• The Public Today
  • बैबाहिक बर्षगाँठमा उदाहरणीय कामः निर्माणाधिन ‘चिल्ड्रेन पार्क’मा ईटा दान !


    • विजय कुमार सिंह


    ढल्केवर, असार ७ गते । जन्मदिन होस या बैबाहिक बर्षगाँठ । यी विशेष दिन एक न एकदिन हरेकको आँउछ र अधिकांशले मनाउँछ । तर तरिका फरक–फरक । बढदो आधुनिकतासंगै युवा पुस्तामा जन्मदिन या बैबाहिक बर्षगाँठलाई तडकभडक एवम खर्चिलो गरि मनाउने क्रम बढिरहेको छ भन्दा कुनै फरक पर्दैन ।

    तर महोत्तरीमा पछिल्लो दिनहरुमा केहि फरक देखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना(कोभिड–१९)को संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी गरिएको लकडाउनको समयमा महोत्तरीमा देखिएको केहि उदाहरणीय कामले निकै चर्चा पाएको छ ।

    लकडाउनमै केहि महिना अघि महोत्तरीको गौशाला नगरपालिका–१२ का १० बर्षिय मिसेल सिंहले मुसहर बस्तीमा राहत बाँडेर आफ्नो जन्मदिन मनाए ।

    त्यसको केहिदिनपछि गौशाला नगरपालिका–४ रजखोर घर भई बर्दिबासस्थित गौरीडाँडा बस्दैं आएका मनोज महतो र अमृता सिंहले आफ्नो वैवाहिक बर्षगाँठको अवसरमा जनसहयोगी युवा सञ्जाल बर्दिबासले लकडाउनमा भोका र सडक आश्रित ५० जनालाई वितरण गर्दै आएको खाजा कार्यक्रम अन्र्तगत एकदिनको खाजा खुवाउन लाग्ने खर्च व्यहोरेका थिए ।

    यसैक्रममा महोत्तरीको बर्दिवास नगरपालिकाका एक युवकले आफ्नो बैबाहिक बर्षगाँठ फरक तरिकाले मनाएका छन् । बर्दिवास नगरपालिका–१४ का रुपेश कुमार महतो र रञ्जु महतोले एक विद्यालय परिसरमा आफ्नो बैबाहिक बर्षगाँठको अवसरमा केक काटेका छन् ।

    विद्यालय परिसरमा बन्दै गरेको बाल उद्यानमा श्रमदान गरिरहेका जनसहयोगी युवा सञ्जालका युवाहरुवीच ती दम्पतीले केक काटेर खुशी साटे । त्यो विद्यालय हो बर्दिबास नगरपालिका –९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला ।

    बर्षगाँठको अवसरमा भने त्यहाँ कुनै पार्टी वा भोजभतेरको व्यवस्था थिएन । ती दम्पतीले पार्टी र भोजभतेरको सट्टा विद्यालय परिसरमा निर्माणाधीन बाल उद्यानमा ६० हजार बराबरको ६ हजार ईटा सहयोग गरेका छन् ।

    आफ्नो बैबाहिक बर्षगाँठको अवसरमा ६० हजार बराबरको ईटा बाल उद्यानमा सहयोग गरेर ती दम्पती अहिले उदाहरणको पात्र बनेका छन् ।

    गएको बुधवार विद्यालय परिसरमा प्रदेश सभासदस्य शारदा देवी थापा तथा बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीले शिलान्यास गरेपछि बाल उद्यानको निर्माण कार्य शुरु भएको छ ।

    विद्यालय निर्माण तपाई हाम्रो अभियान भन्दै विद्यालयको स्तरीय उक्सान यतिबेला महोत्तरीका जनसहयोगी युवा सञ्जालका युवाहरु सक्रिय भएका छन् ।

    लकडाउनमा भोका, सडक आश्रितहरुलाई खाजा खुवाउने, गरिब निमुखालाई घरघरमा राहत पु¥याएर स्थापना भएको छोटो समयमै निकै चर्चामा रहेका जनसहयोगी युवा सञ्जालले विद्यालयलाई सोन्दर्यीकरणका लागि विद्यालय परिसरमा बाल उद्यानको निर्माण गरिरहेको छ ।

    सहयोगी हातहरुको सहयोग र विद्यालय व्यवस्थापन समितिको सहकार्यमा सञ्जालका युवाहरुले विद्यालयमा बाल उद्यान (चिल्ड्रेस पार्क)को निर्माण गरिरहेका छन् ।

    ५० लाखको लागतमा निर्माण भईरहेको वाल उद्यान निर्माण परियोजनामा सबैको साथ र सहयोग आवश्यक रहेको जनसहयोगी युवा सञ्चालका अध्यक्ष परमेश्वर महतोले बताए । विद्यालयलाई सोन्दर्यीकरणका लागि बाल उद्यानको निर्माण गरिरहेको उनले जनाए । आजको ‘द पब्लिक टुडे’ दैनिकमा समाचार छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, विविध, समाज


    प्रतिक्रिया दिनुहोस