• The Public Today
  • लकडाउनमा मध्यम वर्ग ! (विचार)


    ✍️ राजु कुमार महतो


    ध्यम वर्गका मान्छेहरुको आफ्नै किसिमको जिवनशैली हुने गर्दछ । सन २०११ को जनगणणामा अधारित रेपोर्ट अनुसार नेपालको कुल जनसंख्याको २२% मध्यम वर्ग अन्तरगत पर्दछन् । यी वर्गका मान्छेहरु बिशेषतः आत्मनिर्भर भई आफ्नो जिवनशैली उकास्दै भविष्यप्रती चिन्तन गर्दै आफ्नो जिवनयापन गरिरहेका हुन्छन् । यी वर्गमा बिशेषतः साना एवम मध्यम खालका व्यवसाय गर्नेदेखि आधुनिक शैलीमा कृषी ब्यवसाय गर्ने लगायत शिपयुक्त भई वैदेशिक रोजगारमा होमिएकाहरु पर्दछन् । यी वर्गमा कयौ सरकारी कर्मचारीदेखि घरबहाल बालालाई नै मुख्य आयको श्रोत बनाएका हरु पनि पर्दछन् ।

    एउटा परिवार जब बिपन्न वर्गबाट मध्यम वर्गमा परिणत हुन्छ तब त्यस्ता परिवारले मीठो र राम्रो खाने देखि गुणस्तर शिक्षा र स्वास्थ्य लगायतका सुविधाहरु तिर आकर्षित हुँदै बिलाषी जिवनशैली अपनाउने गर्दछन् । यो वर्गको मानिसहरुमा अलग्गै किसिमको चिन्तन देखिन्छ । शिक्षा क्षेत्रमा हेर्दा आफ्नो बालबालिकाले कस्तो खालको गुणस्तरीय शिक्षा लिदैछ भन्दापनी उनिहरुको चिन्तन भने आफ्नो बालबालिका कतिको महगो विध्यालयमा पढ्छन् भन्ने हुन्छ । कुनै ठाउमा जानुपर्दा गन्तव्यमा पुग्यौ भन्दापनी कस्तो गाडिको प्रयोग गरि पुग्यौ भन्ने देखिएको छ । कुनै पर्व, त्योहार वा बिहेमा जादा कतिको रमाईलो गरियो भन्दापनी कतिको गहना लगाएर सहभागी भईयो भन्नुमा गर्व गर्ने मानसिकताको बिकास भएको अवस्थामा हुन्छन त्यस्ता मध्यमवर्गिय मानिसहरु । विलाषी जिवनशैली अपनाउने दौडमा हुने यश वर्गका मानिसहरु कसरी घर, गाडी र गरगहना जोडौ भन्ने कुराले सधै चिन्तामा हुन्छन । यश वर्गको मानिसहरु यस्तै सोचका कारण आफुभन्दा अरु कसैको आर्थिक स्थिती राम्रो हुँदै जादा स्वभाविक रुपमा आफ्नो स्थितीप्रती निराश भएको देखिएको छ । यश वर्गकाले अरुभन्दा आफ्नो जिवनशैली राम्रो र सुविधायुक्त छ भन्ने देखाउने दौडमा न त त्यो दौडलाई अन्त्य गर्नसकेका हुन्छन, न त कुनै राम्रो बचतनै गर्नसकेका हुन्छन । राम्रो खाना र सुकिलो लाउने देखाउदा देखाउदै कुनै आपद बिपत संग लड्न चाहिन सक्ने आर्थिक बचत भन्ने यिनिहरुसंग न्यून नै हुने गर्दछ ।

    अर्को तर्फ मध्यमवर्गिय किसानको पनि यस्तै कहानी रहेको छ । यिनीहरु पनी आफ्नो बालबालिका कुन देशमा(अमेरिका, अस्ट्रेलिया, जापन आदि) पढ्दै छ भन्ने गर्वको बिषय रहेको बनी ठान्दछन । यहाँ उनिहरुको स्थिती के छ, के गर्दैछन, समाजिक रुपमा कतिको मिलनसार छन भन्ने कुरालाई कुनै खास बिषय नमानिकन, छोराछोरी बस्ने देशको नामले नै परिवारको प्रोफाईल बन्ने मानसिक्ता भने बनेको देखिन्छ । यस्तो मानसिकताको विकाश भन्ने उनिहरुमा यही समाजले नै गरेको छ । देशमा विकाशको गति सुस्त रहदा भने मध्यम वर्गमा अझै धनी मात्रै हुने भोक जागेको देखिएको छ । यस्तो मनोबिज्ञानमा हुर्केका नयाँ पुस्तामा परिवर्तनको भोक र महत्वाकांक्षा नहुनु स्वभाविक नै छ । अहिले हाम्रो देशको स्थितिले गर्दानै यस वर्गकाले आफ्नो सन्तानलाई उद्यमी भई रोजगार सृजना गर्ने भन्दा राम्रो बिदेशिनु नै रहेको भनी सल्लाह दिदै आएका छन् । यस्ता मानसिकताले गर्दा भविष्यमा देशलाई दक्ष जनशक्तिको कमि नहुने भनि भन्न सकिँदैन ।

    वर्तमान समयमा यी वर्गका मानिसहरु भने अर्कै बाटोमा छन् । यी वर्गका लाई यो लकडाउन, कोरोना संक्रमण र राहत भने न निल्नु र न ओकल्नु भएको छ । कोरोना संक्रमणले पुरै विश्वनै आक्रान्त भएको अवस्थामा डब्लुएचओको सुझाव अनुसार हामीपनी सामाजिक दुरीलाई ध्यानमा राख्दै लकडाउनको पालना गर्दै सरकारलाई सहयोग गरिरहेका छौ ।

    यस लकडाउनले भने विभिन्न तीन सम्पन्न, मध्यम र बिपन्न वर्गमा अलग–अलग प्रभाव पारेको देखिएको छ । सम्पन्न वर्गलाई यस अवधिभरीलाई नै सुकिलो लाउन र मीठो खान पर्याप्त हुनुका साथै बिपन्न वर्गलाई पनी मद्दत गर्न समेत उनिहरुको बचतले धान्छ । विश्वकै अर्थतन्त्र खस्किदै जादा यस्ता वर्गलाई भने व्यापारमा अकल्पनिय क्षति भएपनी पुर्ण रुपमा ठप्प नहुने निश्चित रहेको छ । त्यस्तै बिपन्न वर्गलाई हेर्दाखेरी दैनिक ज्यालादारी गरि जिवनयापन गर्नेको रोजगारी जादा आर्थिक संकट सहित खानलाई पनि धौधो अवस्था आएको वा आउन सक्ने छ । यस्तो अवस्थामा यिनिहरुको जीवन समान्य बनाउन विभिन्न संस्था लगायत नेपाल सरकारले राहतको घोषणा गरि बाडेको पनि सर्वविदितनै छ । यद्धपी यी राहतले दुई महिना भन्दा बढिको लकडाउनलाई नधान्ने भएपनी यिनिहरुले मुख खोली राहतको माग गरि आफ्नो जीवन समान्य बनाउने प्रयास गरेको देखिन्छ ।

    तर मध्यम वर्गको भने आफैमा मर्नु न जिउनु बन्ने स्थिती रहेको छ । यिनिहरुको बिलाषी जिवनशैली अपनाउने पछाडिको श्रोतहरु जस्तै व्यापार, व्यवसाय, रोजगारी समेत बन्द भएको अवस्था सृजना भएको प्रष्टनै छ । यिनिहरु अहिलेको अवस्थामा आउदासम्म आफ्नो सम्पुर्ण वचत खर्चिसकेका छन् । अब तिनिहरुमध्ये कयौंको व्यापार बन्द भईसकेको अवस्था छ भने कयौं रोजगार बिहिन हुने भएका छन् । अरु सबै क्षेत्र बन्द हुँदापनि यिनिहरुलाई तिर्नुपर्ने ब्याज भने एउटा कालको रुपमा छदैछ । अहिलेसम्म कयौलाई खान नपुग्ने स्थिती समेत आएको हुनसक्छ तर यिनिहरुले आफ्नो देखावटी स्वाभिमानलाई पछाडी राखेर भने राहतको लागि अपिल गरेका छैनन् । सरकारले दिने राहत भने मुख खोलेर माग्दा इज्जत जाने डर उनिहरुमा छदैछ । समान्य मजदुरी गर्न संकोच मान्ने तर रोजगार र व्यापार नचल्दा मध्यम वर्गलाई भने विशेष मार परेको देखिन्छ । त्यसैले सरकारले यस्ता वर्गलाईपनी सुहाउदो राहत दिए उनिहरुको जिवनयापन पनि समान्य हुँदै जानेछ भन्ने मलाई लाग्दछ ।

    अर्कोतर्फ शहरमा बैंकबाट ऋण लिई घर बनाएर त्यही घर भाडामा लगाई बैंकको ऋण तिर्ने तथा जिवनयापन गर्नेपनी धेरै छन् । त्यस्ता वर्गका मानिसहरु संगपनि अलग्गै किसिमको दुविधा रहेको देखिन्छ । यस्ता ब्यक्तिहरुले यस महामारी अवधिभरी कै घरभाडा माफ गर्दा बैंकको ऋणमा डुब्नेदेखि खानलाई समेत धौधो हुने अवस्थाबाट गुज्रीनु पर्नेछ । अर्कोतर्फ बैंकले यी ब्याज माफ गर्यो भने पछि उच्च ब्याजदरको चपेटमा पर्ने भने यिनिहरु नै हुन् ।

    यस्ता घरबेटिहरुको घरमा भाडामा बस्ने मध्ये प्रायः बिद्यार्थी, दैनिक रोजगार गर्ने लगायत ससाना ब्यापारीहरु छन् । विद्यार्थीको पक्षमा हेर्ने हो भने धेरैजसो किसानकै छोराछोरीनै हुने गर्दछन् । अहिलेको अवस्थामा उब्जेको बाली बजारसम्म पुग्न नपाउदा खेतमा नै नष्ट गर्नुपरेको तितो यथार्थपनी छ भने अब लकडाउन पश्चात् यस्ता बिद्यार्थीसंग घरभाडा तिर्न भने आर्थिक समस्या देखिन्छ । आर्थिक समस्याको कारण कयौलाई भने आफ्नो पढाईपनी रोक्नुपर्ने हुनसक्छ । समान्यतया हेर्दा एक परिवारको दुई बच्चा काठमान्डौमा एउटा फल्याट भाडामा लिई बस्दा मासिक न्यूनतम बीस हजार तिर्नुपर्ने हुन्छ भने लकडाउन अवधिभरी मै लगभग साठ्ठी हजार तिर्नुपर्ने हुन्छ । यतातिर पैसा तिर्नुपर्ने हुन्छ भने अर्कोतिर व्यापार, रोजगार एवं कृषिमा आयआर्जन गुमेको हुन्छ । यस्तो अवस्थामा या त घरबेटिलाई कर्जाको बोझमा दबिनु पर्छ कि त कयौ बिद्यार्थीलाई आफ्नो पढाइ नै रोक्नुपर्ने अवस्था आउँछ होला । तसर्थः यस्ता समस्याहरुलाई पनि मध्यनजर गर्दा अब राहतको अर्को स्वरुप सरकारले ल्याउनुपर्ने अवश्यक्ता देखिएको छ । राज्यले कमसेकम बिद्यार्थीको पक्षमा निर्णय गर्छ भन्ने आशा राखेका छौ ।


    (लेखक महतो महोत्तरी युवा सञ्जालका सचिव हुन् । उनी सिभिल इन्जिनियर अध्ययनरत विद्यार्थी पनि हुन्।)


    क्याटेगोरी : मुख्य समाचार, विचार, समाज
    ट्याग : #विचार
    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस