तापसी १२ महिनामा सर्वाधिक कमाइ गर्ने नायिका

जेठ २६ गते : बलिउडमा नायिका तापसी पन्नुको क्रेज चुलिँदै गएको छ । तापसीको स्पष्ट बोल्ने शैली र फरक कथामा रुचिका कारण पनि उनी चर्चित छिन् ।

उनै नायिकाको पछिल्लो एक वर्षमा पाँचवटा चलचित्र रिलिज भएका छन् । यी ५ चलचित्रको व्यापारिक आँकडा हेर्ने हो भने तापसी, सर्वाधिक कमाइ गर्ने बलिउड नायिका बनेकी छिन् ।

तापसीले यो कुराको जानकारी पाएसँगै लेखेकी छिन्–‘ओहो, राम्रो । मलाई यो कुराको महसुस नै भएको थिएन । मलाई लाग्छ कि क्वारेन्टिनको यो समय रोकेर पछाडि हेर्दै आफ्नो यात्रा सम्झिएर खुसियाली मनाउन आवश्यक छ ।’

तापसीले अभिनय गरेका पछिल्ला पाँच चलचित्रहरूमा ‘बदला, गेम ओभर, मिसन मंगल, साँड कि आँख, थप्पड’ छन् । ‘गेम ओभर’ बाहेक तापसीका सबै चलचित्रलाई समीक्षकले पनि रुचाएका थिए ।

तापसी चलचित्रको पर्दामा आफूलाई फरक पात्रको रुपमा प्रस्तुत गर्न अग्रसर छिन् । यसैले पनि उनलाई फरक–फरक भूमिकामा दर्शकले पर्दामा हेर्न पाएका छन् ।