• The Public Today
  • मरेको छैन मानवता !


    • गोपालप्रसाद बराल

    पूण्य कमाउन भगवान् खोज्दैं मन्दिरमा धाउनु पर्दैन । हाम्रै वरिपरी ईश्वर बिभिन्न रुपमा छन् । भोकालाई भोजन , बेसहारालाई साहारा र विपद्मा परेकालाई राहत दिदाँ त्यहीं नै पूण्य प्राप्ति हुन्छ । भिखारीको भेषमा देवीदेवता भिक्षा माग्न तपाईको दैलोमा आएका पो हुन् कि के थाहा ?

    ढुङ्गालाई पूजेर भगवान् भेटिनन् र पूण्य पनि भेटिदैंन । तर, दिनदुःखीलाई भोजन गराउँदा, पानी पिलाउँदा साँच्चै त्यहाँ साक्षात ईश्वर भेट्न सकिन्छ, मावनलाई सेवा गर्नु नै ठूलो धर्म हो । यो दुनियाँमा मानव धर्म भन्दा ठूलो कुनै धर्म छैन, कुनै भवनान् छैनन् ।

    असायलाई सेवा गर्दै करुणा बाँड्दै हिंड्ने महोत्तरीको बर्दिबासमा देखिदैछन् । कोविड–१९ को सन्त्रास छल्न जारी लकडाउनले भोजन खोसिएका र समस्यामा परेका असहाय, गरिव र क्वारेन्टाइनमा खाना खोजीरहेकालाई सेवा गर्न युवा सञ्जाल, क्लव, उद्यमीहरु अग्रसर देखिएका छन् ।

    क्वारेन्टाइनमा खानाखाजा पस्कदै बिष्णु

    बर्दिवास नगरपालिकाले सञ्चालन गर्दै आएको बर्दिवास सेवा समितिको भवनमा सञ्चालित क्वारेन्टाइन केन्द्रको ब्यवस्थापकीय जिम्मा पछिल्ला पाँच दिनयता होटल बिनायकका कार्यकारी निर्देशक ३५ वर्षीय बिष्णु खड्काले सम्हालेका छन् ।

    यसअघि खानपानदेखि बसोवास र अन्य हेरचाहका कुरामा वास्ता नभएको गुनासो गर्दै आएका क्वारेन्टाइनमा बस्नेहरुले खड्काको ब्यवस्थापनमा सबै कुरा राम्रो हुँदै गएको प्रतिकृया दिएका छन् । “हाँमीलाई सबै कुरा ठिक छ, बास्मती चामलको भात, रहरको दाल , हरिया सागसब्जी र अचारसहितको भोजन पाई रहेका छौं” क्वारेन्टाइन केन्द्रमा बसी रहेका बर्दिवास–१३ का लालबाबु राउतले भने–, “दिनैपिच्छे फरक÷फरक परिकारको खाजा पाएका छौं, अबको यहाँको बसाईमा कुनै गुनासो छैन ।”

    खड्काले ब्यवस्थापकीय जिम्मेवारी लिएयता साबुन, सेनिटाइजर, मास्कसहितका सामग्री र पानी तताउने मग, खानेपानीका छुट्टाछुट्टै जारसँगै केन्द्रमा नेट (वाईफाई) जडान भएपछि समय बिताउन सजिलो भएको राउतसहितका केन्द्रमा बसी रहेका हरुको भनाइ छ । यो क्वारेन्टाइनमा आज सोमबार २३ जना पुगेका छन् ।

    गत बुधबार (जेठ–७) खड्काले केन्द्रको जिम्मेवारी सम्हालेसँगै आपूmले दिने सेवाको सूची नै तयार गरेर लिखित प्रतिबद्धता जनाएका छन् । खानपानमा सहज र आवश्यक सामग्री पाइन थालिएपछि रेखदेख गर्न आउने स्वास्थ्यकर्मीको सकृयता पनि बढ्दै गएको केन्द्रमा रहेका हरुको सकारात्मक टिप्पणी छ । बर्दिवास–१ स्थित क्वारेन्टाइनमा उदयपुरका एक र बर्दिवास नगरक्षेत्रभित्रका २२ सहित हाल २३ जना छन् ।

    मजदुरको सेवामा उद्यमी दाजुभाई

    लकडाउन लम्बिदै जाँदा काम गर्न बाहिर जान नसकेपछि खानपिनको समस्या पर्नै लागेबीच बर्दिवास–१ सनीगाछी र गाल्टारका १८० परिवार दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने मुस्लिम, दलित र जनजाति समुदायका घरधुरीलाई अर्का उद्यमीले नगरपालिकाकै समन्वयमा राहत घरघरै पु¥याएका छन् ।

    -गोपालप्रसाद बराल

    बर्दिवास–१ मै सञ्चालित आरसी लिड एैण्ड ब्याट्री उद्योगका सञ्चालक जरमेश, कुमार र बिनोद भण्डारी दाजुभाइले १५ किलो चामल, एक किलो दाल, एक किलो नुन र एकपोका खानेतेलसहितको पोका बर्दिवास–१ का वडाअध्यक्ष चुडामणि पोखरेलको अगुवाईमा घरघरै पु¥याएका हुन् ।

    कोविड–१९ रोकथाम अभियानमा स्थानीय युवा उद्यमीले सहभागिता बढाएपछि काम सहज हुँदै गएको बर्दिवास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्कीको भनाइ छ । “युवा उद्यमी साथीले यो माहामारीमा खासखास जिम्मेवारी लिदै गएपछि थप योजना बनाउन र काम गर्न सजिलो भएको छ, आइपर्ने थप कामका लागि जिम्मेवारी लिन युवा उद्यमीहरु सम्पर्कमा आउने क्रम पनि जारी छ” कार्कीले भने–,“छिमेकको भारतमा रेल सेवा सञ्चालनले घर फर्कने बढ्दै जाँदा अब हाँमी उनीहरुको ब्यवस्थापनका लागि थप क्वारेन्टाइन बढाउन लागी परेका छौं ।”

    अब तत्कालै ७५ शैयाको थप क्वारेन्टाइन, बर्दिवास अस्पतालमा ५० शैयाको आइसोलेसन र पिसिआर परीक्षणका लागि आवश्यक उपकरणको ब्यवस्था गरेर सघन परीक्षण सञ्चालन गरिने कार्कीको थप भनाइ छ ।

    सेवामा समर्पित रोटरी क्लव बर्दिबास

    कोविड–१९ रोकथाम अभियानमा खास जिम्मेवारी बोक्नेगरि उद्यमीहरुको चासो बढ्दै गएको छ । रोटरी क्लव बर्दिबासमा आबद्ध युवाले नगरका स्वास्थ्य संस्था र यसभेगमा कार्यरत सञ्चारकर्मीका लागि कोविड–१९ रोकथामका सुरक्षा सामग्री हातहातमा पु¥याएका छन् । आपद पिपद्मा परेकाहरुको साहारा बन्दै गरेको लकडाउनले मस्यामा रहेकाहरुलाई राहत वितरण गरेको छ ।

    त्यसैगरि ‘भोर’ संस्थाका अध्यक्ष राजकुमार महतोले दलित बस्तीमा राहत पु¥याउन सहयोग गरेका बर्दिवास नगरपालिकाले जनाएको छ । सहयोगी हातहरु स्थानीयतहको समन्वयमा काम गरि रहेका हुँदा थोरै कामको प्रभाव पनि राम्रो देखिने गरेको नगरप्रमुख कार्कीको ठम्याइ छ ।

    भोकालाई खाजापानी खुवाउँदै युवा सञ्जाल

    बर्दिवासका उत्साही युवाले ‘जन सहयोगी युवा सञ्जाल बर्दिवास, महोत्तरी’ गठन नै गरेर स्थानीयतहको समन्वयमा भोका, प्यासाहरुको उद्धार कार्य थालेका छन् । कतैबाट भौंतारिदै बर्दिवास नगरक्षेत्र आई पुगेका जोसुकै भोकालाई ख्वाउने र आवश्यकताअनुसार क्वारेनटाइनमा वा गन्तब्यमा पु¥याउन सहयोग गर्ने गरिएको सञ्जालका संयोजक परमेश्वर महतोको भनाइ छ ।

    कोरोना भाइरस महामारीले लादेको लकडाउनको आहतमा परेका विपन्न, असायहहरुको जीवन रक्षा गर्न जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले भोकालाई खाजापानी खुवाउने अभियान चलाएको छ । बढ्दैं गरेको लकडाउनले मागेर जीवन चलाउनेहरुको जीवन झनै कष्टकर बनेको छ । दुई महिनादेखि जारि रहेको लकडाउनले बजार बन्द छ । मागेर खाने होटल, पसल सबै बन्द भएपछि उनीहरु भोकै पर्न थालेबीच बर्दिवासका विद्यार्थी, समाजिक अभियन्ता, ब्यवसायी क्षेत्रमा क्रियाशील युवाले हरेक दिन खाजा पनी वितरण गरिरहेका छन् ।

    ‘मागेर जीवन चलाइरहेकाहरु लकडाउनले भोकै देख्दा हाम्रो मनले मानेन’ सञ्जालका अध्यक्ष महतोले भने,‘ आफ्नै गोजीबाट सबै साथीले सात हजार रुपैंया उठाएर यस्ता असहायका लागि खाजापानी वितरणको काम सुरु गरेका हौं ं ।’ पछि यस अभियानमा सहयोगी हात थपिदै गएका महतोको थप भनाइ छ । सञ्जालले दैनिक साँझ चार बजेदेखि वितरण गरिने खाजाका परिकारहरु जोरजाम गर्न युवाको सकृयता बिहानैदेखि हुने गरेको छ ।

    कोविड–१९ रोकथाममा निजीक्षेत्रको सहभागिता बढ्दै गएपछि कामको परिणाममा देखिएको सकारात्मक प्रभावबारे छिमेकका स्थानीयतहमा पनि बाक्लै चर्चा हुन थालेको छ । यसैबीच जिल्लाकै भङ्गाहा, औरही, गौशाला र रामगोपालपुर तथा छिमेकको धनुषा जिल्लामा पर्ने मिथिला नगरपालिकाले पनि अभियानमा सहभागिताका लागि निजीक्षेत्रलाई आह्वान गरिएको जनाएका छन् ।


    क्याटेगोरी : अन्तरवार्ता, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस