• The Public Today
  • रेलमार्ग बनाउन सरकारले छुट्यायो ८ अर्ब ६६ करोड


    जेठ १५ गते : सरकारले रेलमार्गहरूको निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । पूर्व-पश्चिमलगायतका विभिन्न रेलमार्गहरूको निर्माणका लागि एकमुष्ट आठ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

    चालु आर्थिक वर्षमा रेल विभागले सात अर्ब ७० करोड बजेट पाएको थियो । विभागले पूर्व–पश्चिम रेलमार्गको एउटाबाहेक सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । बाँकी एउटा खण्डको पनि डीपीआर एक वर्षभित्र तयार हुँदैछ ।

    विभागले डीपीआर सकिएका सबै खण्डका लागि जग्गा अधिग्रहण गरेर निर्माणको काम थाल्न सरकारलाई गत वर्षदेखि नै प्रस्ताव गर्दै आएको छ । हाल विभागले पूर्व-पश्चिम रेलमार्गअन्तर्गत बर्दिवास–निजगढ खण्डमा रेल्वे ट्रयाक निर्माण गरिरहेको छ । यो करिब ७० किलोमिटरको खण्ड हो ।

    विभागले आगामी वर्षबाट काँकडभिट्टा–इनरुवा–विराटनगर रेलमार्ग निर्माणको काम सुरु गर्नेछ । काँकडभिट्टा–इनरुवा–विराटनगर खण्ड करिब १०६ किलोमिटर लामो छ ।

    पश्चिमतर्फ बुटवलदेखि गड्डाचौकीसम्म चार सय २१ किलोमिटरको डीपीआर तयार भइसकेको छ। नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर बनिसकेको छ भने पूर्वमा इनरुवादेखि काँकडभिट्टा खण्डको डीपीआर पनि तयार छ ।

    निजगढबाट हेटौंडाहुँदै नवलपरासीसम्मको खण्डको डीपीआर निर्माणको चरणमा छ । एक वर्षभित्र यो खण्डको पनि डीपीआर तयार भइसक्ने दाबी विभागको छ।

    सरकारले पूर्व-पश्चिम रेलमार्गको मूल रूटलाई नौ खण्डमा विभाजन गरेको छ । मूल खण्डहरू नौ सय ४५ किलोमिटरको भए पनि पोखरा–काठमाडौं, काठमाडौं–वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने एक हजार तीन सय ७६ किलोमिटर हुनेछ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस