• The Public Today
  • लकडाउनमा फेरियो बनरझुल्ला माविको मुहार (फोटोफिचर)


    • राजकरण महतो


    बर्दिबास, जेठ १८ गते । विद्यालय रुपान्तरणको प्रतिक्षामा रहेका महोत्तरीको बर्दिबास नगरपालिका—९ पशुपतिनगरका स्थानीयमा आशाको दियो बलेको छ । हालै राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा भौतिक पूर्वधारको काम धमाधम भइरहेको छ ।

    कक्षा कोठाको अभाव, शिक्षकको कमी, विद्यालय व्यवस्थान समिति विहिन्ताको समस्या हल हुदैं गएको छ ।

    बीस पटक बसेको बैठकले तीन महिना अघि रामजतन महतोको अध्यक्षतामा विद्यालयले विद्यालय व्यवस्थान समिति पायो । पाँच बर्षसम्म विद्यालयमा समिति नहुँदा विद्यालयको विकास अवरुद्ध भएको थियो ।

    विद्यालयमा व्यवस्थान समिति आएसंगै चालु आर्थिक बर्षमा ४५ लाख विकास बजेट ल्याएर भौतिक पूर्वधार निर्माणको काम भइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल, बर्दिबास नगरपालिका, सेभ द चिल्ड्रेन र सामुदायिक परिवार कल्याण संघ महोत्तरीको आर्थिक सहयोगमा विद्यालयमा विकास बजेट भित्रिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजतन महतोले जनाए ।

    तत्कालिन जिल्ला शिक्षा कार्यालय महोत्तरीको २४ लाख लागतमा मात्र छत निर्माण अलपत्र रहेको चार काठे भवनको निर्माण कार्य लकडाउनमै पुरा गरिएको छ । अलपत्र भवनलाई रंगरोगन गरेर रंगिचङ्गी बनाइएको छ । गर्मीमा बालबालिकाहरुलाई कक्षा कोठामा बसेर पढ्न सजिलो होस् भनि पंखाको व्यवस्था गरिएको छ ।

    त्यसैगरि विद्यालयमा हालै दुई कोठेपक्की भवनको छत ढलान गरिएको छ । अस्ति मात्रै एउटा बालविकास भवनको बर्दिबास नगरपालिकाका मेयर विदुर कुमार कार्कीले शिल्यान्यास गरेका थिए ।

    विद्यालयको रुपान्तरणका लागि पाँच बर्षदेखि निरन्तर काम गरिरहेका पशुपतिनगरका अमृत कुमार महतो विद्यालयको विकाश देखेर खुशी भएका छन् । उनी विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वधार, आर्थिक पारदर्शिताको अभियान चलाउँदा चलाउँदै उनी पत्रकार भएका छन् । उनी हाल महोत्तरीको पोस्ट् डटकम अनलाईका सञ्चालक छन् ।

    लामो समयपछि विद्यालयले नेतृत्व पाएपछि विद्यालय रुपान्तरणको बाटो अघि बढेको विद्यालयमा संचालित विकास निर्माणको निरिक्षणमा पुगेका बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीले जनाए ।

    ’विद्यालयको विकास देखेर अहिले मलाई नयाँ खालको अनुभुती प्राप्त भइरेको छ,’उनले भने,‘पशुपतिनगरका बुद्घिजिवी, शिक्षक, समाजसेवी,राजनीतिक दल र युवाहरुले जुन किसिमको भुमिका खेलेर विद्यालय बिकासको गर्ने मौका दिनु भएको हो, यसले गर्दा मलाई एक हिसाबको उत्साहित बनाएको छ ।’

    भौतिक पूर्वधारको समस्या समाधान गर्ने बताउँदै मेयर कार्कीले भने,‘विद्यालयमा आफ्ना बालबालिका पढ्न पठाउने अभिभावकलाई हामीले विश्वस्त पर्नै पर्छ कि मेरा बालबालिकाको भविष्य उज्वल हुन्छ ।’ गुणमा अधारित शिक्षाले देश निर्माणका लागि दक्ष जनशक्ति उत्पादन हुने उनले बताए ।

    शैक्षिक विकासका लागि मुख ताकेर बसेका पशुपतिनगरका गाउँलेहरु विद्यालयको विकास देखेर खुशी मात्रै होइन् चाँडै शैक्षिक गुणस्तर सहितको शिक्षण क्रियाकलाप आशा राखेका छन् । विद्यालय विकासको लागि सबै राजनितिक दलहरु एक जुट हुनु पर्ने बर्दिबास नगरपालिका—९ का वडा अध्यक्ष टेकवीर रखालले जनाए ।

    भौतिक पूर्वधारपछि अब गुणस्तरीय शिक्षण क्रियाकलापका लागि जुट्ने विद्यालय व्यवस्थान समितिका अध्यक्ष राम जतन महतोले बताउँछन् । उनको अनुसार विद्यालय विकासको ठोस योजना निर्माणका लागि इन्जिनियर लगाएर गुरु योजना बनाई रहेको छ ।


    क्याटेगोरी : फोटो फिचर, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस