कारोना सङ्क्रमितको संख्या तीन मिनेटमा एकजनाका दरले थपिदै, मनाङमा पनि देखियो

कारोना सङ्क्रमितको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो तीन दिनमा हरेक ३ मिनेटमा एक जनाको दरले सङ्क्रमित थपिन थालेका छन् । गण्डकी प्रदेशमा गएराती ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा विभिन्न जिल्लाका ४२ जना र चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा पर्वतका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज नवलपरासीमा १८, तनहुँमा १२, पर्वतमा ५ , गोरखामा ११ र मनाङमा १ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म सुरक्षित रहेको मनाङमा भने कपिलवस्तु जिल्लाको वाणगंगा १४ स्थायी ठेगाना भई चामे गाउँपालिकामा कार्यरत कर्मचारी संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २९४ पुगेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार संक्रमित हुनेमा पर्वतको कुश्मा नगरपालिकाका ४२ वर्षिय एक जना पूरुष र २० वर्षिय एक जना महिला, फलेवास नगरपालिकाका ३० र ३७ वर्षका दुई जना पुरुष र मोदी गाउँपालिकाका ३० वर्षका एक जना पुरुष रहेका छन् । यस्तै नवलपरासीको मध्यबिन्दु नगरपालिकाका १९ देखि ४५ वर्ष उमेर समूहका १५, उमेर नखुलेका २ जना पुरुष र गैँडाकोट नगरपालिकाका २८ वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । तनहुँको ऋषिङ गाउँपालिकाका २० देखि ४० वर्ष उमेर समूहका ७ जना, शुक्लागण्डकी नगरपालिकाका १८ वर्षिय एक जना पुरुष, भानु नगरपालिकाका २२, ४२, ४० र ५२ वर्षका ४ जनामा कोरोना संक्रमण देखिएको छ । गोरखाको पालुङटार नगरपालिकाका २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पूरुष र ४० वर्षिय एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ भने गोरखाको शहिद लखन गाउँपालिकाका ५४, ३१, ३८ र २७ वर्षका चार जना पूरुषमा पनि संक्रमण पुष्टि भएको हो ।
यसैबीच, मनाङमा समेत कोरोना सङ्क्रमित भेटिएका छन् । मनाङका सङ्क्रमित कपिलवस्तुबाट पुगेका कर्मचारी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मनाङमा पहिलो पटक कोरोना सङ्क्रमण देखिएको हो । कर्मचारी रहेका उनी हालैमात्र घर गएर मनाङ फर्किएका बुझिएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा पुगेको छ । प्रदेश एकको ओखलढुंगा, गण्डकीको मुस्ताङ र वाग्मतीको रसुवामा भने अहिलेसम्म संक्रमण देखिएको छैन । हिजोमात्रै एकै दिन नेपालमा सबैभन्दा धेरै पाँच सय ८६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । नेपालमा कोरोना भाइरस सङ्क्रमित हुनेको संख्या सात हजार २ सय २४ पुगेको छ । यसैबीच, थप २ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । श्रोतः सि आई एन ।