• The Public Today
  • सप्तरीमा भेन्टिलेटर संचालनमा नआउँदा अकालमै ज्यान गुमाउँदै संक्रमित


    • एम के माझी

    राजविराज, भदौ ६ गते । मुलुकभरी कोरोना संक्रमण बढ्दा भेन्टिलेटर अभाव भएको गुनासो एकातिर छ भने अर्कोतिर जनशक्ति अभावका कारण यहाँस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार/चार वटा भेन्टिलेटर प्रयोगबिहीन रहेका छन् । जसकारण सप्तरीमा कोरोना तथा अन्य जटिल रोगबाट पीडित बिरामीको उपचारमा समस्या भएको छ ।

    तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको पहलमा उपलब्ध गराइएको चार थान भेन्टिलेटर तथा आइसियु उपकरण व्यवस्थापन र संचालन गर्ने पूर्वाधार तथा जनशक्ति नभएका कारण त्यसै थन्काएर राखिएका छन् ।

    मुलुककै सबैभन्दा बढी १ सय ७८ बेडको आइसोलेशन कक्ष यहाँस्थित साइकृष्णा मेडिकल कलजेमा संचालनमा ल्याइएको छ । तर, त्यहा पनि भेन्टिलेटर र आइसियु सेवा उपलब्ध नहुँदा कोरोना संक्रमित तथा अन्य जटिल प्रकृतिका रोगिको उपचार हुन नसकि अकालमै ज्यान जाने गरेको पाइएको छ ।

    जिल्लामा कोरोना संक्रमणबाट हालसम्म ५ जनाको ज्यान गइसकेको छ । ती सबैको भेन्टिलेटर र आइसियु नभएका कारण अन्यत्र लैजानु र उपचारमा भएको ढिलाईले गर्दा ज्यान गएको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीको भनाई छ । ‘देशकै पुराना अस्पताल मध्येका एक राजविराजस्थित एक मात्र सरकारी गजेन्द्र नारायण सिंह अस्पतालमाथी ठूलो जनसंख्याको उपचार गर्ने जिम्मेवारी रहेपनि आवश्यक जनशक्ति र उपकरण नरहँदा अकालमै ज्यान गुमाउनु पर्ने अवस्था दुर्भाग्य हो’, उनले भने ।

    गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जटिल समस्यामा पुगेका बिरामीहरुलाई भेन्टिलेटर र आइसियु अतिआवश्यक रहेपनि त्यसको व्यवस्थापन नहुँदा अन्यत्र रेफर गर्नुपरेको बाध्यता सुनाए । उनले भने, ‘आवश्यक पुर्वाधार र जनशक्तिको व्यवस्था हुने हो भने यही उपचार सम्भव छ, बाहिर लैजानु पर्दैन ।’ उनले पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानिय, प्रदेश र संघीय तीनै तहका सरकारलाई आग्रह गरिरहेको जानकारी पनि दिए ।

    कोरोना संक्रमणसँगै यहाँका अस्पतालहरुमा बिरामीको चाप तथा अकालमै ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएपनि आइसियु र भेन्टिलेटर संचालनमा भइरहेको ढिलाईप्रति स्थानिय आक्रोसित भएका छन् । संक्रमित तथा जटिल रोगका बिरामीको ज्यान जोगाउन अविलम्ब आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरि भेन्टिलेटर र आइसियु सेवा संचालन गर्न स्थानियले माग गरेका छन् । राजधानी


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस