बागलुङमा कोरोना संक्रमित बढी

प्रतिकात्मक तस्वीर

बागलुङ, जेठ ३० गते : गत चैत १५ मा यहाँ पुष्टि भएको कोरोना भाइरस सङ्क्रमणको घटना गण्डकी प्रदेशको पहिलो र देशकै पाँचौँ थियो । बेल्जियमबाट फर्किएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीमा कोरोना देखिएको साता दिन नबित्दै चैत २० मा सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा पनि सङ्क्रमण पुष्टि भयो ।

उनीहरु चैत ४ मा बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ विमानबाट सँगै नेपाल फर्केका थिए । अहिले भने कोरोनालाई जितेर दुवै सामान्य जीवनमा फर्किसकेका छन् । दोस्रो सङ्क्रमण पुष्टि भएयता ५५ दिनसम्म जिल्लामा कोरोना देखिएन । ५६औँ दिनमा आएर गत १४ गते तमानखोला गाउँपालिकाका चार र बडिगाड गाउँपालिकाका दुई युवकमा कोरोना पुष्टि भयो । भारतबाट आइ स्थानीय क्वारेन्टिनमा बसेका बेला उनीहरुमा सङ्क्रमण देखियो ।

त्यसयता जिल्लामा लगातारजसो सङ्क्रमित थपिन थाले । २२ गते १०, २४ गते एक, २५ गते १० र २७ गते ११ जनामा कोरोना पुष्टि भयो । हालै भारतबाट आइ क्वारेन्टिनमा बसेका व्यक्तिको कोरोना परीक्षण थालिएसँगै सङ्क्रमित बढे । हालसम्म सङ्क्रमितको सङ्ख्या ४० पुगेको छ । जुन गण्डकी प्रदेशकै सबैभन्दा उच्च हो । प्रदेशका कूल १४७ सङ्क्रमितमध्ये स्याङ्जामा ३८, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ३७, गोरखामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँमा तीन, म्याग्दीमा तीन र लमजुङमा एक छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीको मुस्ताङ र मनाङमा अहिलेसम्म सङ्क्रमित भेटिएका छैनन् । कोरोना देखिएका नौ जिल्लामध्ये बागलुङ बढी प्रभावित बन्न पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार भारतबाट आएका एक हजार ६०० बढी स्थानीय तहका क्वारेन्टिनमा छन् । तीमध्ये ५०० जतिको स्वाब परीक्षणका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइए पनि रिपोर्ट आएको छैन । स्वाबको चाप प्रयोगशालाको न्यून क्षमताका कारण रिपोर्ट ढिलो आउँछ ।

यसअघि क्वारेन्टिनमै रहेका करिब ४०० जनाको पिसीआर विधिबाटै कोरोना परीक्षण गरिएको प्रमुख गुरौले बताए । गत दुई सातायता पुष्टि भएका सङ्क्रमित तिनैमध्येका हुन् । “क्वारेन्टिनको बसाइ पूरा गरेका कतिपयलाई आरडिटी गरेर भए पनि घर पठाइएको छ”, उनले भने ।

भारतबाट आउनेको सङ्ख्या दैनिक बढ्दो छ । त्योसँगै सङ्क्रमण अझै बढ्न सक्ने आँकलन गरिएको छ । तेस्रो मुलुकबाट समेत जिल्ला फर्कने क्रम शुरु भएकाले क्वारेन्टिन व्यवस्थापनमा चुनौती थपिएको छ । जिल्ला कमाण्ड पोष्टले विदेशबाट आउनेको सम्भावित सङ्ख्या यकिन गर्न सकेको छैन ।

बडिगाड गाउँपालिकाको क्वारेन्टिनमा अहिले २५० छन् । तीमध्ये २०० को स्वाब लिइए पनि कोरोना परीक्षणको रिपोर्ट आएको छैन । अन्यको स्वाब लिनै बाँकी छ । “दैनिक पाँच-सात जना भारतबाट आइरहनुभएको छ”, गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भने, “कोरोना परीक्षण जटिल बन्दै गएको छ ।”

अध्यक्ष पाइजाका अनुसार बडिगाडबाट भारतमा रोजगारी गर्न जानेको सङ्ख्या चार हजारभन्दा बढी छ । तेस्रो मुलुक पुग्नेको सङ्ख्या अझ धेरै छ । बडिगाडमा जिल्लाकै सबैभन्दा बढी १५ सङ्क्रमित भेटिएका छन् । जसमध्ये १९ र २० वर्षका दुई युवक बुधबार कोरोनामुक्त बनेर घर फर्किसकेका छन् ।

उनीहरुसँगै तमानखोलाका २७ वर्षीय दुई युवक पनि धवलागिरि अस्पतालबाट ‘डिस्चार्च’ भएका थिए । योसँगै जिल्लामा कोरोना लागेर निको हुनेको सङ्ख्या छ पुगेको छ भने बाँकी ३४ जनामा सक्रिय सङ्क्रमण छ । सङ्क्रमित थपिन थालेपछि क्वारेन्टिन, आइसोलेसन व्यवस्थापनमा जिल्ला कमाण्ड पोष्ट र स्थानीय तह जुटेका छन् । सदरमुकामस्थित धवलागिरि अस्पतालमा श्यया अपुग भएपछि सङ्क्रमितलाई धवलागिरि बहुमुखी क्याम्पसको ‘प्रिआइसोलेसन’ राखिएको छ ।

निसीखोला गाउँपालिकाका तीन र ढोरपाटन नगरपालिकाका एक सङ्क्रमित भने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा छन् । केही दिनअघि जिल्ला कमाण्ड पोष्टले क्याम्पससहित बुर्तिवाङ, गलकोट र कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसनकक्ष सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बुर्तिबाङको आइसोलेसनकक्षमा पुरुषका लागि २० र महिलाका लागि पाँच श्यया छुट्याइएको छ । बडिगाडलगायतका स्थानीय तहले आइसोलेसनकक्ष निर्माणमा अग्रसरता देखाएका छन् । “हामीलाई बजेट र जनशक्ति दिए गाउँपालिकामै आइसोलेसन तयार गरेर सङ्क्रमितको उपचार गर्न तयार छौँ”, बडिगाडका अध्यक्ष पाइजाले भने ।

तत्काललाई बडिगाड, तमानखोला, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका सङ्क्रमितलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र अन्य छ स्थानीय तहका सङ्क्रमितलाई धवलागिरि अस्पताल र क्याम्पसको ‘प्रिआइसोलेसन’ कक्षमा राख्ने निर्णय गरिएको छ ।

गलकोट र कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि छिट्टै आइसोलेसनकक्ष तयार हुने जिल्ला कमाण्ड पोष्टले जनाएको छ । हाल धवलागिरि अस्पतालको आइसोलेसनमा १३, बुर्तिवाङमा चार र बाँकी सबै धवलागिरि क्याम्पसको ‘प्रिआइसोलेसन’मा छन् ।

आइसोलेसनमा रहेका सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए । कसैलाई पनि कोरोनाको लक्षण नदेखिएको उनको भनाइ छ । सङ्क्रमित सबै चिकित्सकीय निगरानीमा छन् । नियमित स्वास्थ्य जाँच भइरहेको छ ।

पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र सङ्क्रमितलाई घर पठाउने गरिएको छ । अबदेखि लक्षण नदेखिए आइसोलेसनमा बसेको १४ दिनपछि बिनापरीक्षण डिस्चार्ज गर्न मिल्ने गरी नयाँ निर्देशिका आएको उनले बताए । रासस