• The Public Today
  • आफैँले बोकेको पेस्तोलले गोली हानी एक प्रहरीद्वारा आत्महत्या


    इनरुवा, असार १६ गते । सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर सोमबार आत्महत्या गरेका छन् ।

    जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    जिल्ला अदालत सुनसरीका ४ नम्बर न्यायाधीश शङ्करबहादुर राईको अङ्गरक्षकका रूपमा कार्यरत खतिवडाले अदालतको छतमा गएर आफूसँग भएको पेस्तोलबाट आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । दाहिने कञ्चटमा गोली हानी गम्भीर घाइते भएका खतिवडालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

    घटनाको कारण भने खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस