प्रहरीमा कोरोना संक्रमण दर उच्च, हरेक दिन ८ जनाभन्दा बढीलाई संक्रमण

प्रतिकात्मक तस्विर

भदौ ७ गते : प्रदेश २ का आठवटै जिल्लामा निषेधाज्ञा कार्यान्वयन गराउन खटिएका नेपाल प्रहरीमा पछिल्लो १८ दिनमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको छ ।

देशव्यापी रूपमा कोरोना संक्रमण तीव्र बन्दै जाँदा प्रदेश २ का प्रहरीमा संक्रमणको दर सातवटै प्रदेशमध्ये सबैभन्दा उच्च देखिएको छ ।

साउन १९ मा प्रदेश २ मा १२ जना मात्रै संक्रमित प्रहरी उपचाररत थिए। तर १९ दिनपछि अर्थात् शनिवार उपचाररत संक्रमित प्रहरीको संख्या ह्वात्तै बढेर प्रदेश २ मा १६० जना पुगेको छ ।

संकलित तथ्यांक विश्लेषण गर्दा प्रदेश २ मा पछिल्लो १८ दिनमा प्रत्येक दिन औसत ८ जनाभन्दा धेरै प्रहरी संक्रमित भइरहेका छन् ।

प्रदेश २ का डीआईजी धीरजप्रताप सिंहले प्रहरीमा संक्रमण दर तीव्र देखिएकाले दैनिक ड्युटी समय पनि १२ देखि १४ घण्टाबाट बढाएर १६ देखि १८ घण्टा पुर्‍याइएको बताए । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला दिनमा संक्रमित प्रहरीको संख्या मात्रै बढेको छैन, लक्षणसहितका संक्रमित प्रहरीको संख्या पनि देखिन थालेको छ । शनिबारसम्म प्रदेश २ मा संक्रमित दुई प्रहरीको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रहरीमा संक्रमणको दर अन्यमा भन्दा प्रदेश २ मा बढी किन देखियो त रु डीआईजी सिंहले खुला सिमाना भएका कारण भारतबाट लुकीछिपी आउने लागूऔषध तस्करहरू र यसका सेवनकर्तालाई पक्राउ गर्दा उनीहरूबाट धेरै प्रहरी संक्रमित हुनुपरेको बताए ।

प्रदेश २ को थुनुवा कक्षामा रहेका थुनुवा कोरोना संक्रमित भएका छन् । संक्रमित थुनुवाहरूसँग बयान लिँदा, अदालतमा पुर्‍याउँदा र तिनको व्यवस्थापनमा खटिँदा पनि प्रहरी संक्रमित भइरहेका छन् ।

डीआईजी सिंहले संक्रमित थुनुवामध्ये अधिकांश लागूऔषध सेवनकर्ता वा कारोबारीहरू भएको बताए । प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार लकडाउन खुला गरिएपछि र नागरिकता विधेयक जारी भएपछि प्रदेश २ का विभिन्न ठाउँमा राजनीतिक दलहरूकै अगुवाइमा विरोध जुलुस, धर्ना र प्रदर्शनहरू भएका थिए ।

यस्तो विरोध र धर्नामा प्रहरी खटिनुपर्ने भएकाले त्यहाँबाट पनि प्रहरीमा संक्रमण सरेको हुन सक्ने आकलन गरिएको छ । डीआईजी सिंहले संक्रमणको दर बढेसँगै जगेडा प्रहरी राख्न थालिएको बताए । उनले भने, ‘थोरै संख्याले धेरै समय र धेरै क्षेत्रफल हेर्नुपर्ने गरी ड्युटीमा खटिँदा कामको प्रेसर बढ्दै गएको छ ।