• The Public Today
  • कोरोना परीक्षणको दायरा बढाउन २५ थान पिसिआर मेसिन ल्याइँदै


    काठमाडाैं, जेठ ३१ गते । दैनिक १२ हजारबराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ ।

    पिसिआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पिसिआर मेसिन र १० थान पोर्टेवल पिसिआर मेसिन आयात गर्न लागेको हो ।

    पिसिआर परीक्षणको दायरा बढाउनका लागि ती मेडिकल सामग्री आयात गर्न लागिएको बताइएको छ । ती सबै सामग्री आयात भएपछि दैनिक १२ हजारजनाको स्वाब परीक्षण गर्न सकिने र कोरोना नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ । सरकारले समेत पिसिआर परीक्षणको दायरा बढाउने तयारी थालेको छ ।

    सरकारले आगामी असार १५ गतेदेखि दैनिक १५ हजारजनाको पिसिआर परीक्षण गर्ने तयारी गरेको सङ्घीय संसद्मा समेत यसअघि नै जानकारी गराइसकिएको छ ।  लकडाउनलाई क्रमशः खुकुलो बनाउने र परीक्षणको दायरासमेत बढाउने तयारीका बीच निजी क्षेत्रले समेत त्यसमा आडभरोसा प्रदान गर्न लागेको हो ।

    ती सामानको आयातपछि देशभर क्वारेन्टिनमा रहेकाको परीक्षणमा समेत थप  सहज हुने जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म एक लाख २१ हजार ८६२ जनाको पिसिआर परीक्षण भएको छ भने आरटिडी परीक्षण एक लाख ८८ हजारको भएको छ । देशभर एक लाख ५८ हजार ५० जना क्वारेन्टिनमा रहेका छन् । यसअघि पनि विद म्यानेजमेन्टले दुईपटक गरी पाँच लाख थान आरटिडी, मास्क तथा अन्य मेडिकल सामग्री आयात गरेको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस