• The Public Today
  • प्रेमको परिणाम प्रेम !


    सुनिता बराल

    समाज यही हो, भूगोल र बनोट यही नै हो ।

    कोही विलक्षण थिए जन्मदै तर रैती भए । कोही जिनमै नालायकी भए पनि शासक हुन पुगे । शताब्दीयौंको विभेदपछि जनता जागे र सबै सराबरी बनाए । । एउटै भूगोलभित्र जन्मने सबै समान हक, भोग, उपयोग सबै सबै ।

    त्यसैका लागि सयौं आन्दोलन विद्रोह भए । शासन बदलियो । आसनमा बस्ने बद्लिए । दुर्भाग्य, मानसिकता र चेतना भने उस्ताको उस्तै !

    हेरौँ त यो रुकुमको कहाली लाग्दो कथा !

    एउटा तस्बिर देखियो, किशोर खिस्स हाँसेको । टाउकोमा ढाकाटोपी, झोलामा नेपालको झन्डा । ती रहेछन् जाजरकोटका नवराज बिक ।

    समाचार भन्थ्यो – ’प्रेम सम्बन्धले ज्यान लियो’ । हेर्ने सबैको मन पोल्ने तस्बिर र समाचार ।

    प्रेमको जवाफमा हत्या ! एक्काइसाैँ शताब्दीमा त कल्पनामा पनि हुन सक्दैन । यो त बर्बर ढुङ्गे युगको अभ्यास हो । तर्क गरिएला हुल बाँधेर किन गए ? एक्लै गएको भए आज सायद समाचारमा उनकोे नाम आउँदैन थियो । जे भयो यो युगै सरमले झुक्ने काम भयो ।

    केटीकी आमाले जात उड्केर गाली गर्दै लखेटेकाले पनि यो हत्या निःसन्देह जातपात र छुवाछुतकै परिणाम हो । संलग्न जो भए पनि कठोर कानुनी कार्यबाही हुनुपर्छ । रुपन्देहीको देवदहमा १३ वर्षीया कथित तल्लो भनिएको जातकी किशोरी शान्ती पासीको पनि हत्या नै गरिएको उनकी आमाले किटानी जाहेरी दिएकी छिन् ।

    कथित माथिल्लो जात भनिएका वीरेन्द्र भरले बलात्कार गरेपछि समाजले उसैको घरमा भित्र्याउने निर्णय गरेछ । पछि ती कथित उच्च जातका वीरेन्द्रकी आमाले भित्रिन नदिने भनेर तर्साएपछि ती किशोरीको हत्या गरिएको हुनुपर्छ । सत्य त अनुसन्धान पछि आउने नै छ ।

    यी दुवै प्रतिनिधि घटना हुन् जातिगत विभेदको । यीनले पहाड र तराई सबैतिर यो कलंकित मानसिकताको पोल खोलेका छन् ।

    हामीले सबै मानिस समान भनेर संविधानमा लेख्यौँ । कानुन  बनायौँ, नीति बनायाैँ । राजनीतिक व्यवस्था बदल्यौँ । अवस्था बदल्यौँ । तर, मानसिकता बदल्न सकेनौ । चेतना बदल्ने आन्दोलन त बाँकी नै रहेछ ।  नेपालको संविधान, २०७२ को प्रस्तावनामै जातीय छुवाछुत अन्त्य गर्ने उल्लेख छ । विसं २०६३ मै देश छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको थियो । अन्तरजातीय विवाह वा सम्बन्धकै नाममा नवराजहरुको हत्या भइरहेकै छ ।

    विसं २०६८ भदौमा दैलेखका सेते दमाईलाई गैरदलितहरूको समूहले खुकुरीले छातीमा हानेर हत्या मार्यो । त्यस घटनामा पनि सिंगो गाउँ नै दलित परिवारमाथि खनिएको थियो ।  विसं २०६९ असारमा धादिङ पीडा– ५ मूलखर्कमा दलित युवकले सुवेदी थरकी युवतीसँग प्रेम विवाह गरेपछि गैरदलितहरूले सिंगो दलित बस्तीमाथि आक्रमण गरे । आक्रमणबाट दलितबस्ती नै विस्थापित भयो ।

    विसं २०७३ मा काभ्रेका अजित मिजार पनि अन्तरजातीय विवाहकै कारण मारिए । उनको शव अझै शिक्षण अस्पतालमा छ । परिवारले हालसम्म न्याय पाएका छैनन् । विसं २०७७ सालमा रुकुमकै टीकाराम बिकले अन्तरजातीय प्रेममा सहयोग गर्दा ज्यान गुमाए । विसं २०७५  सालमा कैलालीकी माया बिकको बलात्कारपछि हत्या भयो । सोही साल मोरङकी रुपमती कुमारी दासको अपहरणपछि  बलात्कार गरेर हत्या भएको देखियो । त्यस्तै कास्कीकी श्रेया सुनारको बलात्कार पछि हत्या भयो ।

    सोही साल कालिकोटकी मना सार्कीलाई अछुत भनेर कुटपिट गरी हत्या गरियो । अनि त्यही वर्ष धनुषाकी रेसमा रसाईलीको पनि बलात्कारपछि जघन्य हत्या भयो । यी सबै कलंकित घटना हुन् ।

    काभ्रेमै २०७३ सालमा लक्ष्मी परियारलाई बोक्सीको आरोप लगाएर कुटपिटपछि हत्या भएको थियो । झापाकी अस्मिता सार्कीको प्रेम असफल हुँदाको घटना त सबैको मानसपटलमा ताजैछ । विसं २०७० सालमा तनहुँकी संगीता परियार पनि अन्तरजातीय प्रेमकै कारण मृत्युवरण गर्न बाध्य पारिएकी थिइन् ।

    यस्ता घटनाले सिंगो गैरदलित समुदायको चेतनाको स्तरमा प्रश्न उठाएका छन् । यो गैरदलित समुदायको मानवीय मूल्यप्रतिको प्रश्न हो । यो गैरदलित समुदायमा रहेको सामाजिकीकरण र रूपान्तरणको कमीको पनि प्रश्न हो । यसले सबै गैरदलितले आफ्ना सन्तान र आफूलाई अपराधी बनाउने कि मानवीयकरण गर्ने भन्ने प्रश्न उठाएको छ । राज्य वा समाज मौन बसे पनि चौरजहारी घटनाले वर्षौंसम्म पछ्याई रहनेछ ।

    अमर प्रेमको इतिहास लेखिनु पर्नेमा हामी कहाँ समाज रुपान्तरणको संक्रमणको चरणमा हत्या र अपराधका कथा लेखिनु कलङक हो । जो जहाँ छाैँ, त्यहीँबाट यो रुढीवादी प्रचलन र मान्यता नामेट अठोट गरौँ । चार्ली चाप्लिनले भनेका छन् – “कुनै कुभलो हुने काम गर्नमात्रै शक्ति चाहिन्छ अन्य कामको लागि प्रेम नै काफी छ ।’’  बाह्रखरी


    क्याटेगोरी : मुख्य समाचार, विचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस