• The Public Today
  • कोरोना संक्रमण नियन्त्रण गर्न पाइलैपिच्छे चुक्दै सरकार


    काठमाडाैं, जेठ २७ गते । ३४ वर्षीय शेष अन्जारे क्वारेन्टाइनका नाइके हुन् । भारतको गुजरात अहमदाबादबाट १४ दिनअघि घर फर्केर क्वारेन्टाइन छिरेका अन्जारे समूहमा चल्तापुर्जा भएकाले उनलाई टोलीको नाइके तोकियो ।

    सरकारको मापदण्डअनुसार उच्च सुरक्षा सतर्कतासहित क्वारेन्टाइन सञ्चालन हुनुपर्ने हो तर पुरानो विद्यालयमा बनाइएको क्वारेन्टाइन रेखदेख गर्ने कोही सरकारी अधिकारी नभएपछि उनी आफैं अघि सरे र क्वारेन्टाइनको नाइके भए । अहिले त्यहाँ बसिरहेका २ सय ९ जनाको गुनासो सुन्ने काम उनैले गर्छन् । हुन त अन्जारे स्वयंसँग पनि गुनासोको ठूलो भारी छ तर बिसाउने ठाउँ छैन ।

    दिउँसो १२ बजे दक्षिणी सीमावर्ती सम्सी गाउँपालिकाको पर्सादेवाडस्थित राष्ट्रिय माध्यमिक विद्यालय पुग्दा अन्जारे छेवैको खेतको आली हुँदै क्वारेन्टाइन फर्किरहेका थिए । उनी त्यही आलीको बाटो भएर शौच गर्न अलि परको खोलामा पुगेर फर्किएका हुन् । ‘के गर्नु, एउटा ट्वाइलेट छ, २ सय १० जना छौं, जतिबेलै ट्वाइलेट जानेको लाइन हुन्छ,’ अन्जारेले कान्तिपुरसँग भने, ‘खप्न नसकेपछि खोलामा पुगेर आएँ ।’ उनीहरूलाई खोलामा पुग्न करिब १० मिनेट लाग्छ ।

    अन्जारे बिहान उठ्नासाथ शौच गर्न खोलामा पुग्छन् । खाना खाएर नुहाउन गाउँमै जान्छन् । खाना खाएपछि फुर्सदको समय क्वारेन्टाइन अगाडिको छाप्रोमा बिताउँछन् । १० वर्षदेखि भारतमा मजदुरी गर्दै आएका उनले पछिल्लो पटक डेढ महिना मात्रै काम गर्न पाए ।

    लकडाउनमा परेर घर फर्किंदा उनीसँगै क्वारेन्टाइनमा आएका ३३ जनासहित २ सय १० जना भारतबाटै आएका हुन् । उनीहरूलाई सीमाबाट क्वारेन्टाइनमा ल्याइएको हो । तर, क्वारेन्टाइन अव्यवस्थित हुँदा उनी थप जोखिममा परेका छन् । केही बेरपछि उनी स्कुलको गेटमा रहेको छाप्रामा बसेर गाउँलेहरू तास खेलेको हेरिरहेका थिए । ती गाउँले भने क्वारेन्टाइनबाहिरका हुन् ।

    विद्यालयको एकमात्र शौचालयमा घण्टौंसम्म पालो कुर्नुपर्ने भएपछि अन्जारेजस्तै अरू पनि दिसापिसाब गर्न, नुहाउन र समय बिताउन गाउँमै पुग्छन् । नजिकै रहेको अर्को क्वारेन्टाइनमा साइकल चढेर आउजाउ गर्छन् । आफ्नो क्वारेन्टाइन अघिल्तिरको चौतारामा बसेर गफगाफ गर्छन् ।

    मधेसमा खप्नै नसकिने गर्मी छ । झन् जस्ताको छाना भएको विद्यालयमा दिउँसो टिक्नै गाह्रो । क्वारेन्टाइनमा रहेकाहरू गर्मी छल्न विद्यालय आसपासको चौतारामा बस्छन्, नुहाउन कल खोज्दै गाउँतिर जान्छन् । क्वारेन्टाइनमा नुहाउने एकमात्र धारो छ, त्यसमा २ सय १० जनालाई नुहाउन कठिन पर्छ । शौचालयको छेउछाउ पुग्नै सकिन्न ।

    क्वारेन्टाइन बसाइको पहिलो दिन त उनीहरूले खानसमेत पाएनन् । भोकभोकै बस्न बाध्य भएपछि घरघरबाट खाना मगाएर खाए । क्वारेन्टाइनको समस्याबारे गाउँपालिका प्रमुख फारुक शेष, प्रदेश सांसद कौशल यादव र संघीय सांसद सुरेन्द्र यादवलाई फोन गरेरै जानकारी गराएको अन्जारेले बताए । ‘तर उनीहरूले हाम्रो कुरा सुनेनन्, सांसदहरूले त फोन नै उठाउन्नन्,’ उनी दुःख पोख्छन् ।

    क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नहुँदा खुला चौर रहेको विद्यालयमा गाउँका सर्वसाधारण भित्र प्रवेश गर्ने र क्वारेन्टाइनमा रहेकाहरू गाउँमा सजिलै हिँड्दा–डुल्दा संक्रमण फैलने जोखिम छ । सुत्ने व्यवस्था नभएकाले दिउँसो क्वारेन्टाइनमा बस्नेहरू राति सुत्न घर जाने गरेको स्थानीय बताउँछन् । ‘सुत्ने ठाउँ छैन, २ सय १० जनालाई जम्मा १७ वटा त्रिपाल र ३९ वटा तन्ना दिइएको छ, बाँकी भुइँमा सुत्ने हो,’ अन्जारेले भने, ‘पानी पर्दा जस्ताको छानो चुहिएर सबै जना भिजिन्छ, रातभरि बरन्डामा ओत लाग्नुपर्छ । खुला क्वारेन्टाइन व्यवस्थित नरहेको र वर्षामा राति सुत्न समस्या भएपछि क्वारेन्टाइनमा बसिरहेकाहरूमध्ये कतिपय सुत्न घर जाने गरेको अन्जारेले स्विकारे ।

    उक्त क्वारेन्टाइनमा अहिलेसम्म ९९ जनाको मात्रै पीसीआर परीक्षण भएको छ । रिपोर्ट आइसकेको छैन । गाउँमा आवतजावत र सामाजिक दूरी पालन नहुँदा क्वारेन्टाइनमा बसेर पनि कोरोना संक्रमण फैलिन सक्ने खतरा बढेको २५ वर्षीय शेष मोहम्मद नुराइनले बताए । ‘क्वारेन्टाइन त घरभन्दा पनि असुरक्षित छ,’ उनले भने, ‘एउटै कक्षाकोठामा त्रिपालमा कोचिएर सुत्दा, बस्दा, खाँदा झन् असुरक्षित भएको छु । नुहाउने र लुगा धुने साबुन, शौचालय, धारा, बत्ती, पंखा केही छैन,’ उनले भने । उनले निद्रा नलागेपछि रातभरि मच्छड मारेर बस्नुपरेको बताए ।

    भारतबाट आएकाहरू सरकारको निर्देशन पालना गर्नमात्रै कष्ट र जोखिम मोलेर क्वारेन्टाइनमा बसेको नुराइनले बताए । ‘हामीले केवल सरकारको निर्देशन पालना गरेका हौं,’ नुराइनले भने, ‘क्वारेन्टाइनमा कति असुरक्षित छौं, हामीलाई मात्रै थाहा छ ।’

    क्वारेन्टाइनको सामान्य मापदण्डसमेत पूरा नगर्दा कोरोनाको उच्च जोखिममा रहेको र भारतबाट आएका नेपाली मजदुर क्वारेन्टाइनमा भात खाएर राति सुत्न घर पुग्दा गाउँमा जोखिम बढेको पर्साको देवाड स्वास्थ्य चौकीका इन्चार्ज सुखचन्द्र यादवले बताए । वडा नं. २ मा तीनवटा क्वारेन्टाइन स्थापना गरिए पनि व्यवस्थापन फितलो भएको इन्चार्ज यादवले स्विकारे । ‘गाउँपालिका कार्यालयले क्वारेन्टाइनको व्यवस्थापन गर्न वडालाई जिम्मा दिएको छ,’ उनले भने, ‘त्यसका लागि पेस्की दिइएको छ तर एउटा वडामा मात्रै ६ सय जना क्वारेन्टाइनमा आउँदा व्यवस्थापन हुन सकेन । विद्यालयको खुला चौरमा घेराबेरासमेत गराउन सकिएन ।’ क्वारेन्टाइनमा रहेकाहरू शौचालय र नुहाउने बहानामा घरसम्म पुग्ने गरेको उनले बताए ।

    सरकारको नियम पालना गर्न आफूहरू रातभरि मच्छड मारेर क्वारेन्टाइनमा बस्न बाध्य भएको २५ वर्षीय अम्बर भाइले बताए । ‘न ओछ्यान छ, न झुल पाएका छौं,’ अम्बरले भने, ‘एउटै त्रिपालमा १० जना सुत्छौं तर झुल नभएकाले रातको समय लामखुट्टे धपाउँदै रात बित्छ ।’ २ सय १० जना व्यक्तिमा कतिपय ओछ्याउने त्रिपालसम्म नपुगेपछि स्कुलका डेस्क, बेन्च र बाहिर पिँढीको चिसो भुइँमा सुत्न बाध्य छन् । टोलका बच्चादेखि बूढापाकासमेत क्वारेन्टाइनमा बसेका आफन्तलाई सहजै भेटेर भलाकुसारी गर्छन् ।

    त्यहाँबाट ५ मिनेटको दूरीमा रहेको अनबारे रेजा मदरसामा सञ्चालित क्वारेन्टाइनको अवस्था पनि उस्तै छ । ४० जना व्यक्तिलाई राख्न सकिने क्षमता भएको रेजा क्वारेन्टाइनमा गाउँपालिकाले १ सय ६५ जनालाई खाँदेर राखेको छ । जिल्लामा स्वाब परीक्षण गर्ने किट सीमित मात्रै आउने भएकाले क्वारेन्टाइनमा एउटै व्यक्तिलाई एक महिनासम्म राख्नुपर्दा भीड घटाउन नसकिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए । क्वारेन्टाइनमा दुई साता बिताइसकेकाहरूको पनि स्वास्थ्य जाँच हुन नसकेपछि आफूले किट उपलब्ध गराउन प्रदेशमा पहल गरिरहेको उनले बताए ।

    क्वारेन्टाइनमा सुरक्षा व्यवस्था नहुँदा व्यक्ति राति घर जाने गुनासो आएकाले सकेसम्म सबै क्वारेन्टाइनमा सुरक्षा व्यवस्था मिलाउन आफू लागिपरेको उनको भनाइ छ ।
    गाउँपालिकाका स्वास्थ्य संयोजक सञ्जय यादवका अनुसार सम्सीको १६ क्वारेन्टाइनमा १ हजार १ सय २४ जना छन् । सबै क्वारेन्टाइनको अवस्था राष्ट्रिय माविको जस्तै हो । महोत्तरीका ८७ क्वारेन्टाइनमा ३ हजार ४ सय २ जना बसेका छन् । ९ सय ५२ जना होम क्वारेन्टाइनमा छन् । महोत्तरीमा १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    संक्रमितको संख्या बढ्दै जाँदा पनि भारतसँग सीमा जोडिएको सम्सी गाउँपालिकाको यो अवस्थाले क्वारेन्टाइन व्यवस्थापनमा सरकारले गरेको तयारीलाई गिज्याइरहेको छ । भेडाबाख्राझैं खाँदाखाँद गर्नुपर्दा त्यसले निम्त्याउने अरू समस्याको आकलन हुन सकेकै छैन । तर भारतबाट आएका आफ्ना नागरिकको यो हालत हुँदा पनि स्थानीय तहका पदाधिकारी क्वारेन्टाइनमा फर्किएर गएका छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस