• The Public Today
  • बजेटमा प्रतिपक्षलाई विभेद नगर्ने प्रदेश २ मात्रै हो : मुख्यमन्त्री राउत


    जेठ ३२ गते : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बजेट विनियोजन गर्दा सत्तापक्ष र प्रतिपक्ष भनेर विभेद नगरिएको बताएका छन् । उनले बजेटमा सत्तापक्ष र प्रतिपक्ष भनेर विभेद नगर्ने पहिलो प्रदेश प्रदेश २ नै भएको पनि दावी गरे ।

    प्रदेश २ को आगामी बर्षको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री राउतले अन्य प्रदेशमा प्रतिपक्षी सांसदलाई योजना दिए पनि सत्ता पक्षभन्दा कम दिएको बताए ।

    ‘तपाईंहरुको यो कुरा बुझ्नुस्, रेकर्ड लिनुस्, कुनै प्रदेशमा यहाँको जस्तो एकै किसिमको बजेट दिएको पाउनुहुन्न’ उनले भने, ‘हामी एकै परिवारजस्तै हौं, अन्य प्रदेशले नदिए पनि हामी शुरुदेखि नै उपलब्ध गराउँदै आएका छौं ।’

    मुख्यमन्त्री राउतले विदेशबाट फर्किएका नागरिकलाई रोजगारी दिनु अबको चुनौती हुने बताए । यद्यपी मुख्यमन्त्री रोजगार कार्यक्रमसहित विभिन्न कार्यक्रममा जोडेर उनीहरुलाई रोजगारी दिइने उनले बताए ।

    नीति तथा कार्यक्रम बहुमतले पारित

    आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले मात्र नीति तथा कार्यक्रमको पक्षमा मतदान गरे ।

    नेकपाका सांसदहरु सुन्दरबहादुर विश्वकर्मा, गोविन्दबहादुर न्यौपाने, दिलिप साह, सीता गुरुङ, रुबी कर्ण एवं नेपाली कांग्रेसका नरेशकुमार यादव र शिवचन्द्र चौधरीले नीति तथा कार्यक्रममाथि दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भयो ।

    सत्तापक्षका सांसद बाबुलाल साहले दर्ता गराएको संशोधन भने फिर्ता लिएका थिए । अनलाइनखबर


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस