• The Public Today
  • नेपाल-भारतबीचका असमझदारी वार्तामार्फत् समाधान गरिन्छ : भारतीय रक्षामन्त्री


    असार १ गते : भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारतबीचका असमझदारीलाई वार्तामार्फत् समाधान गरिने बताएका छन् ।

    भारतको उत्तराखण्डको जन-संवाद भर्चुअल र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, “नेपाल-भारत सम्बन्ध साधारण होइन, हामी रोटी-बेटीको सम्बन्धमा बाँधिएका छौं । विश्वको कुनै पनि शक्तिले हामीलाई अलग गर्न सक्दैन ।”

    उनले बोर्डर रोड अर्गनाइजेसनले लिपुलेकमा बनाएको सडकको धेरै भाग भारतीय भूभागमा रहेकोसमेत बताएका छन् । उनले थपे, “हाम्रो सम्बन्ध ऐतिहासिक र सांस्कृतिक मात्र छैन आध्यात्मिकसमेत छ । बाबा पशुपतिनाथलाई हामीले कसरी बिर्सन सक्छौं । बाबा पशुपतिनाथ होस् वा हाम्रो काशी विश्वनाथ, सोमनाथ यी सबैलाई अमरनाथसँग कसरी अलग गर्न सकिन्छ ? यो सम्बन्ध यो लोकको होइन, म यो सम्बन्ध अर्कै लोकको हो भन्नेमा विश्वास राख्छु । यो सम्बन्धलाई कसैले चाहेर पनि परिवर्तन गर्न सक्दैन ।’

    रक्षामन्त्री सिंहले नेपाली भूमि धार्चुला-लिपुलेक-मानसरोवर सडकबारे नेपालमा असमझदारी सिर्जना भएकोसमेत बताएका छन् । उनले मानसरोवर यात्रामा जाने तीर्थयात्रीले पहिले सिक्किमको नथुला पास हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब सीमा सडक संगठन (बीआरओ) ले निर्माण गरेको लिंक रोडमार्फत सहज यात्रा हुने बताए ।

    उनले आफ्नो सम्बोधनको क्रममा गोर्खा रेजिमेन्टकोसमेत प्रशंसा गरेको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । उनले भने, “भारतीय सेनामा गोरखा रेजिमेन्ट छ, जसले पटक-पटक शौर्य र पराक्रमको परिचय दिएको छ । त्यो गोरखा रेजिमेन्टको पनि यस्तै उद्घोष छ – जय महाकाली, आयो गोरखाली ।”

    आइतबार रक्षामन्त्री सिंहले जम्मु काश्‍मीरको भर्चुअल र्‍यालीलाई सम्बोधन गर्दै उनले भारतले सुरक्षा क्षमता बढाएको भन्दै अब कमजोर मुलुक नरहेको बताएका थिए । यसअघि पनि रक्षामन्त्री सिंहले नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै समाधान गर्ने बताएका थिए ।

    नेपालले आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर जारी गरेको नयाँ नक्सालाई संविधान संशोधनमार्फत निशान छापमा राखेपछि भारतीय रक्षामन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।

    यसअघि ८ मेमा रक्षामन्त्री सिंहले नै नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए । २० मेमा नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस