• The Public Today
  • विरामी र सुत्केरीको ज्यान बचाउँन बर्दिबासका ४० जना युवाहरुद्वारा रक्तदान


    बर्दिबास, जेठ २३ गते । विगत ७३ दिन देखी जारी बन्दाबन्दीले रक्तसंचार केन्द्रमा रगत अभाव भएर अस्पतालमा भर्ना भएका विरामीहरुलाई समस्या हुनथालेपछि महोत्तरीको बर्दिबासमा चालिस जनाले रक्तदान गरेका छन् ।

    विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाईरसका कारण पर्याप्त मात्रामा रक्तदान कार्यक्रम सञ्चालन हुन नसकेपछि अधिकाशं रक्तसंचार केन्द्रहरुमा रगतको अभाव देखिन थालेपछि शारिरीक दुरी कायम राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

    रगत अभावका कारण निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै जनसहयोगी युवा सञ्जाल बर्दिवास, महोत्तरीले नेपाल रेडक्रस सोसाईटी बर्दिवास रक्त सञ्चार केन्द्रसंग समन्वय गर्दै रक्तदान कार्यक्रमको आयोजना थियो ।

    सञ्जाल सम्बद्घ सदस्य तथा अन्य दाता तथा निकाय संग आर्थिक, प्राविधिक लगायत सामाग्री संकलन गरि कार्यक्रमको आयोजना गरिएको हो ।

    “युवाको एकता, देशको सफलता” भन्ने नारा सहित सञ्चालित उक्त कार्यक्रम सिमित व्यक्ती तथा रक्तदाताको उपस्थितीमा रक्तदान गरिएको सञ्जालकी उपाध्यक्ष तथा रक्तदान कार्यक्रमकी संयोजक पुजा साहले बताइन् ।

    रक्तदान कार्यक्रममा सहभागी स्थानीय व्यवसायी दिपक कुमार श्रेष्ठले आफ्नो सानो सहयोगले अरुको जिवन सुरक्षित हुने भन्दै रक्तदान गर्न पाउँदा आफुलाई खुसी मिलेको बताए ।

    रक्तदान कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य शारदा थापाले संकटको अवस्थामा युवाहरु गरेको काम प्रशंसनिय रहेको बताइन् । ‘लकडाउनले रक्तदानका कार्यक्रमहरु आयोजन हुन सकेको छैन । तर, अस्पतालमा पुग्ने विरामीहरुलाई रगत चाहिरहेको छ । रगत अभावमा दुर्घटनाका घाइते र सुत्केरी महिलाहरुलाई चाहिने रगत अभावलाई पुरा गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ,’उनले भनिन् ।

    बर्दिबास नगरपालिका वडा नम्बर—१ का वडाध्यक्ष चुडामणी पाखरेलले आफू पनि रक्तदान गर्दै युवा सञ्जालको कार्यको प्रशंसा गरेका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, विविध, समाज
    ट्याग : #लकडाउनमा पनि रक्तदान
    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस