• The Public Today
  • महोत्तरी: ‘कर्भड हल’ निर्माणमा ५० बर्ष पुरानो ईटाको प्रयोग


    • राजकरण महतो


    गौशाला, असार १४ गते । स्थानिय तहमा अहिले असारे विकासको लहर चलेको छ । वर्षभरी योजना बनाएर बसेका अधिकांश जनप्रतिनीधीहरु आर्थिक वर्षको अन्तिम मसान्त अर्थात असार महिना आएपछि विकास निर्माणका कार्यहरु गरेर जनतामाँझ चर्चामा आउने प्रयासमा हुन्छन् । गुणस्तरिय विकास निर्माण कार्य गर्नुको साटो कमसल निर्माण सामग्री प्रयोग गरेर विकासको नाममा अधिकांश स्थानिय तहहरुमा ठुलो मात्रामा बजेट रकम हिनामिना गर्ने तथ्यहरु समयसमयमा बाहिर नआएका होइनन् । तर यसको अनुगमन र नियमन गर्ने निकायले चासो नलिएपछि त्यस्ता प्रवृतिमा न्यूनीकरण हुन सकेको छैन ।

    यसैबीच महोत्तरीको गौशालामा निर्माण भइरहेको कर्भड हलमा गुणस्तरहिन ईटा प्रयोग गरिएको रहस्य बाहिरिएको छ । विपद्को बेला पिडितले आश्रय लिन सक्ने हलको निर्माणमा घर भत्काएर जम्मा गरिएको पच्चास बर्ष पुरानो कमसल ईटा प्रयोग गरिएको खुलेको हो ।

    महोत्तरी क्षेत्र नम्बर–१(ख) का प्रदेश सभा सदस्य भरत प्रसाद साहको निर्वाचन क्षेत्र विकास कार्यक्रमको ९० लाख लागतमा कर्भड हल बनिरहेको छ । राधेश्याम सापकोटाको अध्यक्षतामा गठित उपभोक्ता समितिले सो निर्माण कार्य भइरहेको छ । तत्कादिन एकिकृत नेकपाबाट टिकट पाएर जितेका प्रदेश सभा सदस्य साहले आफ्नै पार्टी समर्थितलाई निर्माण समितिको अध्यक्ष बनाएर गुणस्तरहिन काम गरिरहेका छन् ।


    भवन निर्माणार्थ जनशक्ति खटाउने ठेक्का स्थानिय रतन बहादुर मगरले लिएका छन् भने, निर्माण समाग्री उपभोक्ता समितिले उपलब्ध गराइरहेको छ ।

    ‘पुरानो घर भत्काएको पुराना ईटा सफा गरेर हालिरहेका छौं,’उनले भने, ‘ कर्भड हलको जग ६ फिट गहिरो खनिएको छ । जगैदेखि पुरानो इट्टा हालेका छौं । नयाँ र पुरानो इट्टामा गुणस्तर त फरक भैनैहाल्छ ।’समितले दिएको निर्माण समाग्रीले काम गरिरहेको उनले बताए ।


    जनप्रतिनिधिले नै गुणस्तरहिन काम गराइरहँदा बर्दिबासमा रहेको अख्तियार कार्यालयका कर्मचारी कानमा तेल हालेर सुतेका छन् । ‘बर्षभरी सुतेर बस्ने अनि असार लागेपछि विकासको नोटंकी गर्नेहरुको असली रुप पनि दुई नम्बर ईटा जस्तै छ,’ एक स्थानीयले टिप्पणी गरे ।


    परिवतर्नको पक्षमा भोट मागेर जितेका थिए, प्रदेश सभा सदस्यमा साह । तर, उनले निर्माण गरिरहेको कर्भड हलको गुणस्तरमाथि प्रश्न चिन्ह उठेको छ । सर्वदलिय निर्णय गरे पुरानो ईटा प्रयोग गरेको प्रदेश सभा सदस्य साहले स्वीकार गरेका छन् । ‘गौशाला बजारमा पुरा संरचना थियो । त्यो भत्काउने बेलामा यसबाट निस्किएको इट्टा कर्भड हलमा प्रयोग गर्ने निर्णय गरेका थियौं,’उनले भने,‘भवनको निर्माण सम्पन्न गर्न पाँच करोंड लाग्छ । बजेट ९० लाख मात्र छ । त्यसैले यसै आर्थिक बर्षमा निर्माण पुरा गर्न बलियो रहेको पुरानो इट्टा प्रयोग गरियो ।’

    बहुउपयोगी जस्तो भवनमा कमसल ईटा प्रयोग गर्न मिल्छ नेता ज्यू ? भन्ने अन्नपूर्णको प्रश्नमा प्रदेश सभा सदस्य साहले थपें,‘तपाईं भन्नु हुन्छ भने म सबै पुरोनो ईटा झिकिदिन्छु ।’ जेठ २१ गते गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो र प्रदेश सभा सदस्य साहले कर्भड हलको शिल्यान्यास गरेका थिए ।
    ०००


    क्याटेगोरी : अन्तरवार्ता, फोटो फिचर, मुख्य समाचार, राष्ट्रिय, समाज
    ट्याग : #असारे विकासको हतारो
    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस