• The Public Today
  • एक गाँस खान पाए ज्यान जोगिन्थ्यो कि !


    सुरेश यादव
    जेठ १५ गते : औपचारिकता पूरा गर्नकै लागि भए पनि नेपालमा गणतन्त्र दिवस मनाउने तयारी भइरहँदा धनुषास्थित भारतीय सीमानाकामा एक युवकले उपचारका लागि स्वदेश फर्किन संघर्ष गर्दा–गर्दै प्राण त्यागे ।

    घटना बुधबार (१४ जेठ, २०७७) बिहानको हो । कोरोना त्रास र अनिश्चितकालीन बन्दाबन्दीको कारण कोही कलेज बन्द भएर त कोही कामबाट निकालिएर भारतका विभिन्न राज्यबाट नेपाल फर्किन सीमामा जम्मा भएका थिए । धनुषा जिल्लाभरिका नागरिक भारतबाट फर्किन जिल्ला प्रशासनले तोकेको जटही नाका हो । सीमापारि करिब चार सय नेपाली नागरिक थुनिएका थिए । सबैमा यथाशक्य चाँडो नेपाली भूमिमा पाइला टेक्न पाउने तीव्र अभिलाषा थियो ।

    भारतीय प्रहरीले नेपालबाट नगरपालिकाहरूले गाडी पठाएमात्र सम्बन्धित पालिकाका नागरिकलाई जान दिने नियम लगाएको रहेछ । अघिल्लो दिनदेखि नै आफ्नो पालिकाको सवारी पर्खिरहेकाहरूको बीचमा एक बिरामी दरभंगाबाट एम्बुलेन्स चढेर आइपुगेका थिए । लामो दूरी र असहज यात्राका कारण सामान्य बिरामी भएका उनी खान नपाएर धेरै कमजोर भइसकेका थिए । दिनहुँ सयौंको संख्यामा जम्मा भइरहने नाकामा बिस्कुट र पानीसम्म पाइँदैन । जब खान नपाएकै कारण ती बिरामीले सिरानीमा लुगाफाटो बोकेको झोला राखेर प्राण त्यागे अनि सँगै रहेको भिडले धैर्यता गुमाउन पुगे ।

    धनुषा, सहिदनगर नगरपालिका ९ का ३० वर्षीय वीरेन्द्र यादवको मृत्यु भएपछि उनीजस्तै घर फर्किन त्यहाँ जम्मा भएको भिड प्रहरीले भिरेको बन्दुकको समेत वास्ता नगरी नेपाल सरकार, प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका अन्य नेताहरूविरुद्ध चर्को नाराबाजी गर्न थाले ।

    नाराबाजीमा उत्रेका उनीहरूको आक्रोशअगाडि भारतीय प्रहरी निरिह बन्यो । उनीहरू आन्दोलनकारीको शैलीमा नेपाल प्रवेश गरे । सीमावारि खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजे पनि भिडको अगाडि असमर्थता जाहेर गर्‍यो । प्रहरीले अवरोध नगरेपछि उसलाई केही नगरेको भिडले एम्बुलेन्स र सञ्चारकर्मीलाई निसाना बनायो ।

    ००००
    ‘घटना नसम्झाउनु, आङ सिरिङ हुन्छ’

    मंगलबार राति १० बजेतिर वीरेन्द्रले बिहारको दरभंगाबाट घरमा फोन गरेको रहेछ । आफू बिरामी परेको र एम्बुलेन्स चढेर जटही नाकामा आइरहेको भन्दै एम्बुलेन्सलाई तिर्न आफूसँग पैसा नरहेकाले राति १ बजेसम्म नाकामा आइपुग्न आग्रह गरेको थियो । गाउँबाट केही पैसा लिएर वीरेन्द्रको भाइ धर्मेन्द्र, छिमेकीहरू रुपेश, रामहरि, कुशेन्द्र र जयकुमार मोटरसाइकल लिएर जनकपुर हुँदै बोर्डरमा पुगे । वीरेन्द्रलाई एम्बुलेन्ससहित बोर्डरदेखि करिब एक किलोमिटर परै पिपरौनमा भारतीय प्रहरीले रोकेको थियो । यता उनको भाइ धर्मेन्द्रलगायत गाउँलेहरूलाई नेपाल प्रहरीले एक किलोमिटरवर नगराइनमा रोकिदिएको थियो । जति गरे पनि उनीहरूले भेट्न सकेनन् । पारिको एम्बुलेन्सलाई खातामै रकम पठाइदिने वाचा गरेपछि ऊ फर्किएको थियो । धर्मेन्द्रहरूले वीरेन्द्रलाई वारि ल्याउन अर्को विकल्प खोज्दै जनकपुर फर्के ।

    बिहान ६ बजेतिर हो मलाई फोन गरेर गम्भीर कुरा गर्नुपर्ने भन्दै जनकपुरको भानु चोकमा बोलायो । वीरेन्द्र बोर्डरमा बिरामी परेको र कसैगरी तत्काल ल्याउनुपर्ने भन्दै एउटा एम्बुलेन्स खोज्न भन्यो । मैले एम्बुलेन्सका लागि पनि किन हैरान हुनुप¥यो र ? भनें । सिटी अस्पतालका एम्बुलेन्स चालक रोशनलाई फोन गरें । उनले कहाँ जानुपर्ने भनेर सोधेपछि बोर्डरको कुरा सुन्नासाथ जान नसकिने भन्यो । प्रादेशिक अस्पतालको छेउ बाह्रबिघामा दर्जनौ एम्बुलेन्स पार्किङ भइरहेको स्मरणमा आएपछि त्यसतर्फ हिँडे । एम्बुलेन्स त थियो तर बोर्डरको नाउँ सुन्नेबित्तिकै सबै असमर्थ भए ।

    कुनै युक्ति नलागेपछि अर्को चिनेको एम्बुलेन्स धनी महाशंकर ठाकुरलाई फोन गरें । उनी विभिन्न सामाजिक संस्थाको नाउँमा एम्बुलेन्सहरू सञ्चालन गर्ने व्यक्ति हुन् । बोर्डरको नाउँमा उनले पनि नाइँ भनिदिए । मैले पीपीई दिनुस् आफैं चलाएर जान्छु भन्दा जिल्ला प्रशासन कार्यालयबाट पाएको पीपीई भरपर्दो नरहेको भने । फेरि म रेडक्रसका सभापति नरेश सिंहलाई फोन गरे । उहाँले नगरपालिकाको एम्बुलेन्सलाई कुरा गर्न भन्नुभयो । फेरि सीडीओ वा एसपीसँग भन्न लगाए जोहो गर्न सकिने बताए । सीडीओसाबलाई दर्जनौंपटक फोन गरें तर उहाँले मेरो फोन काटिरहनुभयो । कुरा हुन सकेन ।

    अन्त्यमा अर्को एकजना एम्बुलेन्स सञ्चालकसँग कुरा भयो । म आफैंले चलाएर जाने सर्तमा सुदीप पूर्वेले एम्बुलेन्स दिनुभयो । फेरि शववाहनका एकजना चालक मसँग एम्बुलेन्स लिएर जान तयार भए । त्यति गर्दासम्म करिब ११ बजिसकेको थियो । जसको उद्धारको लागि हामी एम्बुलेन्स जोहो गर्ने प्रयत्नमा थियौं ऊ मरिसकेको थाहै भएन । हामी नगराइनमा प्रवेश गर्न नपाउँदै ठूलो भिड जनकपुरतर्फ नाराबाजी गर्दै आइरहेको थियो । प्रधानमन्त्री र नेपाल सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेको त्यो भिडले एम्बुलेन्समा आक्रमण ग¥यो । ज.१च १२१३ नम्बरको उक्त एम्बुलेन्स क्षतिग्रस्त भयो । चालक वीरेन्द्र महतो पनि घाइते भए । हामी एम्बुलेन्सबाट ओर्लेर वीरेन्द्रलाई एम्बुलेन्स ब्याक गर्दै फर्केर भाग्न सल्लाह दियौं । एम्बुलेन्स जनकपुर फर्कियो । म र साथी घनश्याम मिश्र प्रेसको ज्याकेटमा थियौं । भिड हामी पत्रकारविरुद्ध जाइलाग्यो । घनश्यामजीलाई एक लाठी हान्यो । म खेततिर भागेर जोगिएँ ।

    मान्छे मरिसकेपछि एम्बुलेन्स लिएर आएको र पत्रकारले समाचार खोज्न आएको भनेर उनीहरू आक्रोसित भएका रहेछन् । हामीले उनीहरूलाई केही सम्झाउन वा साम्य पार्न सक्ने अवस्थामा थिएनौं । कसैगरी त्यहाँबाट फर्किन सफल भयौं । त्यो घटना सम्झिँदा अहिले पनि आङ सिरिङ भएर आउँछ । त्यो भिडका मान्छे को कहाँ र कसरी गन्तव्यतर्फ लागे प्रहरी पनि अनभिज्ञ छन् । उनीहरूमध्ये को संक्रमित थिए र कतिलाई सार्लान् त्यो अलगै कुरा भयो ।

    सीमामा कसैलाई सामान्य ज्वरो लागे सिटामोलधरि पाउन मुस्किल छ । बिस्कुट र पानीसम्म पाइँदैन । जति प्रयास गरे पनि वीरेन्द्रलाई बचाउन नसकिएकोमा म विक्षिप्त छु । राज्यले अर्को कसैलाई वीरेन्द्र जस्तै ज्याउन गुमाउन नदेओस्, मेरो बिन्ती छ ।
    (सिवेन्द्र रोहितासँग बाह्रखरीकर्मीले गरेको कुराकानीमा आधारित)
    ००००
    धनुषाको शहिदनगर नगरपालिका ९ का ३० वर्षीय वीरेन्द्र चार महिनाअगाडि रोजगारीको सिलसिलामा भारतको सुरत पुगेका थिए । होटलमा काम गर्ने उनी बन्दाबन्दीमा काम नपाएपछि केही सातासम्म त्यसै बसेर समय बिताए । होटल पुनः खुल्ने सम्भावना टाढिन थालेपछि कसैगरी गाउँ फर्किने प्रयासमा लागे । आउँदा–आउँदै बिरामी परेका उनी नेपाली भूमिमा प्रवेश नपाउँदै मृत्युवरण गर्नुपरेको हो । उनकी पत्नी, ३ वर्षीया एक छोरी र ६ महिने छोरा छन् । उनीहरूको भविष्य अन्धकारमा धकेलिएको छ ।

    वीरेन्द्रको मृत्युपश्चात् नेपाली सेनाले शववाहनमा प्रादेशिक अस्पताल पु¥याएको छ । पोस्टमार्टम गरियो । पीसीआर जाँचका लागि स्वाब संकलन गरियो । ती रिपोर्टहरू आएपछि विस्तृत आउला । तर, उनको ज्यान फर्किने छैन । सीमानाकामा भोकै बस्न बाध्य नागरिकको उद्धार गर्न जनप्रतिनिधिलाई फुर्सद छैन । गाउँ नगरसम्म आइपुगेकालाई क्वारेन्टाइनमा राख्न पनि हम्मे छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस