बन्दाबन्दीमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख

झापा, जेठ ३२ गते : जिल्लाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित गरिदिएपछि टोलवासी खरबुजा खेतीमा उत्साहपूर्वक लागे ।

यस वर्ष घरैपिच्छे गरिएको यो खेतीले स्थानीयवासीको आम्दानीस्तर उकासेको छ । उप्रेती आफैँले १५ लाखको खरबुजा बिक्री गरेको बताए । हरेक घरले कम्तीमा एक लाख र बढीमा १० लाखसम्म नाफा आर्जन गरेको किसानको नेतृत्व गरेका उप्रेतीले बताए ।

डिएण्डडी वायो प्लानटेक नामक संस्थामार्फत उप्रेतीले एक्लै खुरबुजा खेतीबाट लाखौँ आर्जन गरेको देखेर सिको गर्दै उनका छिमेकीहरुले यस वर्ष खरबुजा खेती गरेका हुन् । उप्रेतीका अनुसार टोलका एक दर्जन किसानले गरेको खरबुजा खेतीबाट ५० लाख रुपैयाँ आम्दानी भएको छ ।

डिएण्डडी वायो प्लानटेक नामक संस्थाबाटै टोलवासीले खरबुजाको बिरुवा लगेर आफ्ना बारीमा रोपेका थिए । विगतमा मकैखेती हुने गरेको जग्गामा यसपालि खरबुजा लहराएको थियो । किसानलाई प्राविधिक सहयोगसमेत उप्रेतीले नै प्रदान गरेका थिए ।

रोपेको ९० दिनमै खरबुजा फल्छ । गत वर्ष प्रतिकेजी रु ५० मा बिक्री भएको खरबुजा यसपालि बन्दाबन्दीका कारण प्रतिकेजी रु ३० मा बिक्री गर्नुपरेको थियो । तैपनि किसान नाफामै रहे । बन्दाबन्दी नभइदिएको भए खरबुजाबाट दोब्बर आम्दानी हुने किसानको भनाइ छ । उनीहरुले उत्पादन गरेको खरबुजा झापाबाहिर इटहरी, धरान र विराटनगरमा बिक्री भएको थियो ।

उप्रेतीले यस वर्ष ६० हजार खरबुजाको बिरुवा बिक्री गरेका थिए । उनको नर्सरीमा उत्पादित खरबुजाको बिरुवा चितवन, बारा, सिरहा, नवलपरासीलगायतका जिल्लाका किसानले खरिद गरेर लगेका थिए । रासस