• The Public Today
  • विज्ञको सुझाव : कोरोना संक्रमणबाट सञ्चारकर्मी कसरी बच्ने ?


    कोरोना भाइरस संक्रमण महामारीको कारण अमेरिका, ब्राजिल, बेलायत, स्पेन लगायतका देशमा ५ मईसम्म ६४ जना पत्रकारको मृत्यु भएको छ भने हजारौं पत्रकार गम्भीर रुपमा संक्रमित भएका छन् ।

    छिमेकी देश भारतमा सयौं पत्रकार संक्रमित भएका समाचार आइरहेको छ । नेपालमा पनि केही पत्रकार संक्रमित भएका छन् ।
    स्वास्थ्यकर्मीजस्तै सञ्चारकर्मी पनि जोखिम वर्गमा पर्छन् । स्थलगत रिपोर्टिङदेखि नजिकको दूरीमा रहेर अन्तर्वार्ता लिनुपर्दा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ । संक्रमणबाट आफू बच्न, अन्य व्यक्तिलाई संक्रमण नसार्न तथा घरमा संक्रमण बोकेर नजानको लागि अत्यन्तै सतर्क रहेर आफ्नो काम गर्नु जरुरी छ ।

    कोरोना रोकथामका ४ मन्त्र पत्रकारले पनि अवलम्बन गर्नुपर्दछ । बाहिर निस्कँदा सही तरिकाले सधै मास्क, चस्मा तथा पञ्जा लगाउने, हरेक अवस्थामा ६ फिटको भौतिक दूरी कायम गर्ने, सकभर भीडभाडमा नजाने तथा नियमित रुपमा हात धुने बानीलाई जीवनशैलीको अंग बनाउनु जरुरी छ ।

    मिडिया हाउसको सवारीसाधन अत्यन्त व्यस्त हुने तथा धेरैले प्रयोग गर्ने भएकाले प्रत्येक पटक गाडीलाई साबुनपानी, क्लोरिन पानी, सोडियम हाइपोक्लोराइड वा ७०% अल्कोहल कन्टेन्ट निर्मलीकरण गर्ने पदार्थले सफा गर्नुपर्दछ । प्रयोग गर्नुपूर्व र प्रयोग गरेपछि माइक्रोफोन, मोबाइल फोन, क्यामेरा, कलम, कि रिङ, घडी, ब्याग आदिलाई उल्लेखित स्यानिटाइजरले सफा गरेर सफा टाबेलले धुनु पर्दछ ।

    रेलिङ, शौचालयको ह्याण्डील, चुकुल तथा अन्य ठाउँमा छुँदा त्यसलाई सफा गर्ने एवं प्रयोग गरेपछि साबुनपानीले हातधुने बानी बसाल्नुपर्छ । जहाँ पायो त्यहीँ नछुने, आँखा, नाक र मुखमा हात लैजाने बानी हटाउने एवं हरेक स्टाफलाई सुरक्षा सतर्कता पालन गराउने अभ्यास गर्नुपर्छ । १ जनाले मात्र लापरवाही गरेमा धेरैलाई संक्रमणको जोखिम हुने भएकाले सबै स्टाफको सुरक्षामा ध्यान दिनु जरुरी छ ।
    अन्तर्वार्ता तथा रिपोर्टिङ गर्दा आफू र आफ्ना सामान ६ फीटको दूरीमा राखेर कुरा गर्नुपर्छ ।

    शंकास्पद ठाउँमा आफ्नो ब्याग, क्यामेरा, क्यामेराको स्ट्याण्ड भुइँमा नराखेर आफैंले भिर्नु उपयुक्त हुन्छ । बस्ने बेलामा कम्तिमा बीचमा २ सिट खाली राखेर बस्दा भौतिक दूरी कायम हुन्छ । अन्तर्वार्ता वा फिल्ड रिपोर्टिङको लागि बढीमा २ जना मात्र जाने अभ्यास गर्नु सुरक्षित हुन्छ । आफ्नो खल्तीमा ह्याण्ड स्यानिटाइजर राखेर हातलाई र आफ्ना साधनलाई पटक–पटक सफा गर्नु जरुरी छ ।

    रुघा, खोकी, ज्वरो लगायतका कुनै पनि समस्या देखिएमा घरमा आराम गर्नुपर्दछ । कहिल्यै पनि भोको पेटमा रिपोर्टिङ गर्न जानु हुँदैन । पोषिलो खाना खाने, पटक–पटक प्रशस्त पानी पिउने, समयमा खाजा खाने, आराम गर्ने, बाहिर एक्स्पोज भएका कपडा दैनिक धुने तथा घर पुगेपछि आफ्ना सामान र कपडा धोएर, नुहाएर मात्र परिवारजनलाई भेट््नु सुरक्षित हुन्छ ।

    धेरैजसो सञ्चारकर्मीको ढिलो सुत्ने बानी हुन्छ । स्वस्थ रहन तथा रोगसँग लड्ने क्षमता बढाउनको लागि रातिमा ८–९ घण्टा सुत्नु आवश्यक हुन्छ । आफूले कुराकानी गर्ने व्यक्तिलाई रुघाखोकी वा ज्वरो छ भने वैकल्पिक व्यक्ति खोज्नु वाञ्छनीय हुन्छ । सकभर कुराकानी गर्दा चर्काे बोल्ने कामलाई प्रश्रय दिनु हुँदैन । जोडले बोल्दा संक्रमितको मुखबाट भाइरसको लोड धेरै बाहिर आउने सम्भावना हुन्छ । आफ्नो कार्यालय तथा कुराकानी गर्ने ठाउँमा झ्यालढोका खुला राखेर भेन्टिलेसनको पर्याप्त व्यवस्था गर्नुपर्छ । बन्द कोठामा भाइरस लामो समय रहन्छ । कार्यकक्षको भुइँ, टेबुल, कुर्सी, कम्प्युटर आदिलाई दिनको २ पटक राम्रोसँग सफा गरेर संक्रमणरहित बनाउनु पर्दछ ।

    अहिलेको डिजिटल दुनियाँमा सकभर प्रत्यक्ष भेट्नुभन्दा भर्चुअल कुराकारी गर्नु सुरक्षित हुन्छ । सरकार वा अन्य निकायले प्रेस सम्मेलन गर्दा डिजिटल प्रविधि अपनाउने तथा पत्रकारले पनि डिजिटल माध्यमबाट प्रश्न सोध्ने व्यवस्था गर्नुपर्दछ । स्थलगत रिपोर्टिङ पनि प्रबिधिबाट गर्नु सुरक्षित हुन्छ ।

    घरमा ज्येष्ठ नागरिक, दीर्घबिरामी, गर्भवती तथा सुत्केरी भएमा उहाँहरूसँग ६ फीटको भौतिक दूरी कायम गर्नुपर्छ । कोरोना संक्रमण लक्षणविहीन हुनसक्ने तथा लक्षण देखिनुपूर्व अरुलाई सार्ने सम्भावना धेरै भएकाले सधै सजगता अपनाउनुपर्दछ ।

    न्यूज ब्रेक गर्नको लागि भीडभाड गर्ने काम गर्नु हुँदैन । यो महामारीको समयमा सूचना तथा समाचारका द्वितीय स्रोतको अधिक प्रयोग गर्नु उपयुक्त हुन्छ ।

    कोरोना संक्रमणको कारण भएको आर्थिक हानी, सीमित कमाइ, परिवार पाल्नुपर्ने दायित्व तथा सधै पीडायुक्त समाचारमा व्यस्त रहँदा चिन्ता, तनाव, असुरक्षाबोध हुँदै डिप्रेसन हुनसक्छ । यो अवस्था रोकथाम गर्नको लागि सधै सकारात्मक सोच्ने, वास्तविकतालाई आत्मसात गर्ने, तनाव न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्ने तथा भविष्यप्रति आशावादी हुनुपर्दछ । स्वस्थ तन, प्रशन्न मन तथा दह्रो आत्मबल हाम्रो जीवनका सञ्जीवनी बुटी हुन् । नबिर्साै, सञ्चारकर्मीले समाचार बनाउने हो तर आफैं समाचार बन्ने होइन ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस