• The Public Today
  • प्रदेश २ मा मुख्यमन्त्री परिवर्तनको चर्चा


    भदौ ७ गते : प्रदेश २ को सरकारमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको औपचारिक जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको छ । प्रदेश २ का प्रदेशसभा सभामुख सरोज यादवलाई प्रदेश २ का सत्तारुढ दुई दलबीच एकीकरण भएको औपचारिक जानकारी दिइएको हो ।

    योसँगै प्रदेश २ प्रदेशसभामा अब साविकका दुवै सत्तारुढ दलको संसदीय दल एकीकरण हुने प्रकृया शुरु भएको छ । दुवै दलको संसदीय दललाई एकीकृत गरी जनता समाजवादी पार्टी नेपालको ससदीय दल गठन हुनेछ । यो सँगै प्रदेश २ मा अब मुख्यमन्त्री को बन्ला भन्ने चर्चा पनि शुरु भएको छ ।

    प्रदेश २ मा हाल समाजवादी पार्टी र राजपा नेपालको अलग अलग संसदीय दल छन् । दुवै दल एक भएपछि संसदीय दलमा जसपा नेपाल अस्तित्वमा आउने छ । जसपा नेपालका संसदीय दलका नेता हुने व्यक्ति नै अब प्रदेश २ को मुख्यमन्त्री हुनेछ । त्यसैले संसदीय दलको नेता बन्नका लागि नेताहरुको दौडधुप शुरु भएको छ ।

    प्रदेशसभाका सभामुख सरोज यादवले जसपा नेपालले दल एकीकरण भएको जानकारी पत्र पठाएको र त्यो प्राप्त भएको जानकारी दिए । प्रदेशसभा सञ्चालन हुने बित्तिकै एकीकरणको प्रकृया शुरु गर्ने उनले बताए । जनकपुरमा हाल निषेधाज्ञा जारी छ । त्यो हट्ने बित्तिकै बैठक बसेर दुवै पार्टीको संसदीय दलको एकीकरण प्रकृया शुरु हुने उनले बताए । रातोपाटी


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस