• The Public Today
  • महोत्तरीमा बाँदर धपाउन आधुनिक प्रविधीको प्रयोग सुरु


    • बिनोद पौडेल


    बर्दिवास, असार १८ गते । खेतमा लगाएको अन्न बालि बाँदरले सखाप पारेर किसानलाई दुख दिन थालेपछि महोत्तरीमा बाँदर धपाउने यन्त्रको प्रयोग सुरु गरिएको छ । बर्दिवास नगरपालिका ३ स्थित पाटुमा आज सो प्रविधीको प्रयोग सुरु गरिएको हो ।

    दुख गरेर खानको लागी लगाएको मकै, तरकारी लगाएतका बारीमा लगाईएका अन्न बाली बाँदरले सखाप पारेर पिडित बनेका किसानहरु बाँदर धपाउने सो यन्त्रको प्रयोग सुरु गरिए पछि हर्षित भएका छन् ।

    बाँदरले खेत बारीमा लगाएको बालि र घरमै भित्र्याएको मकै लगाएतका अन्न बाली खाएर दुख दिएको जन गुनासो बढ्न थालेपछि गौरिवास काठ्माण्डौ सम्पर्क मञ्चले सो प्रविधीको प्रयोग सुरु गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रले आविस्कार गरेको सो यन्त्र गौरिवास काठ्माण्डौ सम्पर्क मञ्चले नगरपालिका मार्फत वडा कार्यालयको सिफारीसमा यस क्षेत्रमै पहिलो पटक प्रयोग सुरु गरेको मञ्चका अध्यक्ष छवि घिमिरेले बताए ।

    राष्ट्रिय आविष्कार केन्द्रले निशुल्क उपलब्ध गराएको सो यन्त्र परिक्षणकै लागी प्रयोग सुरु गरिएको हुँदा हाल एक थान मात्र ल्याईएको र प्रयोग प्रभाविकारी देखिएमा आवश्यकता अनुसार थप यन्त्र ल्याईने पनि अध्यक्ष घिमिरेले बताए ।

    घरायसी काममा प्रयोग गरिने पिभिसी पाईपको प्रयोग गरि निर्माण गरिएको सो यन्त्र नेपालकै दोश्रो र यस क्षेत्रकै पहिलो यन्त्र हो । केरा पकाउनका लागी गाउँ घरमा प्रयोग गरिने कार्बाईड र पानीको घोल बनाई चलाईने सो यन्त्रको आवाजले एक किलोमिटर वरपर सम्मको बाँदरलाई धपाउन मद्धत पुग्ने अध्यक्ष घिमिरेले बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस