• The Public Today
  • जुम मिटिङमा पर्यटनमन्‍त्री बोल्दा-बोल्दै पोर्न भिडियो चलेपछि…


    काठमाडौं, असार ८ गते । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गर्‍यो ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, एक्कसी पोर्न भिडियो बज्न थाल्यो । अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो गतिविधि भएको हो ।

    भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए । पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो ।

    त्यसअगाडि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण विश्वका धेरैजसो देशहरुमा भेटेर बैठक गर्नुभन्दा जुम एपको प्रयोग गरी भर्चुअल माध्यमबाट बैठक हुने गरेको छ ।

    यस्ता बैठकमा पछिल्ला समयमा ह्याकरहरुले अनधकृतिक रुपमा ‘एक्सेस’ गरेर अश्लील भिडियो बजाइदिने पनि गरेका छन् । नेपालमा पनि यसको प्रयोग बढ्दै गर्दा यस्ता समस्या बढ्दै गएको छ । सुरक्षाका विषयलाई लिएर यो एपमाथि प्रश्न उठ्ने गरेको छ ।

    भारत सरकारले त यो एप सुरक्षित नभएको भन्दै प्रयोगसम्बन्धी निर्देशिका नै  जारी गरेको छ । यसअघि पनि धेरैपटक जुम एप बैठकमा गोपनीयताबारे प्रश्न उठेको थियो ।

    सिटिजन ल्याबले जुम एपमा महत्वपूर्ण कमजोरीहरु औंल्याएको छ । उसका अनुसार जुम बैठक प्रयोग गर्दा संवेदनशील जानकारीहरु सार्वजनिक गर्नु सुरक्षित मानिँदैन ।

    मिटिङको आईडी र पासवर्ड विभिन्न तरिकाबाट सेयर हुँदा त्यसको अनाधिकृत रुपमा चोरी गरेर ह्याकरहरुले यस्ता अश्लील भिडियोहरु बजाउने गरेका छन् । -अनलाइनखबर


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस