• The Public Today
  • निजामती विधेयकविरूद्ध सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन


    नायब सुब्बाहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि विरोध गरेका छन्।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार पारित गरेको निजामती कर्मचारी विधेयक अन्यायपूर्ण रहेको भन्दै मंगलबार कर्मचारीहरूले मन्त्रालयअगाडि उभिएर विरोध गरेका हुन्।

    विरोधमा उत्रिएका नासुहरूले ‘माननीयज्यू, नासुका आँशु देख्नुभएन?’ भन्नेजस्ता प्लेकार्ड बोकेर शान्तपूर्वक प्रदर्शन गरेका हुन्। देशमा ३५ हजारभन्दा बढीको संख्यामा रहेका नासुको वृत्तिविकासमा बाधा पुग्ने गरी विधेयक ल्याइएको उनीहरूको भनाइ छ।

    निजामती सेवामा नासु बचाउ अभियान तथा निजामती सेवाका राजपत्र अनंकित कर्मचारीहरूले विधेयकको विरोध गरेका हुन्।

    विधेयकका केही व्यवस्था अन्यायपूर्ण, योग्यता प्रणालीको बर्खिलाप गर्ने खालका रहेकोले बाध्य भएर कर्मचारीहरूले विरोध गर्नुपरेको एक जना कर्मचारी प्रकाश भट्टराईले सेतोपाटीलाई बताए। राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीहरूको वृत्ति विकासमा गम्भीर असर पर्ने पनि उनले जानकारी दिए।

    आफूहरूले यसअघि विधेयकमा समावेश गर्न विभिन्न सुझाव दिए पनि नराखिएको उनीहरूको भनाइ छ।

    ‘राप तृतीय श्रेणी (शाखा अधिकृत) सरहको पदपूर्तिमा  ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने हाम्रो माग छ। तर कुनै पनि साविकको पदबाट अधिकतम् १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्छ,’ उनले भने।

    निजामती विधेयकमा स्थानीय तह वा प्रदेश गएकाहरू केन्द्रमा आउन नपाउने व्यवस्था छ। यसले कर्मचारीको वृत्ति विकासमा बाधा पुर्‍याउने उनीहरूले बताएका छन्।

    सोमबार पारित निजामती विधेयकमा ट्रेड युनियन खोल्न नपाउनेजस्ता व्यवस्थालाई लिएर पार्टीगत ट्रेड युनियनहरूले पनि विरोध गरेका छन्।

    मन्त्री हृदयेश त्रिपाठी, नेकपाकै केही सांसद, नेपाली कांग्रेस, समाजवादी र राजपाका सांसदका असहमतिबीच विधेयक पारित भएको थियो।

    सेतोपाटी


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस