• The Public Today
  • डब्लूएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी


    जेठ २४ गते : ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट बाहिरिने चेतावनी दिएका छन् । उनले डब्लूएचओलाई यस्तो चेतावनी दिएको अधिकारीहरुले जानकारी दिएका छन् । डब्लूएचओले यस्तै व्यवहार गरिरहयो भने ब्राजिल डब्लूएचओबाट बाहिरिन सक्दछ, उनले भने ।

    उनले डब्लूएचओलाई राजनीतिक प्रभावमा परेर त्यस्तै प्रकारको भूमिका खेल्न लागेको आरोप पनि लगाएका छन् ।

    राष्ट्रपति बोल्सोनारोले देशमा लकडाउन खुला गरेकोमा डब्लूएचओले असहमति जनाउदै गलत भएको टिप्पणी गरेपछि उनले यस्तो चेनावनी दिएका हुन् । लकडाउन खुला गरेकाले ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या अत्याधिक बृद्धि भएको भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको थियो ।

    डब्लूएचओले सामाजिक दूरी कायम राख्ने कुरालाई बढी ख्याल गर्न पनि ब्राजिललाई आग्रह गरेको थियो । तर यस विषयमा राष्ट्रपति बोल्सोनारोले लामो समयदेखि असहमति राख्दै आएका छन् ।
    उनको यही असहमति र फरक मतका कारण तत्कालीन स्वास्थ्य मन्त्रीलाई पनि बर्खास्त गरेका थिए । मन्त्री लकडाउन लगाउने चाहने तर राष्ट्रपति बोल्सोनारोले भने लकडाउन लगाउन नहुने भनेकाले ती मन्त्री बर्खास्तीमा परेका हुन् ।

    लकडाउन खुकुलो बनाएकै कारणले ब्राजिल अहिले अरु धेरै देशहरुलाई समेत उछिनेर कोरोना भाइरसबाट संक्रमित हुने दोस्रो धेरै संख्या रहेको देशमा पुगेको छ । पछिल्लो विवरण अनुसार ब्राजिलमा अहिलेसम्म ६ लाख ४६ हजार ६ जना सङ्क्रमित भएका छन् भने, ३५ हजार ४७ जनाको मृत्यु भइसकेको छ ।

    सवैभन्दा धेरै संक्रमित र मानवीय क्षति भएको संयुक्त राज्य अमेरिकाले पनि यसअघि नै डब्लूएचओबाट बाहिरिने घोषणा गरेको थियो भने डब्लूएचओलाई दिदै आएको सहयोग कटौती गरेको थियो ।

    अमेरिकाको निर्णय आएको केही हप्तापछि दोस्रो धेरै संक्रमित र मानवीय क्षति भोगेको ब्राजिलले पनि उस्तै चेतावनी दिएपछि विश्वभरी नै नयाँ तरंग सृजना गरेको छ । रासस/एएनआई


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस