कोरोनको आहतमा गरीबलाई उद्यमीको राहत

बर्दिवास, जेठ ९ गते । महोत्तरीको बर्दिवास–१ को एक उद्योगले आफ्ना छिमेकी बिपन्नलाई राहत दिएको छ । बर्दिवास–१ स्थित आर.सि.लिड एण्ड ब्याट्री उद्योगले आफ्नै ओरपरका १२० परिवार गरिबलाई आज बिहीबार राहत दिएको हो ।

कोरोना सन्त्रासले जारी बन्दाबन्दीको समयमा दैनिक ज्यालादारी मजदुर , असहाय गरिब र निमुखाहरु खाद्यान्न अभावले हातमुख जोड्न नसकेका देखेपछि केही राहत उपलब्ध गराइएको उद्योगले जनाएको छ । बर्दिवास–१ का वडाअध्यक्ष चुडामणि पोखरेलको रोहबरमा जनही १५ किलोग्राम चामल, एक किलोग्राम दाल , एक किलोग्राम नुन र एक पोका खानेतेलसहित राहत पोका १२० परिवारलाई दिइएको हो । राहत वितरणमा उद्योग सञ्चालक परिवारका भक्त भण्डारी, रमेश भण्डारी, कुमार भण्डारी र बिनोद भण्डारीले दुःखमा साथ छौं भन्ने सन्देस मात्र दिन चाहेको बताएका छन् ।

राहत पाउनेमा दलित, मुस्लिम र जनजाति समुदायका बिपन्न परेका छन् । ईद पर्वको मुखमा पाएको राहतले खुशी दिएको मुस्लिम समुदायका सर्वसाधारण गृहिणीले बताएका छन् । उद्योगले लकडाउनका बेला गरिबलाई राहत दिएर आफ्नो अभियानमा सघाएको वडाअध्यक्ष पोखरेलको भनाइ छ ।

उद्योगले आउने दिनमा आफ्नो क्षमताले भ्याएको सहयोग जारी राख्ने जनाएको छ । राहत वितरण लकडाउनको मर्यादा पालन गर्दै छ मीटरको शारीरिक दुरी कायम गरेर वितरण गरिएको थियो ।