• The Public Today
  • रियलको जितमा बेन्जेमाको दुई गोल


    असार ५ गते : स्पेनिस ला लिगा फुटबलमा करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल मड्रिडले सहज जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा रियलले भ्यालेन्सियामाथि ३–० गोलको सहज जित निकालेको हो ।

    रियलको जितका लागि बेन्जेमाले दुई गोल गर्दा मार्को एसेन्सियोले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियलले अग्रता लिएको थियो ।

    खेलको ६१ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले बेल्जियम स्ट्राइकर एडेन हाजार्डको पासमा उत्कृष्ट गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

    खेलको ७४ औं मिनेटमा रियलका लागि मार्को एसेन्सियोले गोल गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै एसेन्सियोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले फर्लान्ड मेन्डीको पासमा गोल गरेका हुन् ।

    ८७ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता ३–० को अन्तर पारे । उनले एसेन्सियोको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट कुनै थप गोल हुन नसक्दा खेलमा रियलले ३–० को सहज जित निकालेको हो ।

    यस जितसँगै रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी दुई अंकमा झारेको छ । रियलले २९ खेलबाट ६२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । समान खेल खेलेको बार्सिलोना ६४ अंकसहित शीर्ष स्थानमा छ । यता पराजित भ्यालेन्सिया ४३ अंकसहित आठौं स्थानमा छ । एजेन्सी


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस