• The Public Today
  • ६ दिनदेखि भाेकै रहेका एक युवकको जटही नाकामा मृत्यु


    • शैलेन्द्र महतो

    जनकपुरधाम, जेठ १४ गते । भारतबाट आफ्नो घर धनुषातर्फ आइरहेका एक युवकको आज (बुधबार) बिहान जटही नाकामा मृत्यु भएको छ।

    भातरबाट ट्रकमा कोचेर सीमासम्म छाडिएका ती युवक धनुषाकै सहिद नगरपालिकाका हुन्।

    उनीसहित करिब २ सय नेपालीलाई भारत सरकारले एउटा ट्रकमा कोचाकोच गरेर जटही बोर्डरमा छाडिदिएको त्यहाँ आइपुगेको नेपालीले बताएका छन्।

    बुधबार बिहान चाउचाउ/चिउरा खाएपछि बान्ता भएको र साढे ७ बजेतिर एक्कासि ती युवकको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।

    भारतमा मजदुरी गर्ने उनी ६ दिनदेखि भोको भएको र सोही कारण उनको मृत्यु भएको उनीसँगै आएका नेपालीले दाबी गरेका छन्। उनीहरुले केहीबेर स्थानीय प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए।

    ती युवकको शव अहिले नाकामै छ। उनको स्वाब लिने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नेपालखबरलाई जानकारी दिए। कोरोना परीक्षणका लागि उनको स्वाब जनकपुरस्थित प्रयोगशाला पठाइने उनले बताए।

    उनीसँगै भारतबाट आएका २ सयभन्दा बढी नेपालीलाई भने बस व्यवस्था गरी सम्बन्धित स्थानीय तहका क्वारेन्टिनमा पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस