• The Public Today
  • रुकुम घटनाबारे संसदीय समितिद्वारा सरोकार पक्षसँग छलफल


    असार ५ गते : रुकुम –पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको छानबिनका लागि सरकारले गठन गरेको संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट तथा छलफल गरेको छ ।

    घटनाको छानबिनका लागि सदरमुकाम मुसीकोट पुगेको टोलीले जिल्लाका राजनीतिक दल, अधिकारकर्मी, पत्रकारलगायतसँग बिहीबार छलफल गरेको हो ।

    समितिले गत जेठ १० गते छ जनाको मृत्यु भएको सोती घटनाका सम्भावित कारण, त्यसले उब्जाएको परिस्थितिलगायत घटनासंँग सम्बन्धित समसामयिक विषयवस्तुमा जिल्लास्थित सरोकार भएकाहरुको विचार एवं राय बुझ्नाका साथै सल्लाहसुझावसमेत लिएको छ ।

    सरोकार पक्षले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि चाल्नुपर्ने कदमका बारेमा सुझाव दिएको थियो भने समितिले यस्ता घटना हुन नदिनका लागि सरकारलाई आवश्यक सुझाव दिनुपर्नेमा जोड दिएको थियो ।

    प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिका सबै सदस्य सम्मिलित टोली जाजरकोट हुँदै घटनास्थल सोती गाउँ पुगेर सदरमुकाम मुसीकोट पुगेको हो ।

    टोलीले जाजरकोटमा पीडित परिवारसंँग भेट गर्नाका साथै त्यहाँका सुरक्षा निकायलगायत सरोकार पक्षसँग पनि छलफल गरेको थियो । त्यसपछि टोलीले घटनास्थल सोती गाउँमा पुगेर घटनाको स्थलगत अवलोकन तथा स्थानीयवासीसंँग घटनाका बारेमा जानकारी लिएको थियो ।

    सोती घटनाको छानबिनका लागि प्रतिनिभिसभाले सांसद पौडेलको संयोजकत्वमा नौ सदस्यीय विशेष छानबिन समिति गठन गरेको छ । समितिका सदस्य एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुुन्के, प्रकाश रसाइली, विमला विक, महेश्वरजङ्ग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादवलगायतको टोली घटनाको छानबिनका क्रममा रुकु(पश्चिम)मा छ ।

    यसअघि घटनाको छानबिनका लागि गठित गृह मन्त्रालयको टोलीले घटनाको स्थलगत छानबिन गरी काठमाडौंँ फर्केर सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । सोतीमा भएको घटनामा जाजरकोटको भेरी नगरपालिकाका पाँच र चौरजहारी नगरपालिकाका एक गरी ६ युवाको ज्यान गएको थियो ।

    उक्त घटनामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ । तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परेका छन् भने पाँच जना फरार छन् । बिहीबार प्रतिवादीको बयान सकिएपछि आज शुक्रबारदेखि अदालतमा उनीहरुको थुनछेक बहस शुरु हुँदै छ । रासस


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस