कोरोना महामारीका कारण मुसालाई पनि सास्ती !

एजेन्सी । कोरोना महामारीका कारण रेस्टुरेन्ट र होटलहरु लामो समयका लागि बन्द भएपछि यसबीच अमेरिकाका केही क्षेत्रमा मुसाका गतिविधि असामान्य रुपमा बढिरहेका बारे रोग नियन्त्रण तथा रोकथाम केन्द्र, सिडीसीले चेतावनी दिइरहेको छ । होटल र रेस्टुरेन्टले फाल्ने खाद्य फोहोर नै उनीहरुका लागि खानाको मुख्य श्रोत भएकाले पनि विशेषगरी शहरका व्यवसायिक क्षेत्रहरुमा अधिक सङ्ख्यामा मुसा देखा परिरहेको बताइएको छ ।

यस्तोमा मुसाहरु खाना खोज्दै मान्छेको वस्तीमा जाने क्रम बढेको पनि पाइएको हो । त्यसैले सीडीसीले तिनीहरु मार्फत सर्न सक्ने रोगबाट बच्न घर वरपर सरसफाइ लगायतका कुरामा विशेष ध्यान दिन पनि आग्रह गरेको छ ।

यसरी रेस्टुरेन्टहरु दुई महिना भन्दा बढी समय बन्द हुँदा खाना सम्बन्धी तनावकै कारण उनीहरुमा अनौठो आक्रामक व्यवहार पनि देखा परेको सीडीसीले जनाएको छ । गत महिना मात्र राष्ट्रिय स्वास्थ्य आयोगले सडकका मुसाहरुले केही खानेकुरा नपाएर आफ्नै बच्चा खाइरहेको पत्ता लागेको सम्बन्धी चिन्ता व्यक्त गरेको थियो ।

विशेषगरी न्युयोर्कमा तिनको व्यवहार आक्रामक हुँदै गएको बताइएको छ । न्यु अर्लिन्स र न्युयोर्कमा मुसाका अनौठा गतिविधि सिसिटिभी मा समेत कैद भएको थियो । त्यस्तै सिकागोमा पनि मुसा सम्बन्धी वासिन्दाहरुको गुनासो बढ्दै गएको बताइएको छ ।

यसअघि यही विषयमा सिबीएस न्युजसँगको कुराकानीमा टुर गाइड चाल्र्स मार्सलले भनेका हुन्, “एकदिन हिँडिरहेका बेला मैले अचानक सडकको बीचमा तीसवटा भन्दा बढी मुसाको भीड देखेँ । उनीहरु केही खान खोजिरहेका थिए ।” यस किसिमका घटनाबारे पछिल्लो समय धेरै खबर आइरहेको पाइएको छ ।

१९४९ को एक अध्ययनपछि न्युयोर्कमा ३६ जना मानिस बराबर एउटा मुसा रहेको पत्ता लगाएको थियो जुन १९५० मा बढेर एउटा मान्छे बराबर एउटा मुसा भएको थियो अर्थात मुसाको जनसङ्ख्या मान्छेसँग बराबर हुन पुगेको थियो । तर त्यसपछि फेरि घटेर चारजना मान्छे बराबर एउटा मुसा भएको हो । यसरी प्राकृतिक प्रकोपका समयमा मुसाहरुको जनसङ्ख्यामा बदलाव देखिनु सामान्य भएको सिडिसीले जनाएको छ । तापनि सबैले रोग र किटाणुबाट बच्न सावधानी अपनाउन सिडीसीको सुझाव छ । द गार्जियन