सकिन्छ । हिउँदमा आवश्यक परे न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्नेछ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ ।

    ढल्केबर-मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइने २२० केभीमा सञ्‍चालनमा छ । ढल्केबरमा ४०० केभीको सब-स्टेसन निर्माण सम्पन्‍न भएपछि यो लाइन ४०० केभीमा सञ्‍चालन हुनेछ । सब-स्टेसनमा ३१५ एमभीएका तीनवटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहनेछन् । जसले करिब नौ सय मेगावाट विद्युतलाई प्रसारण गर्न सक्छन् ।

    सरकारले चालू आवको नीति तथा कार्यक्रम र बजेटमार्फत असारभित्रमा ४०० केभीको ढल्केबर सब-स्टेसन निर्माण सम्पन्‍न गरी सञ्‍चालनमा ल्याउने घोषणा गरेको छ । सब-स्टेसन निर्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरिरहेका छन् । नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब दुई अर्ब रुपैयाँ लगानीमा सब-स्टेसन निर्माण भइरहेको हो ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस