• The Public Today
  • सप्तरीमा चट्याङ् लागेर ४ जनाको ज्यान गयो


    सप्तरी, असार ११ गते । सप्तरीमा चट्याङ् लागेर चार जनाको ज्यान गएको छ ।

    बिहीबार बिहान वर्षासँगै परेको चट्याङ्ले जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    घरमा पूजा लगाएर एकाबिहानै सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का एक वृद्ध र युवकको सप्तकोशी नदी छेउमै मृत्यु भएको छ । २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

    बिहानै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका एक महिलाको चट्याङ् लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया ललितादेबी यादव रहेको भारतीले बताए ।

    यस्तै, राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको छ । घाइते भएका उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । घरमा काम गरिरहेको अवस्थामा चट्याङ्ले घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस